कालापानीमा अवैध कब्जा गर्न किन भारतले लगायो ५८ वर्ष?

श्याम भट्ट

कञ्चनपुर

युद्व बन्दुकबाट मात्र लडिन्न। भारतले अहिलेसम्म कालापानीका लागि लडिरहेको युद्व पनि यस्तै हो। लिपुलेक उपत्यकामा चीनसँगको तोप र बन्दुकको लडाईमा नराम्रो हार ब्यहोरेको भारतले उतिबेलानै बुझिसकेकेको थियो। लिम्पियाधुरा पूर्वको मनोरम कालापानी क्षेत्र उसका लागि कति महत्वपूर्ण छ भनेर।

चीनसँग थरथर काप्ने भारतको आफ्ना कसै पनि छिमेकीसँग राम्रो ब्यवहार छैन। अगुल्टोले हानेको कुकुरको अवस्थामा ५८ वर्षअघि लिपुलेक उपत्यकामा चीनले छाडेर गएको जवाहरलाल नेहरूको फौज र दिल्लीले एउटा रणनीति बनायो कालापानीसम्मको भू–भाग कब्जा गर्ने तर कसरी?

यो पनि हेर्नुहोस्- भारतले यसरी कब्जा गर्‍यो- कालापानीका तीन नेपाली गाउँ

नेपालमा उतिबेला रहेको राजनीतिक तरलता दिल्लीलाई थाहा थियो। राणा शासन विरुद्ध नेपाली जनताको उद्‌घोष  र अन्त्यको लडाई २००७ सालको प्रजातन्त्र आउँदासम्म उसले राजतन्त्र र प्रजातन्त्रका मुख्य सिपाही र सकुनीहरूलाई बुझिसकेको थियो।

भारतलाई आफ्नो योजना अनुरूप नेपालको पश्चिमी सीमा कब्जा गर्न ५८ वर्ष लागेको छ र यो ५८ वर्षमा नेपालमा नेपालीले कहिल्यै नसोचेका घटना भए। २०३६ बाटै धरमराउन थालेको नेपाली राजनीतिमा २०४६ को परिवर्तन, दरबार हत्याकाण्ड र जनयुद्वका नाममा गरिएको १७ हजार नागरिकको नरसंहार नेपालको ईतिहाँसका उज्यालो दिने नाममा गरिएका अध्यारा परिवर्तन हुन्।  

पछिल्लो परिवर्तनको दुई दसकपछि पनि मुलुकको अवस्था उस्तै छ। कोरोना सन्त्रासमा बेरोजगार भई भारतबाट आउने नेपालीका लागि संघीय सरकारले फोहोर फाल्न किनेका भारतीय टिपर प्रयोग गरी गन्तब्यमा पुर्‍याउँदैछन्।

मानौं उनीहरूलाई गाँउमा ‘डम्प’ गर्न लगिँदैछ। उनैले चुनेका उनका छोटे राजाहरू जसको साईकल चढ्ने हैसियत छैन, उनीहरु ५० लाखदेखि १ करोड सम्मको एयरकण्डिशनयुक्त गाडीमा आफ्ना ‘हनुमान’ सँग हिँडिरहेका छन्। वाह रे परिवर्तन र संघीयता!

५८ वर्षदेखि कालापानी उत्तर मिच्ने सपनामा हिँडेको भारतले लिपुलेकबाट सडक  बनाएपछि नेपाली शासकले फेरि चेत खुलेको जस्तो  पारेका छन्। यी तिनै हुन जसलाई राजनीतिमा आउने वित्तिकै कालापानी थाहा थियो। तर पनि नपाए जस्तो ढोंग गरिरहे झण्डै ६ दशक। यही ढोंगका कारण कालापानी मात्र होइन भारतले कयौं भू–भाग मिचेको छ अहिलेसम्म। ‘चाईनीज फोबिया’ ले ग्रस्त भारत आज पनि नेपाल जस्ता मुलुकका सामान्य नागरिकसँग डराउँछ कालापानीमा।

