'म ओलीको बिरोधी हैन, आलोचक हुँ'

केही मानिसलाई लाग्दो हो, म केपी ओली विरोधी हुँ। तर, मेरो विनम्र स्पष्टिकरण छ, म उनको बिरोधी हैन, आलोचक चाँहि हुँ। विरोधी र आलोचकमा फरक छ- मैले यसको खास फरक बुझ्न थालेको चाँहि कसैको समर्थक नहुन थालेपछि हो। कोही कसैको समर्थक छ भने मात्र ऊ कसैको विरोधी हुन सक्छ। अनि, कोही कसैको समर्थक वा विरोधी छ भने साँचो मानेमा ऊ आलोचक नै हुन सक्दैन। 

म केपी ओलीले कुनै समर्थन गर्न लायक अवसर दिन्छन् कि भनेर पर्खिरहन्छु। तर, मैले आजसम्म त्यस्तो अवसर पाएको छैन। मानिसहरू केपी ओलीले भारतीय नाकाबन्दीका विरूद्ध अडान लिएको र कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेको भनेर उनलाई राष्ट्रियताका मसिहाका रूपमा प्रस्तुत गर्छन्। तर, यी दुबै परिघटनाका लागि म उनलाई शंकाको सुविधा मात्र दिन्छु। पहिलो परिघटनाले अहिले उनलाई सत्ता दिएको छ, त्यसबाट देशले के पायो?, त्यसको हिसावकिताव हुन बाँकि नै छ। दोस्रो परिघटनाको परिणाम आउँनै बाँकि छ, यसमा कूटनीति बढी भयो कि कम- त्यो समयले बताउला।

पहिलो कुरा त मलाई केपी ओली भारत विरोधी हुन् भन्ने कुरा मान्न नै गाह्रो हुन्छ। यसका लागि उनको एक भूमिका र अर्को कर्म जिम्मेवार छन्। पहिलो, महाकाली सन्धी पारित गराउन उनको भूमिका; दोस्रो भारतीय लगानीमा मदन भण्डारी फाउण्डेसनमार्फत एमालेमा भएको उनको सत्तारोहण। यी यस्ता दुई तथ्य हुन् जसले उनी भारतविरोधी हुन सक्छन् भन्ने बढीमा शंकाको सुविधा मात्र दिन सकिन्छ। त्यसरी दिनेको सूचीमा म आफूलाई पनि राख्छु। 

 

यो देशमा घाँस उम्रिदाँ यार्चागुम्बा भएर उम्रिन्छ नेपालीहरुले सधै घाँस खाइरहेका छन त्यसैले नेपालीहरुको इमिनिटि पावर राम्रो छ । अझै दुई वर्ष घरमै बसेर घाँस खाँउ कोरनालाइ सजिलै जित्न सकिन्छ । 
- के पी ओली, प्रधानमन्त्री 

नेपालमा राष्ट्रवादी हुन भारतविरोधी हुनुपर्ने र प्रजातन्त्रवादी हुन चीन विरोधी हुनुपर्ने खालको सोचाइ स्थापित छ। म आफू पनि त्यही पाठ पढेर हुर्केको पुस्तामा पर्छु। तर, समयक्रममा म भारतको अन्धविरोधमा नेपाली राष्ट्रियता देख्ने कुरालाई विश्वास गर्न छोडेको छु। मलाई लाग्छ, कसैको विरोध गरेर राष्ट्रवादी हुने हैन, राष्ट्रवादी हुन आफ्नो देशलाई माया गर्नुपर्छ।

के पी ओलीले आफ्नो स्वार्थ प्रतिकुल हुने गरी पार्टीका लागि, समाजका लागि, देशका लागि काम गर्छन् भन्ने कुरामा मलाई विश्वास छैन। उनी सबै कुरा आफूलाई केन्द्रमा राखेर सोच्छन्। दुईपटक मिर्गौला फेरेर पनि उनी सत्तामा आफ्ना लागि बसेका हुन्, अरूका लागि हैनन्। एमाले र माओवादीको एकीकरण पनि उनले आफूलाई सत्तामा पुर्याउन गरेका हुन्, अरू प्रयोजनका लागि हैन। उनले गुठी विधेयक, दल फुटाउने अध्यादेशलगायतका अनेकौ निर्णय फिर्ता लिएका छन्, ती सबै आफ्नो कुर्सी जोगाउनका लागि गरेका हुन्। योगेश भट्टराई र घनश्याम भुसाललाई मन्त्री पनि उनीहरूका लागि हैन, आफ्ना लागि मन्त्री बनाएका हुन्। अझै पनि केहीलाई भ्रम हुन सक्छ, उनले आफूलाई फाइदा नहुने गरेर केही गर्छन्। अहिलेलाई यति भनौं, समयक्रममा उनीहरूको त्यो भ्रमको पर्दाफास हुदैजान्छ। 

