मधेशमा आफ्नो शक्ति बढाउँदै विप्लव माओवादी, ३८ हजार सेना निर्माण गरेको दावी

सन्तोष बराइली

जनकपुरधाम

मधेशी जनताको हक र अधिकारका लागि लडेको दावी गर्दै आइरहेका राजनीतिक दलका नेताहरूले ८० प्रतिशत मजदुर र किसानको उपेक्षा गरेका भन्दै प्रतिबन्धित नेत्र विक्रम चन्द (विप्लव समूह) को नेकपा माओवादीले मधेश–तराईमा संगठन निर्माणलाई तिब्रता दिएको छ।

विप्लव निकट मधेशी राष्ट्रिय मुक्तिमोर्चा नेपाल–क्रान्तिकारीका केन्द्रीय अध्यक्ष देवनारायण साह (देवजी) को नेतृत्वमा मधेशका २० जिल्लामा संगठन विस्तार कार्यलाई तिब्रता दिइएको हो।

२०४५ सालदेखि कम्युनिष्ट आन्दोलनमा होमिएका देवजी मधेशका नाममा यसअघि राजनीति गरिरहेका नेताहरूले २० प्रतिशत सामान्ती र दलालहरूको पक्षपोषण गरेको र ८० प्रतिशत जनता ती नेताहरूकै शोषण र उत्पीडनको शिकार भएको बताउँछन्।

उनले नेकपाकी नेतृ स्वर्गीय साहना प्रधानबाट कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए। पछिल्लो समय उनी नेकपा मार्क्सवादी निकट विद्यार्थी संगठन नेपाल प्रगतिशील विद्यार्थीको केन्द्रीय सचिव हुँदा प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका थिए। उनी प्रचण्डले राजनीतिक गद्धारी गरेपछि विप्लव नेतृत्वको नेकपामा लाग्न आफू बाध्य भएको बताए। ‘म वैज्ञानिक समाजवादको लागि होमिएको हुँ,’ उनले भने, ‘वैज्ञानिक समाजवादको विकल्प छैन।’

उनले ‘लकडाउन’ लाई हतियार बनाएर सरकारले आफ्नो पार्टीका ४ सय नेता–कार्यकर्तालाई पक्राउ गरेको र हालसम्म १२ सय जनालाई विभिन्न मुद्दा लगाएको जानकारी दिए।

उनी हालसम्म विप्लव माओवादीले ३८ हजार सेना निर्माण गरिसकेको दावी गर्छन्। ‘सरकारले जति धेरै धरपकड गर्दैछ। उति नै हाम्रा समर्थक बढ्दै छन्,’ उनले भने, ‘३८ हजार त सेना नै निर्माण गरिसक्यौं।’

उनले जनमुक्ति सेनामा मधेशीमूलका ५ सय युवा सहभागी भएको जानकारी दिए। ‘यो क्रम बढ्ने अवस्थामा छ,’ उनले भने,‘सेनाको तालिम चलिरहेको छ। हामीले अहिले सेना निर्माणमा प्राथमिकता दिएका छौं।’

उनले जनमिलिसिया बनाउने अभियान पनि पार्टीले सञ्चालन गरिरहेको बताए। ‘जनमिलिसियालाई कोरोनाविरूद्ध जनचेतनामुलक कार्यक्रममा खटाएका छौं,’ उनले भने।

पार्टीले प्रचण्ड नेतृत्वको माओवादी भूमिगत हुँदा प्रयोग गरेको उपनाम हालै परिवर्तन गरेको छ। केन्द्रीय सदस्य देवका अनुसार विप्लव, खड्ग विश्वकर्मा, प्रकाण्ड, हेमन्तप्रकाश ओली, सुदर्शन, सन्तोष बुढामगर, विषम र अनिल शर्मा, बिरही सचिवालय बाहेक सबै केन्द्रीय सदस्यको उपनाम परिवर्तन गरिएको छ।

नेताहरुको धरपकड बढेकाले पार्टीले नेताहरुको उपनाम परिवर्तन गरेको उनले बताए। उनले अहिलेको व्यवस्था नै आफ्नो प्रमुख दुश्मन भएको बताए। तर नेताको हत्या गर्ने र ब्यारेक चौकी आक्रमण गर्ने पार्टीको नीति नरहेको प्रष्ट पारे।

प्रकाशित मिति: : 2020-06-03 15:55:00

प्रतिकृया दिनुहोस्