अहिलेको महाकाली नगरपालिका १ किम्तडी दार्चुलाका स्थानीय भवानी सिंह ठगुन्नाले २०३४ मा सीमा प्रशासन कार्यालयका लागि खुलेको जागीरमा निवेदन दिएपछि अर्को वर्ष आएको नतिजामा पास भए। चार जना मध्ये उनी छनोट भए मुखियामा। २ मुखिया २ पियन दार्चुलाकै छनोट भएका थिए।

२०३४ कात्तिक १४ मा अस्थायी भर्ना भएका उनी लगायत ४ जना र  ३ जना सरूवा भएर केन्द्रबाट आएका गरी जम्मा ७ जना २०३५ असारमा ब्यास तिर लागे सीमा प्रशासन कार्यालय खोल्न। असार ९ उनीहरूको पहिलो बास हुतिमा भयो, दोस्रो बास सुनसेरा र तेस्रो दिन थीँ लेकमा बिताए। जहाँ अहिले भर्खर सेनाको ब्यारेक खडा भएको छ। चौथो दिन  गीता भवन पुगे, जंगल तिर रहेको गीता भवनमा एकजोर बुढा बुढी बस्थे त्यही बास बसेर सात जना पाँचौ दिन लखतरान् भई ब्यासको छांग्रु पुगे।

अर्को दिन छांग्रुका गजेन्द्र सिह बोहराको घरमा भाडामा सीमा प्रशासन कार्यालय स्थापना भयो। स्याङ्जाका जगन्नाथ घिमिरे दार्चुलाका पहिलो सीमा प्रशासन अधिकृतसँगै थिए। ल अब के गर्ने? अब सीमा तिर लागौं भनेर ताजै खम्पा काण्ड भएको तिंकर भञ्ज्याङ लागे  पहिलो पल्ट। तिब्बत सीमा घुमेको केही दिनपछि  कालापानी  तिर पनि पुगे सीमामा विदेशी सेना देखेर सबैको मन दुःखी भयो।

फर्केर आएपछि सीमाको अवस्थाबारे तत्कालीन अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारीदेखि केन्द्रसम्म रिर्पोटिङ भयो। हरेक वर्ष कालापानीमा हुने हरेक गतिविधिको गोप्य रिर्पोटिङ गरिन्थ्यो। ठगुन्नाको समूह त २०३५ मा कालापानी पुगेको थियो तर तत्कालीन सरकारसँग भने सन् १९६२ देखिनै कालापानीमा भारतीय सैनिक बसिरहेको विभिन्न दस्तावेजहरू थिए।

उतिबेला राज्यको पहुँच थिएन सीमामा। न बाटो न अरू कुनै राज्यले दिने सुविधाहरूको।  प्रधानपञ्च  थिए  सोवन सिहं तिंकरी उनकै  पहलमा ब्यासको बाटो बन्न शुरू भयो। राजासँग हरेक वर्ष दर्शन भेट पाउने सोवनले छांग्रबाट कालापानीसम्म पनि बाटो बनाउने रकम निकासा गरेर ल्याए  र बाटो पनि बनाए।  उप प्रधानपञ्च थिए महेन्द्रराम ऐतवाल, उनकै नेतृत्वमा कामका बदलामा खाद्यान्न दिएर खलंगा-छांग्रु र छांग्रु-कालापानीसम्म घोरेटो बाटो पनि बन्यो। छांग्रुबाट तिंकर भञ्ज्याङसम्म पनि यही बेला सजिलो घोरेटो बाटो बनेको थियो।

नेपालमा सीमा प्रशासन खुलेको बेला नेपाली बाटो सहज थिएन। तर २०३८ सालसम्म पुग्दा नेपालले बनाएर पुरा गरेको घोरेटो बाटो धेरै राम्रो र छोटो भएको थियो। बाटो बनेपछि नाकामा प्रहरीसहित ५० देखि ६० जना सरकारी कर्मचारी ब्यासमा ६ महिना बस्न थाले। कर्मचारी वैशाखमा जाने र असोजमा सदरमुकाम फर्किन्थे। शसस्त्र विद्रोह शुरू भएपछि यो क्रम रोकियो। अनि अझ डरलाग्दो अवस्था आयो ब्यास फेरि राज्यबिहिन भयो। भएको बाटो  पनि भत्कियो। भारतका लागि यो अवसर थियो। स्थानीयहरू भारतको बाटोमा भरपर्दा भएको आफ्नो बाटो पनि भत्कियो। कसैको ध्यान गएन नत नेता  न  राज्य कसैले पनि ध्यान दिएनन् बाटो तहसनहस भयो।