केही मानिसले यस्तो पनि आशंका गर्न थालेका छन्, कतै ओलीमा अरू पनि स्वास्थ्य समस्या छन् कि जसले उनलाई आफूबाहेक अरूका लागि पनि सोच्नुपर्छ भने विवेकमाथि बिर्को लगाइदिइरहेका छन्। यस्तो आशंका एकपटक डा. गोविन्द केसीले पनि व्यक्त गरेका थिए। तर, म अहिले नै त्यस्तो निर्णयमा पुगिहालेको छैन, उनलाई अझै केही समय शंकाको सुविधा दिनुपर्छ नै भन्ने पक्षमा छु। 

केपी ओलीले पछिल्लो समय प्रधानमन्त्रीका रूपमा सदनमा जे भने, त्यसले मलाई थप निराश बनाएको छ। पहिलो त उनको 'बडी ल्यांग्वेज' नै असहिष्णु छ, त्यसमाथि उनले दिने ओठे जवाफ, जवाफका लागि छानिने शव्द र वाक्यको बान्की नै मुलुकको कार्यकारी प्रमुखलाई सुहाउने खालका हुदैनन्। उनको शासन शैली भनेकै ‘जंगेले बोलेपछि बोल्यो बोल्यो’ भन्ने शैलीकै छ। उनमा आफ्ना कमी कमजारी स्वीकार गर्ने विनम्रता किञ्चित पनि छैन। 

उनी या त ढाँट्छन्, या त बङ्ग्याउँछन् या त ढाकछोप गर्छन् या त ठाडै लल्कार्छन्। उदाहरणका लागि, राष्ट्रपति कार्यालयको गलैचा र साजसज्जा प्रकरणलाई लिऔं। उनले यस प्रकरणमा भएको आलोचनालाई सिधै लोकतन्त्र/गणतन्त्रमाथिको आक्रमण भनेर कुरालाई बङ्ग्याइ दिए। राष्ट्रपति 'सेरेमोनियल' भएको भनेर उनका लागि गरिएका क्रियाकलापमा उनी जिम्मेवार नहुने भने र त्यसमा राष्ट्रपतिले बोल्न नमिल्ने पनि थपे। मुलुक कोरोना महामारीसँग जुधिरहेको बेला यसको औचित्य यसरी पुष्टी हुन्छ ? नेपाली जनताले 'पम्फादेवी'को अर्को अवतार खोजेका थिए र ?

नेपाली जनताको चाहना एक शालिन, कम ऐेय्यासी, भद्र राष्ट्रप्रमुखको हो। त्यसमाथि पनि जननेता भनिएका मदन भण्डारीकी श्रीमती र नेकपाजस्तो कम्युनिष्ट पार्टीकी उपाध्यक्ष रहिसकेकी व्यक्तित्वबाट जनातले त्यो चाहना राख्नु अन्यथा हैन। जनताले यो चाहना यो वा त्यो माध्यमबाट पटक पटक प्रकट पनि गर्दैआएका छन्। मूलधारका मिडिया हुन् या सामाजिक सञ्जालमार्फत् पनि यस्तो चाहना प्रकट भएको छ। जब जनताको चाहना नै त्यही हो भने जनताप्रति प्रतिवद्ध अझ 'जनताकी छोरी' भनिएकी राष्ट्रप्रमुखले किन नबुझ्ने?

