भनिन्छ– आपत् एक्लै आउँदैन। नभन्दै यतिबेला नेपालमा एकैसाथ तीन किसिमका आपत आइपरेका छन्। विश्व कोरोना (कोभिड– १९) महामारीबाट ग्रस्त छ। साढे तीन लाखभन्दा बढी मानिस मरिसकेका छन्। बिरामी पर्नेको संख्या पनि ५६ लाख पुगेको छ। धेरै संख्यामा ठीक भएर मानिस घर फर्केका पनि छन्। सुरुमै कोरोनाबाट पीडित केही देशले यो महामारी नियन्त्रणमा ल्याएर जनजीवन सामान्य बनाउन थालेका पनि छन्। पूर्ण सफलता पाउन अझ कति समय लाग्ने हो भन्न गाह्रो छ। हामीकहाँ सुरुका दिनमा कोरोना महामारीका रूपमा देखिएको थिएन। अहिले भारत र अन्य देशबाट आएका नेपालीले कोरोना पनि लिएर आएका छन्। सरकारको गतिहीन अवस्था हेर्दा यसले कतिबेला महामारीको रूप लिने हो जनता भयभीत छन्। कोरोनाविरुद्ध औषधि पत्ता लगाउन शक्तिशाली राष्ट्रका वैज्ञानिक लागेका छन्। केही समय लाग्छ। यसविरुद्धको भ्याक्सिन पत्ता लाग्ने नै छ।
हामीकहाँ कोरोनाभन्दा ठूलो समस्या यतिबेला भारतले नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकमा बनाएको मोटरबाटो देखा परेको छ। भारतको यस ज्यादतीविरुद्ध कोरोनाको खतराको पर्वाह नगरेर जनता सडकमा उत्रेका छन्। संसद्ले एक स्वरमा भनेको छ– भारतले बनाएको बाटो हाम्रो सीमाभित्र पर्छ। यसमा सम्पूर्ण राजनीतिक दल एक देखिएका छन्। संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दीविरुद्ध पनि यस्तो एकता देखिएको थिएन, जुन अहिले प्रदर्शन भएको छ। तेस्रो संकटचाहिँ सत्ताधारी दलभित्र अमेरिकी सहयोग एमसीसीलाई लिएर सुरु भएको विवाद हो। यो विवादको प्रक्षेपण कसरी हुन्छ, त्यसैमा कम्युनिस्ट पार्टीको भविष्य जोडिएको छ। नेपालको भूराजनीतिक संवेदनशीलताले अमेरिका र चीनबीचको विवादमा एमसीसी परेको छ।