डडेल्धुराकाे क्वारेन्टाइनमा बसेका ७ वर्षीय बालकको मृत्यु

डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भएको छ। नवदुर्गा गाउँपालिका ३ का ७ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी आमा बुबासँगै भारतको मुम्बईबाट शनिवारमात्र फर्किएर डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए।

बालकको स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान तीन बजेतिर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको डडेल्धुरा अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

ती बालक आमाबुबासँगै शनिबार नै गौरीफन्टा नाका भएर भारतबाट आएका थिए। मुम्बई स्थित एक अस्पतालमा मलेरिया रोगको उपचार गराइरहेका उनी शनिवार डडेल्धुरा पुगेर क्वारेन्टाइनमा बसेका थिए।

अहिले बालकको शव डडेल्धुरा अस्पतालमा राखिएको छ भने उनको स्वाब संकलन गरी कैलाली प्रयोगशालामा पठाइने अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2020-05-31 09:39:03

प्रतिकृया दिनुहोस्