नारायणी अस्पतालमा ओपीडी सेवा सुरु भएसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

वीरगन्जस्थित नारायणी अस्पतालले मंगलबारबाट ओपीडी सेवा सुरु गरेसँगै जेनेरल अस्पताल बनाउने बिषयमा जारी आन्दोलन स्थगित भएको छ। 

वारा, पर्सा, रौतहटका सर्वसाधारणको उपचारलाई सहज बनाउन अस्पतालले मंगलबार बिहानदेखि ओपीडी सेवा सुरु गरेसँगै जनता समाजवादी पार्टीका नेता नेजामोद्दिन समानी, ओमप्रकाश सर्राफ, मोनिका सिंह र हरेन्द्र पटेलले संयुक्त एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरुको आन्दोलन स्थगित भएको जनाएका छन् ।

सर्वसाधरणहरु उपचारका लागि सामाजिक दुरी कायम गर्दै अस्पतालले ओपीडी सेवा सुचारु गरेपछि विगत एक महिनादेखि नारायणी जेनेरल अस्पताल बनाउने विषयमा जारी आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित भएको जनता समाजवादी पार्टीका नेता तथा युवा अभियन्ता ओमप्रकाश सर्राफले बताए ।

सर्व पक्षीय दबाब र पहलमा मंगलबार देखि नारायणी अस्पतालका सबै बहिरंग सेवाहरु लगायत अन्य सेवाहरु पनि सुचारु भएको कारण बिगत ३० दिन देखि जारी धर्ना र आन्दोलनको कार्यक्रम स्थगित गरिएको नेता नेजामोद्दिन समानीले बताए । सबैको सामुहिक प्रयासबाट कोबिडबाट जेनेरल अस्पतालमा परिणत भएको नारायणी अस्पताल नेपालको पहिलो अस्पताल बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यता गरिब जनताको उपचार गर्ने केन्द्रको रुपमा स्थापित नारायणी अस्पताल कोरोना अस्पतालमा रुपान्तरण हुँदा सर्वसाधारणले झण्डै दुई महिना निकै सास्ती बेहोर्नुपरेको थियो । कोभिड–१९ महामारीको जोखिमका कारण सतर्कता अपनाउँदै प्रत्येक दिन एउटा विभागमा २५/२५ जनाको मात्रै उपचार गर्ने नीति लिईएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

नारायणी अस्पतालमा बहिरंग तर्फ हाडजोर्नी, पेट तथा छाती, छाला, मुटु रोग, मेडिसिन, गाईने, कार्डियोलोजी, जनरल सर्जरी, पेडियाट्रिक, नाक, कान घाँटी (ईएनटी), दाँत, फिजियोथेरापी र इमर्जेन्सी सेवा पनि सञ्चालनमा छ। अस्पतालले गत आइतबारबाट मिर्गौलाका बिरामीहरुका लागि डायलासिस सेवा सुरु गरिसकेको छ । अस्पतालबाट सबै संक्रमित डिस्चार्ज भएपछि निर्मलीकरण गरेर आइतबारदेखि डायलासिस सेवा सुरु गरिएको हो ।
अहिले नारायणी अस्पतालकै मातहत रहनेगरी वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा गण्डक कोभिड विशेष अस्पताल सञ्चालनमा छ । गण्डकमा अहिले २ जना महिला सहित २० जना कोरोना संक्रमितको उपचार भई रहेको छ ।

प्रकाशित मिति: : 2020-06-02 17:09:47

प्रतिकृया दिनुहोस्