नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले विद्युतीय सवारीमा भएको कर वृद्धि फिर्ता गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै कँडेलले विद्युतीय कर बढाएर निषेध गर्दै जाने हो भने पेट्रोलियम र सवारीका लागि अर्बौ रकम बाहिने पक्का भएको भन्दै कर वृद्धि फिर्ता गर्न माग गरेका हुन्।
‘वाग्मती प्रदेश,प्रधानमन्त्री र राष्ट्रपतिले नीति तथा कार्यक्रममा विद्युतीय सवारी संचालन गर्ने प्रतिबद्धता जनाएकोका छन्। तर अर्थमन्त्रीले उक्त नीतिलाई बजेटमा सम्बोधन गरेका छैनन्। विद्युतीय कर बढाएर निषेध गर्दै जाने हो भने पेट्रोलियम र सवारीका लागि अर्बौ रकम बाहिने पक्का छ,’ उनले भने।
यस्तै उनले सरकारको निर्णयले वातावरण विनाश हुने तर्क गरे। ‘औसतमा १ सय १३ प्रतिशत कर लगाउने अर्थमन्त्रीको निर्णय परावलम्बी र वातावरण संरक्षणको हिसाबले प्रतिगमनकारी निर्णय हो,’उनदे भने,‘यसले वातावरण विनाश हुने निश्चित छ।’
उनले नेकपाको चुनावी घोषणापत्रमा ३ वर्षभित्र उपत्यकामा विद्युतिय सवारी साधन मात्रै उपयोग गर्ने कार्ययोजना लागू गरिने भनेर मत मागिएको र दुई वर्षअघि प्रधानमन्त्रीले २०२० भित्र २० प्रतिशत विद्युतिय सवारी साधन सञ्चालन गर्ने घोषणा गरेको बताउँदै कर बढाउनुले नेकपाले जनताप्रति राजनीतिक बेइमानी गरेको आरोप लगाए।