वीरगन्ज महानगरलाई पीसीआर मेसिन खरिदका लागि उद्योग वाणिज्य संघ वीरगन्जद्वारा ७० लाख सहयोग

वीरगन्ज महानगरपालिकाले स्थापना गरेको कोराना नियन्त्रण गर्न खरिद गर्न लागिएको पीसीआर मेसिनका लागि वीरगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा मंगलबार एकै पटक ७० लाख, ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघ र वीरगन्ज महानगरपालिकाको बीचमा पीसीआर मेसिन सञ्चालन सम्बन्धी सम्झौता पत्र आदान प्रदान समेत भएको थियो।

सो अवसरका उद्योगी ब्यवसायीको तर्फबाट संघका अध्यक्ष गोपाल केडीयाले वीरगन्ज महनगरपालिकाका प्रमुख विजय कुमार सरावगीले हस्ताक्षर गरेका थिए।

समारोहमा नगर प्रमुख विजय कुमार सरावगीले पर्सालाई कोरोना मुक्त बनाउन नयाँ खरिद गरिने पीसीआर मेसिन सञ्चालन पछि नगरवासीको स्वास्थ्यमा ठोस सहयोग पुग्ने बताए।

‘सरकारीस्तरबाट सहयोग नभए पनि वीरगन्ज महानगरपालिका आफैंले पीसीआर मेसिन सञ्चालन गरि नगर तथा जिल्लालाई कोरोना मुक्त गराएर छाड्ने आफूले प्रतिवद्धता लिएको छु,‘मेयर सरावगीले भने।

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले संकटका बेला उद्योगी व्यवसायीले सहयोग गर्दै आएको र समाजलाई कोरोना मुक्त बनाउने जिम्मेवारी उद्योगी व्यवसायीको समेत रहेको कुरामा जोड दिए ।

पीसीआर मेसिन खरिदका लागि वीरगन्जका वरिष्ठ युवा व्यवसायी वीरेन्द्र संघाइले २० लाख, बरिष्ठ उद्योगपति बाबुलाल चाचानले १० लाख, अनिल रूँगटाले ५ लाख, राजेश अग्रवालले ६ लाख, आत्मराम काबराले ५ लाख, मुरलीधर रूँगटाले ५ लाख, हिरालाल केडियाले ५ लाख, अशोक वैद्यले २ लाख, सत्यनारायण क्यालले २ लाख, चिरञ्जिबि लाल सरावगीले १ लाख सहयोग उपलब्ध गराएका थिए।

प्रकाशित मिति: : 2020-06-09 22:16:00

प्रतिकृया दिनुहोस्