रौतहट हत्या प्रकरणः आलमका एक सहयाेगी पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

इँटाभट्टामा हालेर पाँचजनाको निर्मम हत्या गरेको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा बाराको सिम्रोनगढ नगरपालिका ४ का ५५ वर्षीय मुक्ति साह छन्। साह पूर्वमन्त्री तथा सांसद मोहमद अफताब आलमका सहयोगी रहेको खुल्न आएको छ। 

भारतबाट नेपाल प्रवेश गरेको भन्ने विशेष सूचनाको आधारमा साहलाई शनिबार पक्राउ गरिएको प्रदेश २ का डीआईजी धिरजप्रताप सिंहले बताए।

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इँटाभट्टामा जलाएर मारेको आरोप पक्राउ परेका पूर्वमन्त्री आलम हाल जेलमा छन्। 

चुनावमा प्रयोग गर्न भारतबाट भाडामा मान्छे ल्याएर काका शेख इन्द्रिसको गोठमा बम बनाउन लगाएको अवस्थामा विस्फोट भएको थियो । २७ चैत ०६४ मा बम पड्किएर केहीको मृत्यु भएको थियो भने विस्फोटमा घाइते भएका पाँचजनालाई ट्र्याक्टरमा राखेर राजपुरस्थित आफन्तको इँटाभट्टामा हालेको आरोप छ । 

साह त्यतिबेला इँटा भट्टाको मिस्त्री रहेको प्रहरीले जनाएको छ। उनी मिस्त्री भएको इँटा भट्टामै जिउँदै मान्छे हालेर हत्या गरिएको हो।

प्रकाशित मिति: : 2020-06-07 14:40:25

प्रतिकृया दिनुहोस्