दाता निकायलाई सहयोग गर्न मुख्यमन्त्री शाहीको आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को सङ्कट व्यवस्थापनमा सहयोग गर्न दाता निकायलाई आग्रह गरेका छन्।

 मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा मुख्यमन्त्री शाहीले कोभिड–१९ को प्रतिकार्य, रोकथाम, उपचार तथा राहत व्यवस्थापनमा सरकार लागिपरेको भन्दै थप सहयोगका लागि दातृ निकायलाई सहयोग गर्न आग्रह गरेका हुन्।

रोजगारीको लागि भारत गएका नागरिक फिर्ता भएसँगै कर्णाली प्रदेशमा कोभिड–१९ को सङ्क्रमण बढेको बताउदैं उनले भने, 'यसको प्रतिकार्य तथा रोकथामका लागि दाता एवं साझेदार निकाय सरकारसँग जोडिनुपर्ने बेला आएको छ।'

 अहिलेसम्म भारतबाट फर्किनेको सङ्ख्या ३५ हजार पुगेको जनाउँदै मुख्यमन्त्री शाहीले क्वारेन्टिन, आइसोलेसन व्यवस्थापन र सङ्क्रमण परीक्षणमा सरकारलाई समस्या परेको बताए।

कर्णाली प्रदेशबाट एक लाख ५० हजार भारत र तेस्रो मुलुकमा रोजगारीका लागि गएको र एक लाख बढी नागरिक फर्कने अनुमान रहेको उनको भनाइ थियो।

 कर्णाली प्रदेशमा स्थापना गरिएका दुई प्रयोगशाला २४ घण्टा सञ्चालन गर्दा पनि दैनिक ५०० नमूनाभन्दा बढी परीक्षण गर्न नसकेको उनले बताए। 

मुख्यमन्त्री शाहीले क्वारेन्टिन र आइसोलेसन व्यवस्थापन, पिसीआर प्रयोगशालाको स्थापना, परीक्षणका लागि आवश्यक किट र एम्बुलेन्समा सहयोग गर्न आग्रह गर्दैन उनले भने, 'कर्णाली प्रदेशका धेरैजसो नागरिक तीन महिनाका लागि मात्रै रोजगारीका लागि भारत जाने गरेका छन्। कोरोनाले निम्त्याएको परिस्थितिका कारण रित्तो हात फर्कनुपरेको छ। '

प्रदेश सरकारले रोजगारी गुमाएर फर्किएका अति गरिबीको रेखामुनि रहेका नागरिकका लागि क्वारेन्टिनमा १४ दिनसम्म रहने अवधिका लागि दैनिक निर्वाह भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको उनले बताए।

 विकास साझेदार संस्थासँगको छलफलमा प्रदेश सरकारका मन्त्री, प्रमुखसचिव, सचिव र संयुक्त राष्ट्रसङ्घीय निकायका नेपाल प्रतिनिधिको सहभागिता थियो।
 

प्रकाशित मिति: : 2020-06-03 17:35:25

प्रतिकृया दिनुहोस्