म आँगनको डिलबाट उँधो फर्केर बसेँ र सडकका गतिविधिहरु एककोहोरो नियालिरहेकी थिएँ। घरीघरी गीतहरु गुन्गुनाउँदै रमाइलो मानेर हेरिरहेकी थिएँ पछाडिबाट कसैले आँखा छोपिदियो। मैले ती हातहरु हटाउन खोज्दा थाहा पाएँ ती हातहरू पुरुषका थिए। मैले हात हटाउन भनेँ। तर नचिनेसम्म हात नहटाउने रे भनेर सुरुचीले भनी।
मैले निकै जनाको नाम लिँदा पनि हात नहटाएपछि बेस्सरी चिमोटिदिएँ। ऐय्या भन्दै उसले हात हटायो। अतित पो रहेछ। अतित सुरुचीको काकाको छोरो हो। उसको घर इलाम हो। कहिलेकाहिँ सुरुचीको घरमा आउँथ्यो। मसँग सामान्य बोलचाल हुन्थ्यो। मलाई अलिअलि रिस उठ्यो, अप्ठ्यारो पनि लाग्यो सामान्य घुलमिल भएको मान्छेले आँखा छोपिदिँदा।
अतित वि. एस्सी प्रथम बर्षमा पढ्नको लागि आएको रे। उसको घर गाउँबाट इलाम बहुमुखी क्याम्पस टाढा पर्छ रे। धाउन गाह्रो हुने भएर यहाँ आएको रे। आएकै दिन मसँग अब छिमेकी हुन आएँ है सँगै कलेज आउने जाने गर्नुपर्छ भन्दै निकैबेरसम्म गफ गर्यो। भोलिपल्टदेखि सुरुची, म र अतित सँगै कलेज जान थाल्यौं। सुरुची र म बाह्रमा पढ्थ्यौं। हामी तीन जना कतिबेलै छुट्दैनथ्यौं। कलेजमा हाम्रो छुट्टाछुट्टै भवनमा पढाइ हुन्थ्यो। अतितले मलाई एकछिन देखेन भने घन्टौं बितेजस्तो लाग्छ भन्थ्यो। मलाई पनि त्यस्तै लाग्थ्यो। हामीहरू प्रत्येक घण्टीमा हेराहेर गर्थ्यौं।
शुक्रबारको दिन अतित इलाम गयो। किन किन मलाई केके हराएजस्तो, एक्लो भएजस्तो महसुस भयो। अतित एक हप्तापछि घरबाट फर्किन लाग्दा प्रकृतिले आफूलाई बिर्सिसकी होला जस्तो लागेर कुनै काम बिना हत्तार-हत्तार गर्दै आएको थियो। अतित मलाई एककोहोरो आँखामा नियाल्थ्यो, मलाई अप्ठ्यारो लाग्थ्यो। ऊ दिनमा धेरै पटक मेरो घरमा आईरहन्थ्यो विभिन्न बहानामा। मेरो घरमा ऊ मलाई नजानिँदो पाराले खोज्थ्यो। उसका आँखाहरु आतुर हुन्थे। म कहिलेकाहिँ उसलाई लुकेर हेर्थे। मलाई देख्यो भने ऊ मुसुक्क मुस्कुराउँथ्यो देखेन भने निराश हुन्थ्यो। म पनि उसलाई एकदिन देखिनँ भने धेरै दिनदेखि भेट नभएजस्तो, बिरानो जस्तो लाग्थ्यो।
नयाँ वर्षको अवसर पारेर म, अतित र सुरुची फिल्म हेर्न गयौं। फिल्ममा हिरोले हिरोइनलाई निकैबेर एककोहोरो आँखामा हेरेको र हिरोईन लजाएको त्यसपछि बिस्तारै उनीहरुबीच गहिरो प्रेमसम्बन्ध स्थापित भएको दृश्य आउँदा म झसङ्ग भएँ किनकि अतित पनि मलाई त्यसरी नै नियाल्थ्यो। हलबाट निस्किएपछि अतितले मेरो आँखामा हेरिरह्यो। मैले ‘के हेरेको?’ भने। ‘फिल्म हेरेपछि त थाहा पायौं होलानी कसैले कसैको आँखामा किन गहिरिएर हेर्छ?’ म केही बोलिनँ।
प्रेम गरेर गरिने कुरा होइन भने जस्तै हामीबीच कहिलेदेखि प्रेमसम्बन्ध स्थापित भयो थाहै भएन। हामी एकअर्कालाई सरसहयोग गथ्यौँ। अब हाम्रो प्रेममाथि जस्तोसुकै शक्ति आए पनि प्रेमले विजय प्राप्त गर्ने निश्चित थियो। ‘अतित अब तिमी मात्र मेरो हौ कुनै कारणवश तिमी अपाङ्ग भयौं भने पनि म तिमीलाई सहजै स्वीकार्छु।’ ‘प्रकृति तिमी पनि मेरो जीन्दगीको पहिलो र अन्तिम प्रेम हौ। मैले निर्णय गरिसकेँ अब तिमी भएनौ भने म आफ्नो जीन्दगी अरु कसैलाई समर्पित गर्दिनँ।’
