फुलगेन काका अर्थात फुलगेन साह। ७० वर्षिय उनलाई गाउँका सबैले फुलगेन काका भनेर सम्बोधन गर्छन्, इज्जत र सम्मान गर्छन्। लकडाउनपछि फुलगेन काका पनि घरबन्दीमा छन्। तर आफ्नो मचान (ओसारा) मा आउनेसँग गफिने उनको आदत घरवन्दीमा पनि यथावतै छ।
धनुषाको मिथिला नगरपालिका ७ ढल्केवर गाउँका फुलगेन काका निकै पुरानो भारतीय सन्तोष कम्पनीको रेडियोबाट आउने रेडियो नेपालको समाचार अनि घट्ना र विचारका नियमित श्रोता हुन्। रेडियो नेपालकै समाचारबाट देशविदेशका खवर राख्ने उनले कोरोनाबारे पनि समाचारबाटै जानकारी पाएका हुन्।
कोरोनाको सम्भावित संक्रमणले महामारीको रुप लिने होकि भनेर निकै चिन्तित देखिन्छन् फुलगेन काका। तर नेपालमा कोरोनाले खासै धेरै असर पुर्याउन नसक्ने उनको ठहर छ। किन त? भन्छन् , नेपाल जल, जगंल र जडबुटीको खानी हो। हाम्रो हावपानी र वातावरण स्वच्छ छ। त्यसैले कोरोनाले धेरै असर पुर्याउँन सक्दैन।
यद्यपी कोरोना कहरले अन्यको झैँ फुलगेन काकाको पनि माथिगंल भने घुमिरहेकै हुन्छ। यस्तैमा घरबन्दिका बेला आफ्ना विगतका विस्मृतीहरु फुलगेन काकाको आँखा अगाडि ताजा भएर नाच्ने गर्छन् बेलाबेलामा।
कोरोना जस्तै धेरै माहामारी नेपालले झेल्दै आएको प्रसंगबाट मन्थन सुरू गरेका फुलगेन काकाको शैसव काल खेतखलियान गर्ने आफ्नो पिता शुकदेवसँग खेतवारीमै वित्यो। स्कूल जान पाएनन्। किशोरावस्था गोठालामा विताएका उनले त्यसपछि हलो जोत्ने र खेतीवाली गरे आफ्नो पितासँगै नारिएर। ढल्केवरका अधिकांश युवा उनले झैँ खेतीमा लाग्नुको विकल्प थिएन। उतिवेला अन्नको भण्डार मानिन्थ्यो रे ढल्केवर। उनी विगत सम्झन्छन्, ‘मकै, कोदो, लहारी, तोरी, आलस, बदाम, गहत प्रशस्त फल्थे।’
विवाह लगतै १० रूपैयाँ कठ्ठाको दरले जग्गा किनेर ढल्केवरमा घरजम गरेको त्यो समय फूलगेन काकाको स्मृतिमा अझै ताजा छ। त्यही समयमा ५ सय रुपैयाँमा १० कठ्ठा वारी किन्न दिएको १० रूपैयाँ बैना बुडेको आजै जस्तो लाग्छ उनलाई। २०३१ , ०३२ सालतिरको कुरा हो यो , फुलगेन काकाले स्मरण गर्दै भने।
त्यतिबेला ४ आना पैसामा एउटा छिप्पिएको भाले र केही मठिया (माटोले बनाईएको सानो खालको केही घ्याम्पा (घैला) घरायसी मदिराले दौतरीहरुसँग रम्ने गरेका थिए रे फुलगेन काका। १ रुपैयाँ लिएर हाटबजार जाँदा केही आना पैसा त उब्रिन्थ्यो रे। फुलगेन काकाले भने, ‘उसबेला खेतवारीको उब्जनी बेचेर पैसाको जोहो गरिन्थ्यो।’
बन्दै गरेको कच्ची महेन्द्र राजमार्गमा पहिलो चोटी चलेको गोईन्का बसलाई भगवान सम्झिएर चार आना पैसा चढाएर ढोग गरेका थिए गाउँका बुढापाकासँग फुलगेन काकाले पनि। बस चढ्ने उत्कट उनको चाहना त्यतीबोला पुरा हुन सकेन। त्यसबेलाको समय सम्झिँदा बेलाबेलामा रोमाञ्चित बन्छन् काका।
