चौरजहारी घटनाको छानबिन गर्न संसदीय समिति गठन

बिएल संवाददाता

काठमाडाै‌ं

रुकुम पश्चिमको चौरजहारी – ८ स्थित सोतीमा ६ जना व्यक्तिको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन भएको छ।

सोमबार सभामुख अग्निप्रसाद सापकोटाले घटनाबारे छानविन गर्न सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको घोषणा गरेका हुन्। 

समितिको सदस्यहरुमा सांसदहरू प्रकाश रसाइली, विमला विक, महेश्वरजंग गहतराज, मीनबहादुर विश्वकर्मा, रामसहायप्रसाद यादव, इकवाल मियाँ, दुर्गा पौडेल र पावर्ती कुमारी विशुंखे रहेका छन्।

सभामुख सापकोटाले समितिलाई घटनाको सत्यतथ्य छानबिन गरेर एक महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन्। 

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका ८ स्थित सोतीमा यही जेठ १० गते अन्तरजातीय विवाहको विषयमा विवाद हुँदा ६ जना युवाको मृत्यु भएको थियो। 

मृत्यु हुनेमा नवराज विक, गणेश बुढामगर, टीकाराम नेपाली, लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विक रहेका छन्। 

उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले रुकुमको चौरजहारीका १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। 

प्रकाशित मिति: : 2020-06-08 19:41:47

प्रतिकृया दिनुहोस्