युवा र युवतीको प्रेममाथि सधैँ गलत नजर लगाउने यो समाजले पनि हाम्रो प्रेममाथि औँला उठाउन पाएन किनकि अतित र मैले उच्च अङ्क ल्याएर कलेज टप गर्यौँ। अतितलाई साइन्स इन्जिनियरिङ गर्नको लागि कोरिया जाने अवसर मिल्यो। म बि. एड पढ्नको लागि काठमाडौं जाने भएँ। हामी दुवैलाई एउटा सुनौलो अवसर मिले पनि केही समय छुट्टिनुपर्ने कुराले चिन्तित तुल्यायो। ‘अतित विदेशको रमझमले भुलिएर तिमीले मलाई चटक्कै बिर्सने त होइनौं?’ ‘विश्वास गर प्रकृति म यत्रो वर्ष हाँसखेल गरेको जन्मभूमी, आमा र तिमीलाई गुमाएर छोटो समयमा त्यही नयाँ कृत्रिम ठाउँमा अल्मलिने छैन। त्यो विरानो ठाउँमा तिम्रो यादले पक्कै छट्पटिन्छु होला। बरू हाम्रो नेपाली समाजको स्थिति तिमीलाई थाहै छ। तिमीले दबाबमा परेर बिवाह गर्नुपर्ने स्थिति आउनसक्छ। मेरो हातबाट एकचिम्टी सिन्दुर मन्दिरमा भगवानलाई साक्षी राखेर उपहार दिएर जान्छु। ज्यादै अप्ठ्यारो परिस्थिति आएमा तिमीलाई ती तस्विरहरूले बचाउनेछ।’ ‘मैले पनि अप्ठ्यारो परिस्थितिमा एक्लै बाँच्न सिक्नुपर्छ अतित। के तिमीलाई मेरो विश्वास नलागेर सिन्दुर उपहार दिएर जाने तिमी?’ “त्यसो होइन ल भैगो तिमीप्रति मेरो पूर्ण विश्वास छ। मलाई उच्च अङ्क ल्याएर यो अवसर प्रदान गर्नु तिम्रै आर्शिवाद हो। तिमी नभएकी भए पक्कै यो अवसर मिल्ने थिएन।’ “हाँसेर जाऊ अतित हाम्रो प्रेम त्यति कमजोर छैन कि एकैछिनको विछोडमा छुटिजाने।’
अतित कोरिया गयो। म काठमाडौँमा डेरा गरेर पढ्न थालेँ। कहिल्यै काठमाडौँ नआएकी म त्यसमाथि बुवाआमा र अतितको साथबाट भर्खर छुटेकी। एक्लो, बिरानो र न्यास्रो लाग्थ्यो। सबै अपरिचित र नौला मान्छेहरुको भीडमा एक जना वसन्त नाम गरेको केटो इलामको रहेछ। मलाई वसन्तचाहिँ किन किन नजिकैको मान्छे जस्तो लाग्न थाल्यो। म नजानेका, नबुझेका कुराहरु वसन्तसँग सोधखोज गर्थे। ऊ पनि सकेसम्म मलाई सबैकुरा बताईदिन्थ्यो। काठमाडौँको चिसो मलाई फापेन। म बिरामी भईरहन्थेँ। बिरानो ठाउँमा कसलाई खबर गर्ने उही वसन्त आएर तातोपानी दिन्थ्यो र हस्पिटल लैजान्थ्यो।
एकदिन म घुम्दाघुम्दै काठमाडौँको व्यस्त सडकमा बाटो अल्मल्लिएँ। रात परिसकेको थियो। प्रहरीको सहारा लिँदा प्रहरीबाटै असुरक्षित हुने डरले मैले वसन्तलाई फोन गरेँ। बल्लतल्ल वसन्तसँग भेट भयो। निकै रात परिसकेको थियो। हामी म बसेको कोठामा पुग्दा रातको एघार बजिसकेको थियो। गेटमा चाबी लागिसकेको थियो। त्यत्ति राति घरबेटीलाई चाबी खोल्न लगाउँ भने चरित्रहीन हुने डरले म आतिएँ र त्यही बसेर रून थालेँ। वसन्तले सम्झाउँदै भन्यो। ‘प्रकृति हिँड मेरो कोठामा तिमी त्यहाँ सुरक्षित रात बिताउन सक्छौँ।’ ‘अँह! जान्नँ यो रात म यही बिताउँछु।’ ‘प्रकृति तिमीलाई विश्वास लागेन? तिमी यो सडकमा सुरक्षित रहन्छौ? फेरि तिमी रातसँग कति डराउँछौ भन्ने कुरा मलाई राम्ररी थाहा छ।’ ‘ल हिँड न त जाउँ।’