राष्ट्रपति भण्डारी पटक पटक यस्तै विलासी जीवनशैली र परिघटनामा मुछिएकी छिन्। उनको चाहना नै विलासितातिर छ भन्ने थाहा पाएर हुनसक्छ, उनलाई खुशी पार्न आसेपासे र नोकरशाहीतन्त्रबाट त्यही किसिमका अभ्यास भैरहेका छन्। उनको यो चरित्र कसरी कम्युनिष्ट चरित्र हुन्छ भनेर खिसिट्युरीको विषय त बनेको छ नै, राष्ट्रप्रमुखको छवि पनि धुमिल हुँदैगएको छ। उनको यो कर्मले नेपालमा कम्युनिष्टलाव् बदनाम बनाउन र रसातलतिर लैजान नकारात्मक उत्प्रेरकको काम गरिरहेको छ।

तर, ओली यस चरित्रलाई मान्यता दिदै उल्टो तथ्य बङ्ग्याएर यसलाई लोकतन्त्रमाथि प्रहार भएको भनिरहेका छन्। यो तर्कलाई सही र युक्तिसंगत तर्क मान्न सकिन्न। 

ओली भ्रष्टाचारीलाई पटक पटक नसहने बताउँछन् तर भ्रष्टाचारका घटनालाई अनुसन्धानको दायरामा ल्याएर भ्रष्टलाई कारबाही गर्नेभन्दा पनि पहिले आफैं न्यायाधीश भएर चोख्याउने गर्छन्। स्वास्थ्य सामग्री खरिद गर्नेदेखि अन्य कतिपय घटनामा प्रश्न उठ्दा उनले त्यसै गरेका छन्।  

अर्को डरलाग्दो कुरा, उनी यो वा त्यो नाममा नेपालमा सैनिकीकरण बढाइरहेका छन्। सैनिकलाई प्याम्पार्ड बनाउन उनी अनेक कुतर्क गरिरहेका छन्। नेपालमा सैनिकले व्यापार मात्र गरिरहेको छैन, जेलसम्म बनाएर समानान्तर शासनसमेत चलाउन थालेको छ। यो क्रम बढ्दै जाने हो भने नेपाली सैनिक कुनै दिन  म्यान्मार वा थाइल्याण्डको सैनिक जस्तो नबन्ला भन्न सकिन्न। तर, ओली जानेर वा नजानेर नागरिक शासनलाई हानी पुर्याउने त्यस्तो गतिविधिमा संलग्न भैरहेका छन्।  

यी त ओलीका केही प्रतिनिधि गलत कार्यका पछिल्ला दृष्टान्त हुन्। यस्ता कार्यलाई गलत भन्नु उनको विरोध गर्नु हैन, एक आलोचनात्मक चेत भएको नागरिकले आफ्नो कर्तव्य निर्वाह गर्नु हो। उनको आफूलाई मात्र केन्द्रमा राखेर अरू सबैलाई उपयोग गर्ने छिनछिनमै बदलिने रणनीतिका कारण नेपालमा बहुमतको स्थीर सरकार पनि ठीक हैन रहेछ भन्ने खालको संकथन निर्माण भैरहेको छ। यस्तो जनमतले तानाशाह जन्माउँदोरहेछ भन्ने गलत नजीर बस्यो भने जनता अर्को खाले त्रिशंकु संसदको विकल्पतिर लाग्नेछन् जसका खराब परिणाम मुलुकले ब्यहोरिसकेको छ। 

केही मानिसले यस्तो पनि आशंका गर्न थालेका छन्, कतै ओलीमा अरू पनि स्वास्थ्य समस्या छन् कि जसले उनलाई आफूबाहेक अरूका लागि पनि सोच्नुपर्छ भने विवेकमाथि बिर्को लगाइदिइरहेका छन्। यस्तो आशंका एकपटक डा. गोविन्द केसीले पनि व्यक्त गरेका थिए। तर, म अहिले नै त्यस्तो निर्णयमा पुगिहालेको छैन, उनलाई अझै केही समय शंकाको सुविधा दिनुपर्छ नै भन्ने पक्षमा छु। 

म अहिले केही समयका लागि भौगोलिक रूपमा नेपालभन्दा टाढा छु। केही मानिसलाई लाग्न सक्छ, देश छोडेकालाई किन नेपालको चिन्ता ? त्यस्तो सोच राख्नेलाई मेरो विनम्र स्पष्टिकरण छ, केही समयका लागि देशबाहिर गएको मात्र हो, सधैंका लागि देश नै त्यागेको हैन। जहाँ बसे पनि आफ्नो देशका बारेमा सचेत भएर लेख्नु/बोल्नु नागरिक दायित्व हो। लेखेर म त्यही नागरिक दायित्व निर्वाह गरिरहेको छु। आगे यहाँहरूकै मर्जी ।

(यो लेखकको निजी विचार हो, यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित हुन्छ भन्ने छैन : सम्पादक ।)

 

प्रकाशित मिति: : 2020-06-12 03:52:18

प्रतिकृया दिनुहोस्