हो त्यतीबेलाकै समयमा पानी लिन र लुगाफाटा धुन बिहान झिसमिसेमा राँको बालेर सिलभरका वर्तनहरू ठटाउँदै गाउँदेखि करिब चार किलो मिटर उत्तरदिशामा रहेको औरही खोला जाने गरेका गाउँलेहरूको लाममा फूलगेन काका पनि हुन्थे। किनभने घना जँगलमा बाघ, भालु, बँदेललगायत हिंस्रक बन्यजन्तुको विगविगी भएकाले त्रसित गाउँलेहरु ज्यान जोगाउन राँको वालेर वर्तन ठटाउँदै औरही खोला पुग्नुको विकल्प थिएन।
यस्तो जुक्ति नअपनाउँदा धेरैलाई उतिबेला बाघले खाएको थियो औरही खोलाको गरतिर तिर। फुलगेनले भने, ‘धेरै गाईभैँसी र बाख्रापाठालाई पनि वाघ भालु र ब्वाँसाहरुले शिकार बनाउँदै आएको घट्नाले गाउँलेहरु एक्लैदुक्लै जंगल जाँदैन थिए, समूहमा जाने गर्थे।
छ्यासछ्यासी थिए वन्यजन्तु
खानेपानीको ठुलो समस्या झेलिरहँदा जँगली जनावरहरुको आक्रमण झेल्नु पर्ने अर्को ठुलो चुनौती थियो। औरहीको धोवे , विरे , जरायोटार , भालु खोली र सानोवसी अनि ठुलोवसी खोलाहरुमा प्रशस्त थिए वाघ , भालु , खरायो , जरायो , मृग र हरिणहरु। डाँफे , मयूरहरु पानी खान औरही खोला तिर निस्कँदा समूहमै नाच्ने गर्थे। वन कुखुराको वथान उस्तै।
उनका अनुसार मृग र हरिणहरु समूहमा दौडिँदा गोठाला गएकाबेला बढो रमाईलो मानेर हेर्ने गर्दथियौँ , फुलगेन काकाले सुनाए , दुम्सि , नील गाई र गधाहरु उखु घारीमा प्रशस्त हुन्थे।
वाँदर लागेर वाली सखाप बनाउने भएकाले वारीहरुमा अनिवार्य टौवा वनाउनु पथ्र्यो र पालो गरेर रुँगने चलन थियो , टिन ठाटाउँदै। खैनी मोलेर विगत सम्झँदै गरेका फूलगेन काकाले त्यातिवेल प्रशस्त पाईने ढुकुर , रुप्पी र सुगा लगायतका वन्य पशुपक्ष्ािँको पनि वयान गर्न भ्याए।
उनले सुनाउँदै गए , वडेमानका शर्पहरुले नाँगे डाँडामा पुच्छर टेकेर मान्छे झैँ उभिएर गुजुल्टिदै यौनक्रिडा गरेका दृष्यहरु गोठालाहरुले नदेखेको दिन कमै हुन्थ्यो। लाटो कोसेरो र कछुवा त जताजतै भेटिन्थ्यो।
कमेरोले नुहाउँथे
त्यस समय लक्का जवान थिए फुगलेन। त्यस समय चामलको भात खान पाउनु ठूलो कुरो थियो। सावुन सहज रुपमा उपलब्ध हुँदैन थियो। ढल्केवरवासीको किनमेल गर्ने मुख्य थलो नजिकैको चौलिखा बजारमा सावुन पाईन्थ्यो। पाँच पैसामा पाईने खुल्ला सावुन किन्न सँधै पैसा हुँदैनथियो। पाईन्टको त कुरै नगरौँ बर्षमा एक पटक बुवाले कटु किनिदिन्थे , फुलगेनले सुनाउँदै गए , गाउँले युवाहरु कमेरो माटोले नुहाउन र जुम्रैजुम्राको जंगल बनेको कटु र गञ्जि धुन औरही खोला धाउनेको जमातमा फुलगेन पनि हुन्थे। पालो गरेर वन्यजन्तुको सेन्ट्री बसेर उनिहरु लुगा धुन्थे , नुहाउँथे औरही खोलामा। औरहीखोलाको संगलो पानीले औरही खोला एक तमासले सुसाईरहन्थ्यो। भुरा माछाहरु प्रशस्त पौडिरहेका हुन्थे।
‘त्यतीबेलाको कुरा नगरौँ’, फूलगेन बेलिविस्तार लाउँछन्, ‘चामल पाइँदैन थियो, मकै, लहरी, फर्सी, अलुवा (सुठुनी) प्रशस्त हुन्थ्यो। उसिनेको फर्सी र लहरीको दालको स्वाद अझै जिब्रोमा झुण्डीईरहेको छ। दूधदहीको त झन कुरै नगरौँ। बेच्न बजार थिएन। धेर भएको दूध दही मल थुपारेको ठाउँमा फालिन्थ्यो।’
