शार्दूलविक्रीडित छन्द
म्यान्मामा अहिले कसै पनि गरी गोर्खा दुई लाख छन्
नेपाली नभनेर यस् मुलुकमा गोर्खा भने चिन्दछन्॥१॥
आएथे पुर्खा अँग्रेज युगमा खोज्दै नयाँ जीवन
बर्माको मलिलो सुरम्य बनमा लाग्यो उनैको मन ॥२॥
पुर्ख्यौली पशुपालनादि उनको आधारभूत् साधन
थाले गर्न उपाय धेर थरिका गर्नै थियो आर्जन ॥३॥
आएथे भरना भएर कति ता ब्रीटीश आर्मी सँगै
औकाश् प्राप्त भए पछाडि पनि क्वै बस्दाभए कैं नगै ॥४॥
थाले आउन याँ कुटुम्ब उनका देखेर राम्रो चरन्
गाई गोठ र अन्य काम गरने सोचेर थाले गमन्॥५॥
बाहुन् क्षत्रि र ताँतमा सँग दिँदै लागे अरू साथमा
राई लिम्बु किराति साथ ठकुरी लामा थिए खासमा॥६॥
ल्याएथे उनले नभूलिकन याँ सँस्कार भाषा पनि
नेपालीपनमै रहेर जिउने टुङ्गो गरेथे उनी॥७॥
नारीले पहिरन् र साजगहना नेपालझैं पै'र्दथे
गौपालन् सहितै विकास कृषिको आगे बढी गर्दथे॥८॥
सेनामा पनि राष्ट्रको लगनले सेवा गरे गोरखा
धेरै नाम र मान पाउनसके संग्राममा गोरखा॥९॥
योद्धा वीर बनेर राष्ट्रहितमा ती गोरखा लड्दथे
सैयौं ता रणमा शहीद हुनगै प्राणै दिई मर्दथे॥१०॥
बीत्यो काल जसै भविष्यतिरको चिन्ता सबैमा भयो
म्यान्मामा कसरी बचाव गरने भाषा र संस्कृतिको॥११॥
खोले संघ समाजले गरिदिने धेरै कुरा देखिए
भाषाज्ञान दिने उपाय सबले संयुक्त खोजीलिए॥१२॥
ज्ञानी छन् जनता समाज विषयक् सेवा अनेक् गर्दछन्
श्रद्धाभाव र जातिप्रेम रहँदा आपस्त भर् पर्दछन्॥१३॥
विस्तारै समयानुकूल अहिले पुस्ता समेत् पाँच् पुग्यो
नेपाली अबपारको समयले व्यापार सम्मुख् नुग्यो ॥१४॥
भावी सन्ततिले चिनेर सबथोक् सद्भावना नै धरून्
राष्ट्रको र समाजको हितहुने कार्यादि सोची गरून्॥१५॥