हामीले बाहिरै खाना खायौं। वसन्तको कोठामा एउटा मात्र खाट थियो। उसले खाटमा ओच्छ्याएको गलैँचा झिक्यो र पातलो— पातलो ओच्छ्यानमा सुत्न भन्यो। उसले भुईँमा गलैंचा ओच्छ्यायो र झोलाबाट एउटा खास्टो निकालेर ओढेर सुत्यो।
भोलिपल्ट छ बजे म ब्यूँझिएपछि वसन्तले भन्यो— ‘प्रकृति तिमी हिजो निकै थाकेकी रहिछौ। कति चाँडै निदायौ। म त सिमेन्टको चिसोले निदाउन सकिनँ। फेरि तिम्रो फोनमा रिङ बजिरह्यो मलाई झर्को लगायो। मैले दुई तीन पल्ट प्रकृति प्रकृति भनेँ तर तिमी स्वाँस्वाँ निदाईरह्यौ। कोल्टे फर्किने हुँदा तिम्रो मोवाईल मेरो छातीमा खस्यो। यसो हेरेँ ‘कुसुम’ भनेर सेभ गरिएको नम्बर थियो। अति भएपछि फोन उठाएँ केटो बोल्यो। ‘प्रकृति अहिले यहाँ छैन भनेँ’ तुरुन्त फोन राख्यो। त्यहाँ देखिमात्र रिङ बज्न छोड्यो।’ ‘ए ऊ मेरो साथी हो, अहिले विदेश गएको छ।’ अतितको यादले सुरुसुरुमा म निकै भौतारिएँ। अचानक वसन्तसँगको सामीप्यताले अतितलाई भुल्दै गएछु। ऊ त्यति फोन गर्दैनथ्यो। दुई तीन महिनामा एकपल्ट औपचारिक गफ मात्र हुन्थ्यो।
शनिबारको दिन मैले नुहाईधुवाई सकेँ र कोठाको ढोका लगाएर ऐना अगाडि राखेर श्रृङ्गार गर्दै थिएँ। मलाई कहिलेकाहिँ बिदाको दिनमा श्रृङ्गारिएर बस्न मन लाग्थ्यो। कसैले ढोका ढकढक्यायो मैले पर्दा उचालेर चिहाएँ। वसन्त रहेछ। हत्तार— हत्तार ऐना लुकाएँ। श्रृङ्गारका सामान लुकाएर ढोका खोलेँ। वसन्त सधैँ भन्दा अलिक गम्भीर देखिन्थ्यो। ऊ खाटमा थचक्क बस्यो र भन्यो, प्रकृति अब त मेरो स्नाकोत्तर तह पनि सकियो। अर्को हप्ता ईलाम फर्कन्छु। तिम्रो बि.एड सकिन अझै एक वर्ष बाँकी छ। अब तिमीले हरेक कुराको जिम्मेवारी लिएर एक्लै बाँच्न सिक्नुपर्छ। अब यो सहरमा तिमीलाई आपत् पर्ने बित्तिकै वसन्त कुदेर आउन सक्दैन। हरेक कठिनाईहरु र अप्ठ्याराहरु तिमी आफैँले समाधान गर्नुपर्छ। अर्को कुरा यो सहरमा तिमी जोसुकैलाई वसन्तलाई जति विश्वास पनि नगर। तिम्रो त्यो केटाकेटीपन र जिद्धि स्वभाव त्यागेर व्यवहारिक भएर बाँच्न सिक। प्रकृति तिमीमा मैले बैँससंगै आउने चञ्चल र उत्ताउलोपनमा मातिएर क्षणिक आनन्द पाउने चाहाना कहिल्यै देखिनँ। यो स्वभाव बचाईराख। मलाई ईलाममा बैंङ्कमा काम मिल्ला जस्तो छ। सायद उतै रहन्छु होला। यति भनेर वसन्त हत्तार भएको बताएर मेरो कोठाबाट निस्कियो।
वसन्तले भनेका कुराहरु दिनभरी त मलाई वास्तै भएन तर जब राति ओच्छ्यानमा पल्टिएँ। सोच्न थालेँ, म हराएको बेला कति इमान्दारीताकासाथ आफ्नो कोठामा लग्यो। बिरानो ठाउँमा एउटा जवान युवकसँग एउटै कोठामा सुरक्षित रात बिताएँ। सधैँ-सधैँ मेरो कोठामा आईरहने वसन्त नआउँदा म कसरी बसूँ? म बिरामी भएर हस्पिटल रहँदा कति रात वसन्तले अनिँदो बसेर कुरेको छ। मेरा मैलिएका कपडाहरु धोईदिन्थ्यो र फेर्ने कपडाहरू कोठाबाट ल्याईदिन्थ्यो। कति धेरै विश्वास गरेँ मैले वसन्तमाथि। उसले कहिल्यै विश्वासघात गरेन। रातको बाह्र बजिसक्यो म जति-जति वसन्तसँग छुट्ने कुरा सम्झन्छु मेरा आँखा उति रसाईरहे। वसन्तको मायाले अतितलाई भुलाईदियो। भावनाको प्रेम सपनाजस्तै हुँदोरहेछ वास्तविक प्रेम त व्यवहारमा हुँदोरहेछ।