बद्लियो समय
समयकाल बद्लिदै गयो। खेती गृहस्थि गरेर पारिवारिक गर्जो टार्दै आएका सुकदेव साहका छोरा फूलगेनले विवाह गरे। र घर गृहस्थि जीवन सुरू गरे। छोराछोरी जन्मदै गए। फुलगेन साहले नुहाउने औरही खोलाबाट धेरै पानी बग्यो। गाउँहरु घना बस्तिमा रूपान्तरण हुँदै गए। जंगल फँडानी सुरू भयो। परिवारको गर्जो टार्न फुलगेनले पनि दाउराको ब्यापार सुरु गरे। परिवार चलाउन जंगल धाउनेमा फुलगेन मात्रै थिएनन् फुलगेनसँगै काठको गोरूगाडा लिएर जंगलबाट लकडी ल्याएर भर्खरै लाग्न सुरू गरेको सखुवा बजारमा बेच्नेहरुको लर्को बढ्दै गयो।
हो यही समयबाट जंगली वन्यजन्तु र पशुपंक्षिका दूरदिन पनि सुरू भए। वन मासिएर बस्ति बढ्दै गए। शिकारीहरुको बन्दुकको निशानमा हरिण, मृग, जरायो, बँदेल र खरायोहरु पर्न थाले। औरही खोला सुक्यो। मान्छेलाई कायल बनाउने बाघ भालुको सँख्यालाई दाउरे र घाँसेहरुको समूहले विस्थापित गर्दै गयो। मयूरहरू देखिनु एकादेशको कथाजस्तै बन्न थाल्यो। खडेरी सुरू भयो। अन्नपात फल्न छाडे। टमाटर (गोलभेडा) मात्रै उब्जनी हुन थालेपछि गाउँलेहरू टमाटरबाटै जीवन धान्नुपर्ने अवस्थामा पुगे। बजार बढेकाले मालवस्तुहरु पनि बेच्ने चलन सुरु भएकाले हुलका हुल गाईवस्तुहरू सकिदै गए। दूध दही खान पाउनु सपनाजस्तै भयो।
मकैको फ्याफ्लो र टमाटरको अचारले बिहान बेलुकीको हातमुख जोड्नुपर्ने अवस्था आयो, सेतै कपाल फुलेका र तलतिर पटिको दुवै दाँत झरिसकेका थोते फुलगेनले सुनाए , रोग , भोक र अभाव सुरू भयो। उनको पितासँगै ढल्केबरका बुढापाका सकिदै गए। र अहिले फेरि बढे वन्यजन्तु तर फेरी समय फेरिएको छ।
औरही र जलाद खोलाहरुमा फेरि पानी बहन थालेको छ। जँगल बढ्दै जाँदा वन्यजन्तुहरू पनि बढ्न थालेका छन्। वन कुखुरा र मयूरका बथानहरु प्रशस्त देखिन थालेका छन्। मृग र खरायो जरायोहरु जताततै देखिन थालेका छन्। दुम्सी, खरायो, वँदेल र निल गाईहरु मधेशका खेत खलियानहरुमा प्रशस्त देखिन थालेका छन्। ढल्केवरमा मात्रै होईन जंगल क्षेत्रबाट कोषौं टाढा रहेका गाउँका खेतबारीमा पनि वन कुखुर, बँदेल र निल गाई समूह समूहमा देखिन थालेका छन्।
किसानलाई क्षति पुर्याउन सक्ने भनेर प्रशासनले बँदेल मार्न त छुट नै दिएको छ। सुँगा, ढुक्कुर , रुप्पी र जुरेलीहरु खेतखलियानका फूलवारीहरुमा देखिन्छन्। उखु खेती गरिएको ठाउँमा दुम्सीहरु अड्डा जमाएर बस्न थालेका छन्। वाघ र भालुहरु भने अझैसम्म नदेखिएको फूलगेनले बताए। बाँदरहरू पनि गाउँ छिरेका छन्।
५ भाइ छोरा र दुई बहिनी छोरीका पिता फुलगेन वन्यजन्तुको मामलामा ढल्केबर फेरि पुरानै लयमा फर्कन थालेको बताउँदै भन्छन्, ‘वन्यजन्तु र पशुपंक्षी संरक्षणमा स्थानीय सरकारले बलियो कानुन नै बनाएर विशेष अभियान सुरु गर्ने बेला भई सकेको छ। मानविय क्षती हुन नदिन वन्यजन्तुलाई जँगल वाहिर निस्कन नदिन सवै उपायहरु अपनाउनुपर्छ।