संविधान संशोधन विधेयक खारेजीको माग गर्दै सरिता गिरीको संशोधन दर्ता

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा र निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भन्दै संशोधन दर्ता गराएकी छन्। यद्यपी उनको संशोधन पार्टीको आधिकारिक हो वा व्यक्तिगत हो भन्ने खुलेको छैन।

गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ। दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ।

उनका अनुसार भारतलाई नसोधी नक्सा प्रकाशन गर्न पाइदैन। उनले कालापानीमा ६० बर्षदेखि भारतीय सेना बसिरहेको बताउदै नेपाल, भारत र चीनबीचको सीमा निश्चित हुनुपर्ने बताइरहेकी छिन्। 

यता विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफलमा जसपाकै नेताहरू लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए।
 

प्रकाशित मिति: : 2020-06-10 16:23:35

प्रतिकृया दिनुहोस्