सल्यान-सुर्खेत जोड्ने वैकल्पिक सडक निर्माण पूरा

सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने वैकल्पिक सडक निर्माण पूरा भएको छ।

यससँगै अब सिद्धकुमाख गाउँपालिकाको ढोरचौर उचाल्ने हुँदै सल्लीबजारबाट सुर्खेत सिधा सडक सञ्जालमा जोडिएको छ ।
    
कर्णाली प्रदेश सरकारको समपूरक बजेटबाट राजधानी जोड्ने वैकल्पिक सडक निर्माण गरिएको हो। कर्णाली प्रदेश सरकारको ७५ लाख र सिद्धकुमाख गाउँपालिकाको एक करोड २५ लाख लागतमा सडक निर्माण गरिएको हो।

सिद्धकुमाख गाउँपालिकाको ढोरचौर, उचाल्ने खार्वन हुँदै सागिनेसम्मको सडक निर्माण गरेपछि वैकल्पिक सडक निर्माण पूरा भएको सिद्धकुमाख गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चलाउनेले जानकारी दिए।
 
जिल्लामा सदरमुकाम खलङ्गाबाट बालुवासङ्ग्रही सडकको प्रयोग गरेर मात्रै सुर्खेत जान सकिने अवस्था भए पनि अब खलङ्गामा नगएरै सिधैँ ढोरचौर सल्लीबजार हुँदै सुर्खेत पुग्न सकिने अध्यक्ष चलाउनेले बताए।

“सुर्खेत जान समस्या भएन, सडकको नयाँ ट्र्याक खोलिएको छ, अहिले साना सवारी साधन चलिरहेका छन्”,  उनले भने।

सडक निर्माण शुरू गरेको तीन वर्षपछि सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-12 07:36:52

प्रतिकृया दिनुहोस्