कोरोना हामी सबैको साझा शत्रु हाे, हरेक नेपाली यसविरुद्धका सिपाही हुन्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना हामी सबैको साझा शत्रु भएको बताउँदै हरेक नेपाली कोरोना विरुद्धको सिपाही भएको बताएका छन्। 

बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। 

उनले भने, ‘यसको बारेमा कसैले आलोचना गरेर सुझाव दिँदा त्यसलाई नकारात्मक रुपमा लिनुहुँदैन। सारा संसारमा कोरोनाले असर परिरहेको बेला नेपालमा पनि पर्नु स्वभाविक हो। सरकारले गरेको प्रयास शतप्रतिशत ठीक रहेको भन्न सकिदैन। छापावाल सुन जस्तो पूर्ण नभएपनि प्रयास गरेको हो।’

उनले महामारीको विषय दलीय विषय नभएको बरु मानवीय, सामाजिक विषय भएको बताए। कतिपय प्राविधिक विषय भएकोले त्यो राजनीतिक विषय नभएको बताए। 

‘आरडिटी प्रयोग गर्ने कि नगर्ने, पिसिआर कति कसरी प्रयोग गर्ने भन्ने विषय प्राविधिक विषय हो,’उनले भने,‘यो राजनीतिक विषय होइन।’

उनले बजेट कोरोनामै केन्द्रीत रहेको समेत बताए।   ‘बजेटले कोरोनालाई छोएन भन्ने कुरा पनि आयो तर बजेट कोरोनामै केन्द्रीत छ। रोकथाम नियन्त्रण र उपचारमा मात्र सम्बिन्धित नभई हाम्रो जनजीवन, आर्थिक अवस्था, विकास निर्माणसँग सम्बन्धित रहेको छ।’
 
उनले सुरुमा पीसीआर टेष्ट गर्न हङकङ पठाउनुपरेपनि अहिले २१ वटा मेसिन हुँदाहुँदै समेत ब्यवस्थापनमा केही कमजोरी रहेको बताए। मेसिन भएपनि नचलाइएको अवस्था रहेको र त्यसलाई चुस्त दुरुस्त गर्न लागेको उनले बताए। 

लकडाउन गरेर केही नहुनु नै ठूलो कुरा भएको बताउँदै लकडाउन, सामाजिक दुरी कायम गर्ने कुरा, मास्क लगाएर हिड्ने, हात धुने कुरा, राम्रो खानुपर्छ भनेर अगाडि बढाएको कुरा सामान्य कुरा नभएको उल्लेख गरे। 

प्रकाशित मिति: : 2020-06-10 12:45:33

प्रतिकृया दिनुहोस्