लिम्पियाधुराको प्रमाण संकलन गर्न उप्रेतीको नेतृत्वमा विज्ञ समूह गठन

भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषयमा प्रमाण संकलन गर्ने जिम्मेवारी सरकारले डा. विष्णुराज उप्रेतीलाई दिएको छ। परराष्ट्र मन्त्रालयको प्रस्तावमा  उप्रेतीको संयोजकत्वमा ९ सदस्यीय विज्ञ समूह गठन गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए। 

जेठ २२ गतेको बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीको संयोजकत्वमा विज्ञ समूह गठन गरिएको मन्त्री खतिवडाले जानकारी दिए। विज्ञ समूहमा सूर्यप्रसाद सुवेदी, रमेश ढुंगेल, विपिन अधिकारी, जगत भूसाल, तोयानाथ बराल, हिमालय थापा, अप्सरा चापागाईँ र रामप्रसाद सुवेदी सदस्य छन्।

उनकाअनुसार समितिले मुख्यतः भारतीय अतिक्रमणमा परेका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई केन्द्रित भएर काम गर्ने छ। त्यस्तै भारतसँग अन्य क्षेत्रमा पनि सीमा विवाद रहेकाले ती क्षेत्रको पनि अध्ययन गर्ने छ।

काे हुन् डा. उप्रेती ?

माओवादी ‘जनयुद्ध’ का बेला द्वन्द्वविद्को परिचय बनाएका डा. उप्रेतीले दोलखा जिल्लालाई आधार बनाएर सिँचाइ, गुठी जग्गा, पानी र वनसँग सम्बन्धित द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गरेका छन्।

उप्रेतीले सन् २००१ मा ‘कन्फ्लिक्ट  म्यानेजमेन्ट इन नेचुरल रिसोर्सेसः अ स्टडी अफ ल्याण्ड, वाटर एण्ड फरेस्ट कन्फिल्क्ट इन नेपाल’ शीर्षकमा शोध गरेका थिए।

सरकारले उनलाई गत फागुनमा नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष नियुक्ति भएका थिए।

प्रकाशित मिति: : 2020-06-11 20:04:15

प्रतिकृया दिनुहोस्