प्रधानमन्त्री ओलीको स्वीकारोक्ति : कोरोना नियन्त्रणमा हामी शतप्रतिशत सफल छैनौं

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कोरोना नियन्त्रण तथा रोकथाममा सरकार शतप्रतिशत सफल हुन नसकेको स्वीकारेका छन्।

बुधवार विनियोजन विधेयकको छलफलका क्रममा उठेका जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदमा बोल्दै सरकारका प्रयासहरू शतप्रतिशत ठीक नरहेको र कमीकमजोरी हुन सक्ने स्वीकारेका हुन्। 

'म शतप्रतिशत भन्न चाहन्न, छापावाल सुनले पनि ९९ दशमलव ९९ प्रतिशतको मात्र ग्यारेन्टी गर्छ,' ओलीले भने, 'हाम्रा प्रयासहरू पनि शतप्रतिशत ठीक छन्, पर्याप्त छन् भनेर म भन्दिन, कमीहरू हुन सक्छन्।'

उनले कोरोना सबैले भोग्नुपरेको साझा समस्या रहेको बताए। 'कोरोना सबैले भोग्नुपरेको साझा समस्या हो। यसमा कसैले आग्रहका साथ सुझाव देला र टिप्पणी गर्ला भन्ने म देख्दिन। यसबाट पर्ने असर हामी सबैलाई परेको छ,' उनले भने, 'त्यसर्थ अहिले यसको सामना गर्दा हरेक नेपाली यस विरुद्धको लडाईमा एउटा सिपाही हो भनेर भनेको थिएँ र दोहोर्‍याउन चाहन्छु। कसैको टिप्पणी र सुझावलाई नकारात्मक रूपमा लिनुपर्ने छैन।' 

ओलीले विकसित राष्ट्रहरू पनि अत्यन्त प्रतिकूल ढंगले आक्रान्त रहेको र नपालमा प्रतिकूलता पर्नु अन्यथा नरहेको बताए। 'त्यसको निराकरणका लागि हामीले शुरूदेखि नै प्रभावकारी ढंगले प्रयास थाल्यौं,' उनले भने, 'हाम्रा प्रयासहरू प्रभावकारी भएकै कारणले अन्त मृत्यु हुनेको संख्या भयावह पुग्दा हाम्रोमा मृत्यु हुनेको संख्या १ पनि थिएन। हाम्रो तयारी कस्तो थियो ? तयारी कस्तो थियो ? पहिलो टेस्ट गर्न हामीले हंकंग पठाएका थियौं। अहिले हामीसँग २१ वटा टेस्ट मेसिनहरू छन्। केही ठाउँमा व्यवस्थापनको कमजोरी देखिन्छ। एउटी प्रदेशमा मेसिन एक ठाउँमा गएको छ, सामान अर्कोठाउँमा छ। यसलाई चुस्त दुरुस्त गर्दै छौं।' 

ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले लिएको लक-डाउनको नीति प्रभावकारी रहेको भन्दै प्रतिरक्षा गरेका छन्।

प्रकाशित मिति: : 2020-06-10 12:13:51

प्रतिकृया दिनुहोस्