१० अर्ब कहाँ खर्च भयो, जुनसुकै बेला देखाउन तयार छु: स्वास्थ्यमन्त्री ढकाल

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भएको खर्च पारदर्शी भएको दाबी गर्दै खर्च देखाउन तयार रहेको बताएका छन्।

सोमबार संसदमा स्वास्थ्य मन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै कोरोना नियन्त्रणका लागि भएको १० अर्ब खर्च व्यवस्थित रुपमा भएको र पारदर्शी भएको दाबी गरेका हुन्। 

‘१० अर्ब कहाँ–कहाँ खर्च भयो भन्ने प्रश्न धरैले गर्नु भएकाे छ। यो रकम पारदर्शी रुपमै खर्च भएको छ। जति बेला जुनसुकै बेला हेर्न प्रक्रिया पुर्‍याएर हेर्न सकिने छ।’

उनका अनुसार खर्च भएको १० अर्बमध्ये दुई सय ७६ करोड ६ सय ४१ स्थानीय तहमा, प्रदेशमा एक सय आठ करोड र संघबाट ६ सय तीन करोड खर्च भएको छ। 

‘यो सबै रकम सिसिएमसी, कन्ट्राक्ट ट्रेसिङ, उपचार, क्वारेन्टाइनको व्यवस्थापनमा खर्च भएको हो,’ उनले भने,‘कोरोना महामारी नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले २ अर्ब ९२ करोडको सामग्री खरिद पनि खरिद गरेको छ।’

कोरोनाका कारण २१ देखि ३० वर्षसम्मका धेरै र ३० देखि ४० वर्ष उमेर समूहका व्यक्ति दोस्रो स्थानमा परेको उल्लेख गर्दै मनोसामाजिक कार्यक्रम सञ्चालन गरिने र  पिसिआर परीक्षण बढाइने बताए। 

‘अहिले दैनिक चार हजारसम्म रिपोर्ट आइरहेको छ। असार १५ गतेसम्म दैनिक दश हजार पिसिआर रिपोर्ट दिनसक्ने गरी तयारी भइरहेको म संसदलाई जानकारी दिन चाहन्छु,’उनले भने।  

यस्तै उनले सातै प्रदेशमा परिक्षणका लागि मेसिन खरिद प्रक्रिया अघि बढेको उल्लेख गरे। उनले भने,‘ दिन दिनै सीमा कटेर आउने संख्या धेरै छ। हामीले असार १५ सम्म सातै प्रदेशमा ठूला मेसिन जडान गरी प्रत्येक दिन १० हजारको रिर्पोट दिने गरी तयारीमा लागेका छौँ।’

उनले स्वास्थ्यका लागि बजेट पर्याप्त नभए भन्दै गुनासो समेत गरे। ‘अहिले जे जति स्वास्थ्यका लागि बजेट छुट्टाइएको छ त्यो पर्याप्त छैन। आगामी वर्षदेखि सुधारको थालनी हुने अपेक्षा लिएको छु,’उनले भने। 

यस्तै उनले अर्को आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा नयाँ दरबन्दी र सुविधाको वृद्धि गरिएको जानकारी समेत दिए।
 

प्रकाशित मिति: : 2020-06-08 18:58:15

प्रतिकृया दिनुहोस्