निद्रा पटक्कै आएन। रातको साढे एक बजेको थियो। वसन्तको नम्बरबाट फोन आयो। म छक्क परेँ। जोसँगको अनेक कल्पनाले निदाउन सकेकी थिईन उसकै फोन आउँदा एक रिङमै उठाइदिएँ। हत्तपत्त आँसु पुछेँ र सोधेँ। ‘वसन्त किन फोन गरेको?’ यति भनिसक्दा मैले मन थाम्न सकिन। भक्कान्निएर रुन थालेँ। वसन्तले भन्यो, ‘प्रकृति किन रोएकी, यति रातिसम्म निदाएकै रहिनछौ कि बिरामी छौ?’ ‘होईन मलाई ठिकै छ तिमी ईलाम जाने कुराले नरमाईलो लाग्यो।’ ‘प्रकृति म तिमीलाई एउटा कुरा भन्छु, पहिला रून छोड अनि मात्र।’ ‘ल आँसु पुछेँ छिटो भन न।’ ‘प्रकृति, म तिमीलाई प्रेम गर्छु भन्ने कुरा त छुट्ने बेलामा पो चाल पाएँ। मैले तिमीलाई प्रेम गर्छु भनेर कहिल्यै भनिनँ र एकदिन तिमीसँग प्रेम प्रस्ताव राख्छु भन्ने सोचेर पनि तिम्रो पछि लागेको थिईन। जब तिमीदेखि छुटेर जाँदैछु भन्ने सोचेपछि पो थाहा पाएँ म तिमीलाई साँच्चै चोखो र पवित्र प्रेम गर्दोरहेछु। रातभर निद्रा आएन। मैले गलत सोचेको भए मलाई माफ गर प्रकृति।’ ‘तिमी गलत छैनौँ वसन्त। तिमी र ममा एउटै तरङ्ग तरङ्गीत भएछ आज। म पनि तिमीसँग छुट्ने कुरा सम्झेर निदाउन सकेकी थिईनँ।’ ‘प्रकृति म तिमीलाई प्रेम गर्छु, यसमा मेरो कुनै स्वार्थ छैन। यदि स्वार्थ हुँदो हो त स्वार्थ पूरा गर्ने कैँयौं अवसरहरु आए तर म अवसरवादी होईन स्वार्थ पूरा गर्नलाई प्रेम गर्ने।’
वसन्तलाई इलाममा घर छेउमै रहेको बैङ्कमा जागिर मिल्यो। मसँग फोनमा सम्पर्क भईरहन्थ्यो। कहिलेकाहिँ अफिसको कामले ऊ काठमाडौं आउँदा भेट हुन्थ्यो। एकदिन उसले इलामबाट फोन गर्यो। ‘प्रकृति तिमी परीक्षा सकिने बित्तिकै इलाम आउने मानसिकता बनाउँदै गर। यहाँको लालीमा उच्च माविमा दरबन्दी खुलेको छ। अट्ठाईस गतेसम्म छ म्याद। आज सोह्र गते भईसक्यो। तिम्रो परीक्षा बाईस गते सकिन्छ होईन र?’ ‘हो बाईस गते सकिन्छ म घरमा पनि सल्लाह गर्छु। के हो वसन्त तिमी त अहिले नै चाँजोपाँजो मिलाउन थाल्यौ नि?’ ‘मिलाउनु परेन त? अब अर्को महिना त विवाह पो गर्नुपर्छ नि? बुवाआमासँग सल्लाह गर्दै गर। मैले त सबै भनिसकेँ तिम्रो बारेमा खुसी हुनुहुन्छ आमाहरू।’ ‘मलाई त भन्नै अप्ठ्यारो पनि लाग्छ डर पनि लाग्छ, तिमी आफैँ भनिदेउन है।’ ‘प्रकृति हामीले के गल्ती गरेका छौँ र डराउनु। तिमीले मनाउन सक्नुपर्छ बुवाआमालाई। हामीले बैँसको उन्मादमा मातिएर विवाह गर्न लागेका होईनौं, हामी दुबै आर्थिक, शारीरिक हरेक कुराले परिपक्क बनेर, सोचेर विवाह गर्न लागेका छौँ। हामीले अशिक्षा, रुढिवादी र कुरीतिलाई मास्न एउटा उदाहरण पो बन्न सक्नुपर्छ त। विवाह खेल होईन, रमाईलो लागिन्जेल खेल्ने र थकाई लागेपछि पारपाचुके गर्ने।’ ‘ल ल वसन्त धेरै भाषण नछाँट मलाई सबै कुरा थाहा छ ठट्टा पो गरेकी त?’
