अस्पतालको बेडबाट एउटा स्वास्थ्यकर्मीको प्रधानमन्त्रीलाई पत्र
‘कमजोर व्यवस्थापनका खातिर स्वास्थ्यकर्मीले कसरी युद्व जित्न सक्लान्? स्वास्थ्यकर्मी समाजसेवामा कुन मुख लिएर जाने? स्वास्थ्यकर्मीको उपचार, घर, परिवारको शिक्षा, स्वास्थ्यको ग्यारेण्टी गर्नुपर्छ कि पर्दैन? अहिले कोभिड—१९ पोजेटिभ भएकालाई हेर्ने दृष्टिकोण कस्तो छ?’
**
व्यक्तिगत गोपनियताको कारण नेपालमा कोरोना संक्रमितको नाम सार्वजनिक गर्ने गरिएको छैन। तथापि संक्रमित निको भएको बेला अस्पतालले प्रत्रकार बोलाउने, खादा लागाइदिने, हर्सोल्लासका साथ विदाई गर्ने भएकोले नाम सार्वजनिक हुन्छ।
सुरूमै संक्रमितको नाम सार्वजनिक नगरिएको विषयमा प्रश्न नउठेका होइनन्। तर जुनसुकै घटनामा पनि परिवारजनको स्वीकृति बिना नाम सार्वजनिक नगर्दा नै राम्रो मानिन्छ। यसरी कोरोना संक्रमितको नाम सार्वजनिक भइरहेको छैन।
तर जुम्लाका एक जना कोरोना संक्रमित स्वास्थ्यकर्मीले प्रधानमन्त्रीलाई चिठी लेख्दै आफ्नो नाम सार्वजनिक गरेका छन्। उनी हुन् जुम्ला सिंजाको बड्की स्वास्थ्य चौकीमा कार्यरत अहेब शुक्रराज शाही।
उनले लेखेको पत्र चरम निराशा होइन, आशा जगाउने खालको छ। कोरोना नियन्त्रणको अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले छाति चौडा बनाउन उत्प्रेरित गर्ने खालको छ।
जुम्लामा पहिलो पटक जेठ १८ गने १९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा दुई जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो। उनीहरुलाई क्वारेन्टाइनमा रहेका संक्रमितबाट सरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले जेठ २३ गते पुनः ७ जनामा संक्रमण भएको पुष्टि गर्यो। त्यसबेला पनि संक्रमणको कारण क्वारेन्टाइनमा रहेकासँगको सम्पर्क भनि पुष्टि भयो। जसमा क्वारेन्टाइनमा खटिएका स्वास्थ्यर्मी पनि थिए। तीनैमध्येका एक हुन्, अहेब शाही।
संक्रमितसँगको भौतिक दूरी, क्वारेन्टाइनको गुणस्तर, धारा, शौचालय आदिमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पुरा नहुनुले संक्रमण तेस्रो पक्षसम्म पुगेको प्रतिष्ठानका रेक्टर निरेश थापाले बताए। संक्रमणको विषयमा उनको जस्तै मत छ शाहीको पनि।
‘म भारतबाट आएका जुम्ली नागरिकको स्वास्थ्य जाँच गर्ने अग्रमोर्चाको स्वास्थ्यकर्मी भएको नाताले खटिएको थिए। मलाई कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइनमा काम गर्ने जिम्मेवारी दिइएको थियो,’ शाही लेख्छन्, ‘जहाँ मैले कर्तव्यनिष्ठ भएर, गौरव महसुस गर्दै जिम्मेवारी सम्हालेँ। तर, अव्यवस्थित क्वारेन्टाइन, व्यवस्थापनको कमजोरीले गर्दा अहिले म सम्भवतः कर्णाली प्रदेशको पहिलो संक्रमित स्वास्थ्यकर्मी भएको छु।’
उनले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको हौसला बढाउनको लागि पत्र लेखेका हुन्। जसले राज्यका निकायले अख्तियार गर्दै आएको कोभिड—१९ नियन्त्रणमा सघाउ पुग्ने र रणनीति परिवर्तन हुन्छ कि भन्ने आशासहित।
