वीरगन्ज महानगरपालिकाले कोरोना भाइरस विरुद्धको लडाईमा आब्हान गरेको प्रकोप ब्यवस्थापन कोषमा मंगलबार पटेर्वासुगौली गाउँ पालिकाले २५ लाख उपलब्ध गराएको छ ।
पटेर्वासुगौली गाउँ पालिकाका अध्यक्ष हरि नारायण चौधरीले कोविड विरुद्ध वीरगन्ज महानगरपालिकाले चालेको कदममा हातेमालो गर्न २५ लाख रुपियाँको चेक वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गरेका छन्।
गत जेठ ६ गते वीरगन्जको नगर सभागृहमा पर्साका प्रमुख राजनीतिक दलका नेतृत्व, १४ वटा पालिकाका प्रमुख र प्रदेश सभा सदस्यहरुको उपस्थितिमा भएको बैठकले पर्साका सवै पालिकाबाट ५ करोड र उद्योग वाणिज्य संघ लगाएत उद्योगी ब्यवसायीबाट ५ करोड गरी जम्मा १० करोडको प्रकोप कोष स्थापना गर्ने निर्णय भए अनुसार नै पटेर्वासुगौला गाउँ पालिकाले २५ लाख उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष हरि नारायण चौधरीले बताए।
वीरगन्ज महानगरपालिकाले पिसिआर मेशिन, मिटिएम किट, रिएजेन्ट किट, प्रिआइसोलेशन र कोविड अस्पताल संचालनको लागि पर्सामा भएका सम्पूर्ण पालिका र विभिन्न संघ संस्थासँग सहयोगको अपिल गरेको थियो।
मंगलबार नै महाविर मन्दीर समितिको तर्फबाट एक लाख एघार हजार, ग्लोवल आइएमई र्बक वीरगंज शाखाको तर्फबाट एक लाख, पिसि मिडिया नेटर्वक (रेडियो सान्भी) को तर्फबाट २५ हजार नगद, राजेश पाण्डेयबाट ५ हजार एक सय, राजेश्वर पाण्डेबाट ४ हजार पाँच हजार र अनिल वरनवालबाट ५ हजार दुई सय पचास प्रकोप कोषमा जम्मा गर्ने गरी नगर प्रमुख विजय कुमार सरावगीलाई हस्तान्तरण गरेका छन् ।
उक्त कोषमा वीरगन्ज महानगरपालिकाले एक करोड जम्मा गरी सकेको छ भने हाल सम्म उक्त कोषमा एक करोड ५६ लाख ७५ हजार जम्मा भैसकेको छ ।