मैले बिस्तारै सबै कुरा बताएपछि बुवाआमा पनि खुसी हुनुभयो। अर्को खुसीको कुरा मलाई इलाममै जागिर मिल्यो। दुवै पक्षका परिवारको राजीखुसीमा वसन्त र मेरो विवाह सम्पन्न भयो। विवाहपछि हामी एक हप्ताका लागि पोखरा घुम्न गयौँ। त्यहाँ हामीले जीवनकै अविस्मरणीय क्षण बितायौँ। इलाम फर्किएपछि हामी आ-आफ्ना पेशामा व्यस्त भयौँ। वसन्त अफिसबाट चाँडै घर आईपुग्थ्यो र भन्थ्यो, ‘प्रकृति मलाई त कतिबेला अफिस बिदा हुन्छ र तिमीसँग भेटूँ जस्तो लाग्छ। तिमी मेरो लागि प्याला भयौं। तिम्रो माया पिएर नै बाँचे जस्तो लाग्छ। संसारको सबैभन्दा सुन्दर चिज तिमी नै हौ जस्तो लाग्छ। तिमीलाई कसैले खोसेर लगिदेला कि जस्तो लागेर एकछिन आँखाभन्दा टाढा राख्न सक्दिनँ। मलाई इष्र्यालु नभन ल।’ ‘मलाई पनि तिमीलाई देखेपछि दिनभरीको थकान नै मेटिन्छ तिमी त औषधि हौ कि क्या हो,’ हाँस्यौं दुवैजना।
शनिबारको दिन दिउँसो हामी दुवैजना नास्ता बनाउँदै थियौँ फोन आयो। मैले फोन रिसिभ गरेँ। नचिनेको स्वर थियो। नमस्कार प्रकृति भन्यो। ‘नमस्कार, तर मैले चिनिन नि’ ‘म अतित।’ मैले एक्कासी ‘अतित मलाई माफ गर’ भने। ‘तिमीले के गल्ती गर्यौ र माफ दिनू मैले,’ भन्यो उसले। मेरो मुटुको धड्कन बढिरहेको थियो। ‘मैले विवाह गरेँ, एक वर्ष हुन लाग्यो।’ उसले भन्यो, ‘ठीकै छ नि त। तिमीलाई कसैले जबरजस्ती सिन्दुर र पोते पहिरिदिएको भए जीन्दगीभरी पासो बन्थ्यो र यो प्रथाको अन्त्य गर्न जस्तोसुकै कदम चालेर भए पनि यो समाजलाई एउटा निष्कर्ष दिनुपथ्र्यो मैले। तर तिम्रै खुसीमा पहिरिएको उपहार सुहाउँछ तिमीलाई। आफ्नो खुसीसाथ जीवनसाथीले दिएको उपहार हरेक नारीले लोग्नेको मृत्युपछि पनि पहिरिन पाउनुपर्छ यदि त्यो पासो बन्दैन भनेँ। ठीकै छ तिमी खुसी रहिछौ, खुसी लाग्यो। समयले मानिसलाई बदल्छ। समयलाई मानिसले बदल्न खोज्यो भने जीवन तहसनहस बन्छ। बधाई छ तिमीलाई, मलाई खुसी लाग्यो।’ ‘ल ल अतित पढाइ पूरा गरेर आएछौं बधाई छ बेलाबेलामा सम्पर्क गर्दै गर।’
वसन्तले कसले फोन गरेको प्रकृति भनेर सोध्यो। मैले अतित र मेरो पहिलाको सम्बन्ध सबै बताईदिएँ। ऊ भावुक भएर सुनिरह्यो। त्यसपछिका दिनहरुमा अतितले कहिलेकाहिँ फोन गथ्र्यो। वसन्तले अलिक अप्ठ्यारो महसुस गरेजस्तो लागेकाले म वसन्तले थाहा नपाउने गरी फोन उठाएर बोल्थेँ। किन किन वसन्त निकै भावुक बन्न थालेको थियो। अफिसबाट पनि ऊ अलिक ढिलो आउन थालेको थियो।
भोलिपल्टदेखि परीक्षा सुरु हुने भएकाले आईतबार भए पनि मेरो स्कूल बिदा थियो। म घरैमा वसन्तको लागि स्वेटर बुनेर बसेकी थिएँ। अतित पो आईपुगेछ। बढिबाको घर नगएको धेरै भयो, भेटघाटको लागि हिँडेको। तिम्रो घर बाटैमा छ भन्थ्यौं अनि सोध्दै आईपुगेको भन्यो। मैले सुरूचीसँग भेट भयो भने सम्झना सुनाईदिनु है भने। उसले मलाई कोरियादेखि एउटा घडी उपहार ल्याईदिएको रहेछ। खै हातैमा लगाईदिन्छु भन्यो र यसो हातमात्र के समातेको थियो वसन्त टुप्लुक्क आईपुग्यो। ऊ केही नबोली तुरुन्त बाहिरियो। मैले अतितलाई चिया खाएर जाऊ भने, हत्तार छ भन्दै हिँडिहाल्यो। एकछिनपछि वसन्त आयो र त्यो को हो भन्यो। मैले अतित भनें। मैले पो डिस्टप गरेँछु म आउने बित्तिकै छुट्नुपर्यो तिमीहरु भन्यो। मेरो मन साह्रै दुख्यो। वसन्तको शङ्का बढेपछि मैले अतितको फोन नं १२५ भनेर सेभ गरेँ। वसन्तले थाहा पाएछ। विद्यालयको तनावले म एककोहोरो टोलाएर बसेकी थिएँ। वसन्त आएर यसो हेर्यो र भन्यो। ‘प्रकृति अतितको साह्रै याद आयो हो? कि आज १२५ मा सम्पर्क हुन सकेन?’ वसन्तले त्यसो भन्दा मलाई साह्रै नरमाईलो लाग्यो। उसले फेरि भन्यो— ‘प्रकृति तिमीले त अतितसँग गरिएका वाचाहरु मसँग नामसारी गरेछौ जग्गाजस्तै। अतितलाई भुल्नको लागि मलाई प्रयोग गर्नुसम्म गर्यौ अचानो जस्तो तिमी खुकुरी बनेर। मलाई थाहा छ प्रकृति प्रेम त प्राकृतिक हुन्छ। जहाँ हरेक क्षण, शर्त, वाचा र कसमहरु आफैं उब्जन्छन् तर तिमीले त एकपल्ट गरिएका वाचा, बन्धनहरु पुनः ममाथि कृत्रिम रुपले प्रयोग गरेर मलाई मूर्ख बनायौं। तिमी मसँग जीवन बाँच्छौ र अतितलाई अमर राख्छौ। यो कस्तो खेल हो। यदि तिमीले वाचा, बन्धन तोड्दिन थियौ भने विवाह गरेर प्रेम गर्नुपथ्र्यो तर पटक पटक प्रेम गर्दै विवाह होईन। अब मलाई मूर्ख बन्नु छैन।’ ‘वसन्त समयले उमेर बद्लिन्छ र उमेरले विचार बदल्छ। अब मसँग अतितप्रति त्यस्तो कुनै भावना छैन। उसँग बाँचुन्जेल र मरेपछि पनि सम्पर्कविहिन रहन सक्छु तर तिमीलाई एकैछिन आँखादेखि टाढा राख्न सक्दिन बाँचुन्जेल र मरेपछि पनि। तिमीसँगको प्रेमलाई अब उमेर र समयले प्रभाव पार्दैन। कृपया अबदेखि मलाई गलत नसोच।’ म अझै केही भन्न खोज्दैथेँ ऊ मेरो कुरै नसुनी बाहिरियो।
वसन्त हरेक प्रसंगमा अतितको कुरा निकालेर आफूलाई धिक्कार्दै भन्थ्यो— ‘मैले त तिमीलाई संसारमा कसैले दिन नसक्ने अथाहा प्रेम गरेँ भन्ठान्थेँ तर आज आफूलाई रित्तिएको आभाष भैरहेको छ। हिजो जति जति प्रेममा हराउँथेँ, आफूलाई सम्पूर्ण भएको आभाष हुन्थ्यो तर प्रेम गरेर रित्तिएछु म।’
छोटो समयमै वसन्तको व्यवहारमा पूरै परिवर्तन आयो। ऊ रातको एघार/ बाह्र बजेतिर घर आउँथ्यो। खाना खान कुरेर बस्थेँ, बाहिरै खाना खाएर आएँ भन्थ्यो। मलाई खान मन नलागेर कति पटक भोकै सुतेँ। उसलाई म ओच्छ्यानमा कुरिरहेकी हुन्थेँ। ऊ टि. भी कोठामा टि. भी हेर्दाहेर्दै ढोका लगाएर त्यही निदाउँथ्यो। उसले रक्सी खाएर आउँछ कि भनेर एकदिन अँगालो हालेर नजानिँदो पारामा विचार गरेँ तर उसले रक्सी खाएको थिएन। उसले मलाई अँगालोबाट हुत्याएर ढोका लगाएर एक्लै सुत्यो। सासू ससुरा पनि बुहारीले गर्दा छोरो बिग्रियो भनेर गाउँभरी कुरा काट्दै हिड्न थालेका थिए। वसन्तलाई कतिपटक सम्झाउन प्रयास गरेँ तर उसले मलाई केही भन्ने समय नै दिँदैनथ्यो। म मानसिक द्वन्द्वले आहत भएकी थिएँ। उसलाई पनि म जस्तै देख्थेँ र माया लाग्थ्यो।
एकरात वसन्त घर आएन। भोलिपल्ट बिहान डिभोर्सको लागि लेखिएको पत्रमा हस्ताक्षर गर्न भन्दै पेपर लिएर आयो। ममाथि भुँइचालो गयो। त्यही ढल्छु कि जस्तो भयो तर आफू कमजोर र निरीह भएर उसको इच्छा विपरीत उसँग बस्न मन लागेन। केही नभएजस्तो गरेर तुरून्त हस्ताक्षर गरिदिएँ।
मलाई माइत जान मन लागेन। आफैँले रोजेको केटोसँग विवाह गरेकी मैले कसरी माइत जाने र? मैले सुरूचीलाई फोन गरेँ म आउँदैछु भनेर। उसको काठमाडौँमा विवाह भएको थियो। त्यहाँ पुगेर सुरूचीलाई सबैकुरा बताएँ। उसले श्रीमान्लाई भनेर त्यहीको एउटा सि. एम. ए कलेजको होस्टलमा काम लगाईदिई। म बिहान बेलुका होस्टलमा काम गर्दै दिउँसो बोर्डिङ पढाएर जीवन गुजारा गर्न थालेँ।
