वर्षासँगै चलेको हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते भएका छन्।
घाइते हुनेमा स्थानीय बुधावा समुदायको ४५ वर्षीया श्रीमती फुनियाँदेवी, १४ वर्षीया छोरी, ११ र आठ वर्षीय दुई छोरा रहेका छन्।
वडाध्यक्ष नागेश्वर गोइतका अनुसार चारैजनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। 'ती परिवारलाई तत्काल बस्ने, खाने व्यवस्था मिलाउने कार्य भइरहेको छ' उनले भने।
यस्तै वर्षासँगै आज परेको चट्याङ लागेर लहानस्थित रामकुमार उमा स्मारक अस्पतालमा करिब १० लाखभन्दा बढीको क्षति भएको छ।
अस्पतालको छतमा रहेको सिसी क्यामेरा र इन्टरनेट वाइफाइको राउटर जल्नाका साथै चार थान कम्प्युटर, इन्भटर तथा एक्सरे मेसिनमा क्षति पुगेको अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले जानकारी दिए। अस्पतालको प्रशासनिक कार्य प्रभावित भएको उनको भनाइ छ।