खान नपाएपछि अफगानिस्तानको मस्जिदमा पालिएका एक हजार बढी परेवा मरे

लकडाउनका कारण खान नपाएपछि अफगानिस्तानको प्रसिद्ध मजार ए शरीफ मस्जिदमा पालिएका एक हजारभन्दा बढी परेवाको मृत्यु भएको छ।

यो मस्जिद घुम्न आउनेहरुले पनि परेवाहरुलाई खानेकुरा ल्याएर दिन्थे। तर लकडाउनका कारण घुम्न आउनेहरु पनि कोही भएनन्। मस्जिदको हेरविचार गर्दै आएका कायुम अन्सारीले समाचार एजेन्सी एएफपीसँग भने,‘परेवाहरुलाई दाना दिन कोही आएनन् त्यही भएर उनीहरु मर्दै गए।’ 
उनका अनुसार हालसम्म एक हजारभन्दा बढी सेता परेवाहरु मरिसके।

उनले भने, ‘हरेक दिन ३० भन्दा बढी डोभ (सेता परेवा) मर्दै गए। हामीले यही मस्जिदको बाहिर खाल्डो खनेर गाड्यौं।’ 

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द भएको अफगानिस्तानका धेरै धार्मिकस्थलहरुमध्ये यो मस्जिद पनि एक हो।

१२ औं शताव्दीको यो मस्जिद नीलो मस्जिदको रुपलेसमेत चिनिन्छ किनभने यसमा प्रयोग गरिएका पत्थर नीलो रंगका छन्।

अफगानिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ४ सय ५९ भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ। यस्तै  मृतकको संख्या ३८४ छ।

प्रकाशित मिति: : 2020-06-10 07:53:04

प्रतिकृया दिनुहोस्