वसन्तबाट छुट्टिएको एक महिना नबित्दै मैले थाहा पाएँ मेरो पेटमा वसन्त र मेरो नासो हुर्किदैछ भनेर। हुनत वसन्तसँग हुँदै मेरो महिनावारी रोकिएको थियो। तर ऊ मसँग रिसाएको कारण उसलाई भनेकै थिईनँ। फेरि गर्भ रहेको हो कि होईन भनेर यहाँ आएर हस्पिटलको जाँचपछिमात्र प्रष्ट हुँदा मेरो खुसीको सीमा रहेन। वसन्तसँग डिभोर्स भए पनि यो कुरा वसन्तले सुन्यो भने म जस्तै खुसी हुन्छ होला। यो कुरा वसन्तलाई सुनाउनैपर्छ भन्ने निर्णय गरेर वसन्तलाई फोन गरेँ। मेरो नम्बरबाट फोन गर्दा उसले नउठाएपछि बाहिरबाट फोन गरेर सबैकुरा सुनाएँ। तर ऊ मैले सोचेजस्तो खुसी भएन। तिमीप्रति मेरो कुनै विश्वास छैन। फेरि कसको नासो ममाथि आरोप लगाउँदैछौ। जे होस् त्यो बच्चा मेरो होईन र म कुनै हालतमा स्वीकार्ने छैन। यहाँ भन्दा बढी बोल्ने फुर्सद मलाई छैन। भन्दै उसले फोन राखिदियो। मलाई दुःख लागेन। किनकि उसले ज-जसलाई देखाएर जति दोष लगाए पनि यो नासो वसन्तकै हो भन्नेकुरा त मलाई मात्र थाहा थियो। त्यो निर्दोष बच्चाको कुनै गल्ती नहुने भएको कारण जस्तोसुकै परिस्थिति भए पनि त्यो रगतको डल्लोलाई मानवको रुप दिएर जन्म दिने निर्णय गरेँ।
***
मेरी आमा प्रकृतिले लेख्नुभएको यो कथा पढेर म ढुक्क भएँ। मलाई याद छ म सानै छँदा अरूका बुवाहरू छोरी लिन स्कूल आउँदा मेरी चाहिँ सधैँ आमामात्र आउनुहुन्थ्यो। म आमालाई भरे मलाई लिन बुवालाई पठाईदिनु है भन्थेँ तर भरे पनि आमा आउँदा झगडा गरेर घरै जान नमानेपछि आमाले बुवालाई दराजमा लुकाएकी छु हिँड म देखाईदिन्छु भनेर घर ल्याउनुहुन्थ्यो। घर आएपछि म खेल्नमै व्यस्त हुन्थेँ। जब रात पथ्र्यो म आमालाई दराज खोलिदिनु भनेर झगडा गर्दागर्दै निदाउँथेँ। मैले त्यस बेला नपाएको बुवा अब कसैले म तिम्रो बुवा हुँ भन्दा स्वीकार्दिनँ। छोरी भन्न त्यसै कहाँ पाईन्छ र? जती-जती ठूली हुँदै गएँ मैले बुवा खोज्न छाडिसकेकी थिएँ। मलाई आमाले त्यो दराज खोलेर कहिल्यै देखाउनु भएन र बुवाको बारेमा कहिल्यै भन्नु भएन।
आज आमाको अफिस लाग्यो। मेरो विद्यालय विदा भयो। ओच्छ्यान मिलाउने क्रममा सिरानीमुनी एउटा चावी देखे। किन किन त्यो चावी दराजकै हो जस्तै लाग्यो र मैले दराज खोलेँ। त्यहाँ वसन्त र प्रकृति लेखिएको पोखराको फेवातालमा खिचिएको ठूलो फ्रेममा फोटो थियो, सिन्दुरको बट्टा र पोते थियो अनि एउटा पहेँलो राम्रो घडी थियो र यो कथाको डायरी थियो। मैले दराज खोलेर हेरेको कुरा आमालाई सुनाईनँ। म छक्क परेँ आमाले कति धेरै संघर्ष गर्नुभएको रहेछ। अहिले काठमाडौंमा घर बनाउँदै छौँ यसमा आमाको परिश्रमको मूल्य थाहा पाएँ आज।
चार बजे छुट्टीको घण्टी लागेपछि मलाई प्रिन्सीपल सरले बोलाएर एउटा निमन्त्रणा पत्र दिनुभयो र भन्नुभयो, ‘लतिका, भोलि यो स्कूलमा गरिब, असहाय, टुहुरा र एकल महिलाका लागि राजदूत अतित थापा र नेपाल राष्ट्र बैंकका मेनेजर वसन्त पोख्रेलले खाद्यान्न, नगद र लत्ता कपडाहरु उपलब्ध गराउने भएका छन्। तिम्री आमाको नाम पनि हामीले समावेश गराएका छौँ। भोलि आमालाई लिएर आउनु है।’
वसन्त र अतित को हुन्? मैले राम्ररी चिनिसकेकी थिएँ तर नचिनेको वहाना गर्दै आमालाई कार्यक्रमा उपस्थितिको लागि लेखिएको पत्र दिएँ र आमाको अनुहार पढेँ। आमाको अनुहारमा न त खुसी देखिन्थ्यो न त पश्चाताप केही परिवर्तन आएन। मैले आमासँग भने, ‘आमा, हामी असहाय छैनौँ, टुहुरा पनि होईनौँ। हामी दुई जना भएपछि तपाई एकल महिला पनि त होईन। बरू हामीले पाएका ती चिजहरू मेरो साथी खुसनलाई दिऊँ। उसकी आमा मरेपछि उसले सौतेनी आमाको हातबाट रातदिन कुटाई खान्थ्यो। अहिले ऊ एउटा होटलमा बस्छ र स्कुल आउँछ। उसँग लेख्नलाई कापी कलम हुँदैन। सायद उसको नाम कसैले दिएन होला,’ आमाले मेरो कुरा स्वीकार्नु भयो।
