गण्डकी प्रदेशसभा : स्वास्थ्य पहिलो प्राथमिकता

गण्डकी प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले कोरोना महामारीको वर्तमान अवस्थामा जनताको स्वास्थ्य रक्षा पहिलो आवश्यकता भएकोमा जोड दिएका छन्।

 आइतबार प्रदेशसभामा आव २०७७/७८ को प्रस्तुत नीति तथा कार्यक्रमको छलफलमा बोल्दै सदस्यहरूले जनताको रक्षा पहिलो प्राथमिकतामा हुनुपर्ने बताउँदै त्यसपछि मात्रै कृषि, रोजगार, उद्योग, पर्यटन आदिमा केन्द्रित हुनुपर्नेमा जोड दिए। 

भारतबाट अझै आउने क्रम बढिरहेका अवस्थामा व्यवस्थित क्वारेन्टिनको व्यवस्था गर्न प्रदेशसभा सदस्य सरिता गुरुङले माग गरिन्। 

 महामारीका कारण नयाँ सोचका साथ बढ्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै नीति तथा कार्यक्रम आएको सदस्य विनोद केसीले बताए। 

चालू वर्षको साढे आठ महिना त्यसै खेरा फालिएको बताउँदै रातो किताबमा परेका योजना कार्यान्वयनमा नआउँदा बजेट फ्रिज बनेको  सदस्य विन्दुकुमार थापाको भनाइ छ। 
    
उक्त बैठकमा सदस्यहरू चन्द्रबहादुर बुढा, मधु अधिकारी, महेन्द्रबहादुर थकाली, मनकुमारी गुरुङ र मित्रकुमारी सुवेदीले कोरोना सङ्क्रमणको विद्यमान अवस्थामा सर्वसाधारणको स्वास्थ्योपचारलाई पहिलो प्राथमिकतामा राख्दै कृषि, रोजगार, पूर्वाधारलगायतका क्षेत्रको विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याए। 

प्रकाशित मिति: : 2020-06-01 20:44:26

प्रतिकृया दिनुहोस्