व्यक्तिगत आरोप/प्रत्यारोपमा नजान सांसदहरुलाई सभामुखको रुलिङ

प्रतिनिधि सभा बैठकमा सांसदहरुले एक अर्काप्रति व्यक्तिगत टिकाटिप्पणी र आरोप प्रत्यारोप गरी संसदीय मर्यादाको उलंघन गर्ने क्रमले निरन्तरता पाएपछि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई नियमावलीको व्यवस्था पालना गर्न रुलिङ गरेका छन्।

आइतबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय जनता पार्टी नेपाल ( समाजवादी पार्टी नेपालसँग एकीकरणको प्रक्रियामा रहेको जनता समाजवादी पार्टी नेपाल)की सांसद चन्दा चौधरीले जेठ १९ गतेको बैठकमा नेकपा सांसद गंगा सत्गौवा चौधरीले सांसद सरिता गिरिविरुद्ध दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले रुलिङ गरेका हुन्।

सांसद चौधरीले नेकपाकी सांसद गंगा सत्गौवाको अभिव्यक्तिप्रति लक्षित गर्दै उक्त भनाई संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेपछि सभामुख सापकोटाले उक्त विषयमा आफूले पहिले नै रुलिङ गरिसकेको बताउँदै त्यस विषयमा नबोल्न निर्देशन दिए।

त्यसपछि सभामुख सापकोटाले विशेष रुलिङ गर्दै सांसदहरुले बोल्ने क्रममा संसदीय नियमावलीको नियमा २१ को (ङ) मा उल्लेखित प्रावधान अनुसार व्यक्तिगत टिका टिप्पणी र लान्छना लगाउने गरी नबोल्न सबै सांसदहरुको ध्यानाकर्षण गराए।

साथै उनले उक्त दिन चौधरीले सांसद गिरिलाई भारतीय दलालले नेपालको संसदमा दादागिरी देखाएको भन्ने विषयमा सबै विवरण लिएर अध्ययन गरी कार्यवयवस्था परामर्श समितिको बैठकबाट आवश्यक निर्णय लिने जानकारी दिए।

सभामुखले कोरोना महामारीको बिचमा पनि सबै बुद्धि, विवेक लगाएर जोखिम मोल्दै सदन सुचारु गरिरहेको र यस्तो अवस्थामा सदनलाई सफल बनाएर सकरात्मक सन्देश दिनुको सट्टा व्यक्तिगत आरोप, प्रत्यारोपतर्फ नजान आग्रह गरे।

प्रकाशित मिति: : 2020-06-07 15:07:27

प्रतिकृया दिनुहोस्