जस्तापाता वितरण

रासस

विराटनगर

मोरङका प्रदेशसभा सदस्य चुमनारायण तवदारले आफ्ना निर्वाचन क्षेत्रमा फुसको छाना हटाउने अभियानको शुरुआत गरेका छन्। 

अतिविपन्न, गरिब, असहाय, दलित तथा पिछडावर्गलाई लक्षित गरी सञ्चालनमा गरिएको सो अभियानमा बूढीगङ्गा गाउँपालिकामा ५६ परिवारलाई जस्तापाता वितरण गरिएको हो।  

एक वडामा आठ परिवारलाई वितरण गरिने सो कार्यक्रमअन्तर्गत सो गाउँपालिकामा एक वडादेखि सात वडासम्मका ५६ परिवारलाई जस्तापाता वितरण गरेको हो। सो अभियानअन्तर्गत उनले गएको वर्षमा आफ्ना निर्वाचन क्षेत्रमा ८२ परिवारलाई जस्तापाता वितरण गरेको उनले बताए। 

वडा नं १ निवासी रामपाल ऋषिदेवले घरको छानाका लागि सांसदबाट प्राप्त सहयोगले सुविधा भएको र यसबाट हामी आफ्ना बालबालिकालाई घाम, पानीबाट बचाउन मद्दत मिलेको जानकारी दिए। सोही वडाका शिवचन्द्र क्रृषिदेव, ध्रुव परियार, शिवचन्द्र राजवंशी र पार्वती विकले पनि हिजोसम्म हाम्रा घरमा खरको छाना थियो तर आज सांसद तबदारले गर्नुभएको सहयोगबाट छाना परिवर्तन भएको छ र हाम्रा घरपरिवार खुशी छाएको प्रतिक्रिया दिए।

गरिब तथा रोजगार नपाएका महिलालाई स्वरोजगार गर्न सिलाइ मेसिन पनि वितरण गरिएको छ। सो गाउँपालिकाकै एक वडादेखि सात वडासम्म २१ थान सिलाइ मेसिन वितरण गरिसकेको र यो अभियानअन्तर्गत थप महिलालाई सिलाई मेसिन वितरण गर्ने योजना बनाइरहेको सदस्य उनले जानकारी दिए। सिलाइ मेसिन वितरण गर्नुभन्दा पहिले लक्षित महिलालाई तालिम दिइएको र अब मेसिन प्राप्त गरिसकेपछि जीवनमा परिवर्तन आउने विश्वास लिइएको छ। 

सो गाउँपालिकालाई उज्यालो बनाउने अभियानलाई पनि तीव्रता दिएको छ। सांसद तबदारले सो अभियानअन्तर्गत गत वर्ष रु २५ लाख सडकबत्तीमा खर्च गरेको र यसवर्ष रु ५० लाख सडकबत्तीमा खर्च गरिरहेकाले केही दिनमै यो गाउँपालिका उज्यालो गाउँपालिका परिणत हुने बताए। हेलोजिन नामक सडकबत्ती बिजुली खम्बामा जडान भएपछि गाउँपालिका झकिझकाउ भएको र यसबाट यहाँका जनतालाई धेरै सुविधा भएको बताइएको छ।

प्रकाशित मिति: : 2020-06-08 14:56:29

प्रतिकृया दिनुहोस्