क्वारेन्टिनबाट गोठमा राखेपछि ...

दैलेखको भैरवी गाउँपालिकामा भारतबाट आएका व्यक्तिलाई क्वारेन्टिनबाट गोठमा सारिँदा स्थानीय सरकारप्रति प्रश्न चिह्न खडा भएको छ।

 गाउँपालिका–३ स्थित देउती आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएका चार जनामा शनिबार आरडिटी परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई गोठमा सारिएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले जानकारी दिए। 

आरडिटी रिपोर्ट पोजेटिभ आएपछि क्वारेन्टिनबाट अलग गरेर सावधानी अपनाउन र अन्यलाई नसरोस् भनेर तत्कालका लागि नजिकैको गोठमा सारिएको उनको भनाइ छ। 

'तत्काल कुनै वैकल्पिक व्यवस्था नभएकाले सावधानीका लागि गोठ सुरक्षित हुँदा त्यहाँ राखिएको हो' उनले भने। यद्यपि उनीहरुलाई गाउँपालिकाको कार्यालय नजिकै एकजनाको घर भाडामा लिएर व्यवस्थापन गर्न लागिएको उनले बताए। 

भारतबाट आएका सयौँ दाजुभाइलाई क्वारेन्टिनमा राख्दा सबै सामुदायिक भवन भरिभराउ भइसकेको बताउदैं उनले भने, 'बाध्य भएर कोरोना सङ्क्रमण अरूलाई नफैलियोस् भनेर यहाँ राखेका हौँ।' 

गोठमा राखिएको तस्वीरलाई सामाजिक सञ्जालमा राखेर थप पीडा थप्ने काम भइरहेको अध्यक्ष बुढाले भनाइ छ। 'हामीले सक्दो प्रयास गरेकै छौँ। बाहिरबाट आउनेलाई व्यवस्थापनमा हामी लागिरहेकै छौँ' उनले भने।

 सङ्क्रमितहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर उपचारको व्यवस्थापन भइरहेको र पिसिआर परीक्षणका लागि स्वाब सङ्कलनको काम भइरहेको उनले बताए। 

प्रकाशित मिति: : 2020-06-01 09:57:54

प्रतिकृया दिनुहोस्