मनोवैज्ञानिक असर समाधान गर्न परामर्श

रासस

पोखरा 

गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ।

 आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका साथै यसबाट सिर्जित विभिन्न समस्याको समाधानमा जोड दिएको हो। 

कोरोनाको परीक्षणलाई व्यापक विस्तार गर्ने र निःशुल्क परीक्षण तथा उपचार गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा यसबाट नागरिकको रक्षा गर्न सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने र यसका विरुद्ध लड्न स्वास्थ्य प्रणालीलाई सुदृढ गरिने उल्लेख गरिएको छ।

ज्याला मजदुरी गरी जीवन गुजारा गर्ने र विपन्न व्यक्तिलाई लकडाउनको अवधिमा जीवन निर्वाहका लागि स्थानीय तहसँगको सहकार्यमा राहत तथा रोजगारी उपलब्ध गराइने प्रदेश प्रमुख अमिक शेरचनले बताए। महामारीबाट प्रभावित दैनिक ज्यालादारी गर्ने मजदुर, महिला, दलित, गरिब तथा सीमान्तकृत, असहाय तथा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकको हित संरक्षण गर्न विशेष कार्यक्रम ल्याउने सरकारको तयारी छ।

पर्यटन, कृषि, उद्योग, यातायात, निर्माणलगायतमा महामारीले पारेको असरका आधारमा क्षेत्रगत पुनरूत्थानका विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ। रोजगारी गुमाएका, विदेश जान रोकिएका र विदेशबाट फर्केका व्यक्तिको श्रम, पूँजी, सीप र रुचिका आधारमा पर्यटन, कृषि, उद्योग, यातायात, निर्माणलगायतका क्षेत्रमा आवश्यकतानुसार प्राविधिक तथा व्यावसायिक तालिम, प्रविधि तथा बीउपूँजी प्रदान गरी उद्यमशीलता विकास तथा स्वरोजगारी र रोजगारी प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिने सरकारले भनेको छ।

महामारीबाट प्रभावित उद्यमीलाई सहुलियतदरमा आवश्यक यन्त्र तथा उपकरण उपलब्ध गराउने र सहुलियत कर्जाका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय गरिने नीति तथा कार्यक्रममा जनाइएको छ।

स्वास्थ्य सुरक्षा सामग्री सहयोग 

जिपी कोइराला फाउण्डेशन कास्कीले नेपाल प्रेस युनियन कास्कीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ। बढ्दो कोरोना सङ्क्रमणका बीचमा नागरिकलाई सुसूचित गराउन सक्रिय सञ्चारकर्मीको स्वास्थ्य सुरक्षाका लागि ती सामग्री प्रदान गरिएको हो। 

कार्यक्रममा फाउण्डेशनका गण्डकी प्रदेश संयोजक शारदा पौडेलले प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देललाई मास्क, पञ्जा र स्यानिटाइजर हस्तान्तरण गरे। कार्यक्रममा संविधानसभा सदस्यसमेत रहेका पौडेलले मुलुकलाई सही ढङ्गबाट अघि बढाउन पत्रकारिता सशक्त हुनुपर्ने बताए। स्वास्थ्य नै धन भएको भन्दै उनले हरेक व्यक्ति, परिवार र समाजले सावधानी र सतर्कता अपनाउनुपर्ने उल्लेख गरे।
 
प्रेस युनियन कास्कीका अध्यक्ष सिग्देलले प्राप्त सामग्री क्रियाशील सञ्चारकर्मीलाई उपलब्ध गराइने जानकारी दिए। कार्यक्रममा फाउण्डेशन कास्कीका संयोजक यादवराज अधिकारी, फाउण्डेशन गण्डकी प्रदेश सहसंयोजक राजेन्द्रनिधि कोइराला, क्षेत्र नं ३ संयोजक उमेशराज पराजुली, कास्की सचिव मोतीराज तिमिल्सिनालगायतले महामारीको यस क्षणमा सबैले आ–आफ्नो स्वास्थ्य सुरक्षामा चासो दिनुपर्ने बताए। 

प्रकाशित मिति: : 2020-06-07 11:33:26

प्रतिकृया दिनुहोस्