उनले देश कोरोना माहामारी नियन्त्रणको महाअभियानमा जुटेको बेला आफूहरू पनि सरकारसँगै यही अभियानमा सँगै रहेको जानकारी दिएका छन्। भन्छन्, ‘कोरोना नियन्त्रणका लागि सिंगो राष्ट्र जुटिरहेकोमा गर्व गर्छु। चीनको वुहान इपिसेन्टर बनाएर कोरोना संसारभार फैलिरहेको बेला हामी राजधानीबाट धेरै टाढा कर्णालीमा प्रतिरोधको तयारीमा थियौं। सरकारी तयारी फितलो भएको महशुस नभएको होइन र पनि सरकारले खटाएको ठाउँमा डटेर लाग्नुपर्छ भन्ने सोच बनायौं।’
संक्रमण फैलिएको हरेक देशमा झैं नेपालमा पनि स्वास्थ्यकर्मीहरू अग्रमोर्चामै छन्। स्वास्थ्यकर्मीहरु आफ्नो घर परिवारभन्दा राज्य र पेशालाई महत्व दिएर दिन रात ड्यूटीमा खटिरहको उनले दाबी गरेका छन्, ‘हामी कोही प्रयोगशालामा, कोही आइसोलेसनमा, कोही क्वारेन्टाइनमा र कोही गाउँगाउँमा पुगेर निरन्तर काम गरिरहेका छौं।’
उनले भनेझैं कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँगाउँमा स्वास्थ्यकर्मी खटाएका छन्।
यतिबेला राज्यले खटाएका स्वास्थ्यकर्मीले आफ्ना लागि सरकार भएको ठानेका छन्। तर अधिकांशले अभिभावक मानेको राज्यले गरेको बेवारिसे व्यवहारप्रति उनीहरुको गुनासो छ। आफ्नो मनोबल कमजोर गराएको प्रति उनीहरुको दुखेसो छ।
शाहीले कोभिड–१९ को महामारीबाट देश बिरामी भएको बेला स्वास्थ्यकर्मीलाई बिना हतियार युद्वमा पठाउँदाको परिणाम आफू आइसोलेसन वार्डमा उपचार गर्नुपर्ने बाध्यता रहेको जिकिर गर्दै सरकारलाई केही प्रश्न गरेका छन्।
‘कमजोर व्यवस्थापनका खातिर स्वास्थ्यकर्मीले कसरी युद्व जित्न सक्लान्? स्वास्थ्यकर्मी समाजसेवामा कुन मुख लिएर जाने? स्वास्थ्यकर्मीको उपचार, घर, परिवारको शिक्षा, स्वास्थ्यको ग्यारेण्टी गर्नुपर्छ कि पर्दैन? अहिले कोभिड—१९ पोजेटिभ भएकालाई हेर्ने दृष्टिकोण कस्तो छ?’
भारतीय विश्लेषक अरून्धोती रोयले अमेरीकाको भयावह अवस्थालाई मध्यनजर गर्दै प्रश्न गरेकी थिइन्। के अमेरीका युद्वमा आफ्ना सेनालाई विना हतियार पठाउन सक्छ? त्यस्तै शाहीले पनि कोरोना नियन्त्रणको महायुद्वमा खटिएका स्वास्थ्यकर्मीलाई विना हतियार युद्वमा होमिन बाध्य नपारियोस् भनि राज्यलाई सचेत गराएका छन्।
उनी आत्मविश्वास दह्रो बनाउँदै भन्छन्, ‘काम गर्दागर्दै कोभिड—१९ को संक्रमण भएको खबर मेरा लागि अप्रत्याशित भयो। तर, पनि म डराएको छैन। रत्तिभर हडबडाएको पनि छैन।’
उनले आफूसँग जोडिएको घर परिवार, समाज तरंगित भएकोमा चिन्ता व्यक्त गरेका छन्। आफू भने सम्हालिएर घर, परिवार र आफन्तलाई केही हुँदैन भनेर सान्त्वना दिइरहेका छन्।
‘आत्मबल र साहस घटाएको छैन। नेपालको सन्दर्भमा कोभिड—१९ बाट हुने मृत्युदर निकै कम छ। तर, यो कुरा आम नागरिकले बुझेका छैनन्। यहिँनेर सरकारी भूमिका बढी हुनपर्छ। जसले समुदायको आतंकलाई मथ्थर गरिदेवस्,’ उनी भन्छन्।
उनले आफूजस्तै आइसोलेसनमा रहेकालाई धैर्य गर्न, आत्मविश्वास बलियो बनाउन, पोषिलो खाना, सरसफाई र व्यायाम गर्न सल्लाह दिएका छन्। जसलाई उनले कोरोना जितिने बहुउपयोगी क्याप्सुल मानेका छन्।
हेर्नुहोस् प्रधानमन्त्रीलाई लेखेको पत्र