बाटो  बिग्रँदा र छांग्रु-तिंकर फेरि राज्यको पहुँचभन्दा बाहिर गए। भारतले आफ्नो बाटो राम्रो बनायो। कालापानी नजिकका नेपाली गाँउ गुञ्जी कुटी र नाभीका  मानिसलाई भारतले अनेकौं सुविधा दिएर भारतीय नागरिकतासम्म दिन भ्यायो। उनीहरु आजको मितिमा आफूलाई नेपाली भन्न रूचाउँदैनन्।

नेपाली नीकृष्ट राजनीतिका कारण एउटा नागरिकलाई दिनुपर्ने सम्पूर्ण सुविधा भारतले दियो। भारतलाई नेपाली शासकको कमजोरी थाहा थियो। ब्यासको राज्य विहिनताको अवस्था ल्याएर भारतले त्यहाँका नेपालीलाई भारतीय बनाई  छाड्यो। राम्रो जागीरको ग्यारेण्टी दियो। ग्याँस सिलिण्डरदेखि चामल तेल र नुनसम्मको ‘सब्सिडि’ को प्रलोभनमा  अनेकौ सुविधा दिएर तीन गाँउका जनतालाई भारतले पहिले लग्यो र  उनीहरूसँगै नेपाली भू-भागमा पनि भारतले कब्जा बढाउँदै लग्यो।

विस्तारै आफ्नो रणनीति अनुसार पहिले त्यहाँका नागरिक र पछि भूमि आफ्नो बनाईसक्दा पनि मुलुकमा कसैले  विरोधसम्म गरेनन्। अहिलेको अवस्थामा आफ्नै भूमि कालापानीमासमेत जान दिँदैनन् उनीहरू। २०५८ सालमा  प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकसँग पनि ब्यास गए ठगुन्ना। ‘कालापानी  पुग्दा भारतीयहरुले थप २ सय मिटर वर तारबार गरिसकेका थिए। सयौं बन्दुक तेर्साएर बसिरहेका थिए  भारतीय सैनिकहरू। सिडिओ साप पछि थिए म एक्लै अगाडि बढेँ’, उनले भने।

‘भए जतिका बन्दुकले आफ्नै भूमिमा भारतीयले मलाई घेरा हाले। सयौं पटक कालापानी पुगेको मलाई यस्तो होला जस्तो लागेको थिएन। मलाई उनीहरुको बन्दुक देखेर कुनै डर लागेन बरू हाँसो उठ्यो। भारतीय सेनाले सोधे किन हाँसेको मैले जवाफ दिए एक बन्दुकले हुने ठाँउमा सयौं बन्दुक लगाउँछौं नहाँसेर म के गरौं?’ उनले भने।

पछाडिबाट सिडिओ साप पुग्नुभयो उहाँले हप्काउनुभयो उनीहरुले माथिको आदेश हो भने। कालापानीभन्दा अघि बढ्न दिएनन्।

‘अहिले शसस्त्र बसेपछि धेरै राम्रो महशुस गरेको छु आखीरीमा बचेको  सीमाको सुरक्षा त हुने भयो। भारतीयले सेनाले अवैध दोहन गर्दै आएको काठ र वन्यजन्तु तस्करी त रोकिने भयो’, उनी खुशी थिए।

यो पनि हेर्नुहोस्

यो हो हाम्रो लिपुलेक, कालापानी र लिम्पियाधुरा

लिपुलेक त्रिदेशीय नाका हाेइन, चीन र नेपालबीचकाे नाका हाे

लिपुलेक, लैनचौर र नांगिएको राष्ट्रवाद

प्रकाशित मिति: : 2020-05-31 09:52:05

प्रतिकृया दिनुहोस्