भोलि शुक्रबारदेखि जोर विजोर प्रणाली लागू हुने, भाडाका सवारी चल्न नपाउने

नेपाल सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार भोलि शुक्रबारदेखि जोरविजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

भोलि शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र र अन्यत्र जिल्ला भित्र मात्र निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइने भएको छ। उपत्यकाको ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरलाई एक जिल्ला मानी यो व्यवस्था लागू गरिने छ। बाँकी जिल्लाका हकमा एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाईने छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार भोलिदेखि सञ्चालन हुने जोर विजोर प्रणालीमा निजी सवारी साधन मात्र चल्न पाईनेछ। उनले चार पाङ्गे सवारी साधनमा चालकसहित ३ जना मानिस र २ पाङ्गे सवारी साधन (मोटरसाईकल, स्कुटर, मोपेड) मा चालकमात्र राखि सञ्चालन गर्न पाईने बताए।

जोर विजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र विजोर गतेका दिन विजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९:०० बजेदेखि विहान ५:०० बजेसम्म चलाउन भने रोक लागाईएको छ ।

तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाउने छैन।

यसअघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर विजोर प्रणाली अनुसार मात्र चल्न पाउने महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख ढकालले चैत ११ गतेदेखि गरिएको लकडाउन पूर्ण रूपमा पालना भएको भन्दै भोलिदेखि लागू हुने नयाँ व्यवस्थालाई पनि अनुशासित भई पूर्ण रूपमा पालनाको लागि अनुरोध गरेका छन्।र्नुभएको छ ।

अत्यावश्यक काम बाहेक जोर बिजोर प्रणालीलाई उल्लङ्घन गरेर सवारी साधन चलाउने उपर भने विभिन्न चेकप्वाईन्टमा खटेका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गर्ने महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए। उनले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए।

भोलिदेखि के के खुल्छ?

प्रकाशित मिति: : 2020-06-11 22:48:27

प्रतिकृया दिनुहोस्