आमा र म विद्यालय पुग्दा कार्यक्रम सुरू भइसकेको थियो। अतितको साथमा उसकी श्रीमती र छोरो थिए। वसन्त एक्लै थियो। खाद्यान्न, नगद र लत्ता कपडा वितरण भइसकेपछि केही ठूलावडा र बुज्रुकहरू वसन्त र अतितको यो कार्यको प्रशंसा गर्दै भाषण गर्ने क्रम चलिरहेको थियो। मैले पनि कार्यक्रम सञ्चालकलाई अलिकति बोल्ने समय मागेँ। मलाई अगाडि सरेर बोल्न पटक्कै डर लाग्दैनथ्यो। सानैदेखि कविता र वक्तृत्वकला प्रतियोगितामा भाग लिन्थेँ। आमाले सधैँ प्रेरित गर्नुहुन्थ्यो। मैले ती हामीले पाएका सामानहरू खुसनलाई दिनुपर्ने कारणसहित प्रष्ट पारिदिएँ र आमाको हातबाट खुसनलाई हामीले पाएका नगद र जिन्सीहरू हस्तान्तरण गराएँ। त्यस बखत मैले आमाको अनुहार पढेँ। आमा न त राजदूतकी श्रीमती हुन नपाएकोमा पश्चाताप थियो न त मेनेजरकी श्रीमती। न त त्यहाँ अतित र वसन्तले चिनेका थिए आमालाई।
मेरो चलाखी, प्रतिभा र क्षमता देखेर सबै जना छक्क परे। अतितले नजिकै बोलायो र नाम र कक्षा सोध्यो। उसले हौसला स्वरूप बाह्र सय रुपैयाँ झिकेर दियो। त्यसपछि वसन्तले नजिकै बोलायो र मेरो खुबीको प्रशंसा गर्दै मलाई सुम्सुम्यायो। मेरो मुखबाट अचानक फुत्किएछ ‘तपाईँकी चाहिँ श्रीमती र छोरी खोई नि?’ उसले हाँस्तै भन्यो ‘मैले विवाह गरेको छैन। तिमीलाई नै मेरी छोरी भन्छु नि हुन्न?’ ‘अँह! हुन्न। मलाई त बुवा भन्ने बानी नै छैन। तपाईँ मेरी आमा बन्न तयारी हुनुहुन्छ भने मात्र म छोरी बन्छु।’ ऊ बेस्सरी हाँस्यो मात्र केही बोलेन। मैले आमाले लेखेको कथा डायरीबाट अर्को कापीमा सारेर बोकेकी थिएँ। मैले वसन्तलाई भनेँ, ‘तपाईँ हाम्रो कथा पढ्न चाहानुहुन्छ?’ उसले कापीमा हेर्दै भन्यो ‘कस्तो कथा हो, लामो पो रहेछ त घरमा लगेर हेर्न मिल्छ?’ ‘अवश्य मिल्छ।’ उसले त्यो कथाको कापी ज्याकेटको खल्तीभित्र हाल्यो। कार्यक्रम समापन भयो उनीहरू बिदा भए। मैले बेलुका पनि आमालाई भनिनँ मैले दराज खोलेर कथा पढेको र वसन्तलाई दिएको।
कार्यक्रम समापन भएको दुई दिन पछाडि स्कुलमा टिफिन खाने समय भएको थियो। म क्यान्टिनभित्र बसिरहेकी थिएँ। एउटा ट्याक्सी आएर क्यान्टिनको अगाडि रोकियो। को रहेछ भनेर म क्यानटिनबाट निस्किएर छेउमा गएँ। म छक्क परेँ। वसन्त ट्याक्सीबाट ओर्लियो र मलाई अँगाल्दै ‘छोरी तिम्रो बुवा म नै हुँ आऊ मसँग,’ भन्यो।
मेरो रिसको सीमा रहेन। उसका हात हटाउँदै मैले भनेँ, ‘तपाईँ के प्रमाण लिएर मेरो बुवा बनेर आउनुभएको? म निर्दोष र अबोध हुँदा तपाईँले मलाई मेरो अंश होईन भन्नुभएको होईन? आज म बुझ्ने भएर भन्दैछु तपाईँ मेरो बुवा होईन। मलाई यहाँ भन्दा बढी बोल्ने फुर्सद छैन,’ यति भनेर म सरासर कक्षाकोठातिर लागेँ।
मलाई धुलोको कुहिरोले छोप्यो यसो पछाडि फर्केर हेरेँ ट्याक्सी रफ्तारमा हुँईकिरहेको थियो। म विद्यालय छुट्टी भएपछि घर आएँ। यी सब कुरा मैले आमालाई भन्दै भनिनँ। बेलुकाको खाना खायौं र आमा र म ओच्छ्यानमा ढल्किएर टिभी हेर्दै थियौँ। वसन्तको हाम्रो स्कूलबाट फर्किने क्रममा बाटामा ट्याक्सी दुर्घटनामा परेर मृत्यु भएछ। टिभीमा वसन्तको क्षत विक्षत शरीर देखाउँदै थियो झ्याप्प लाइन गएर अन्धकार भयो।
मेरो गला अवरुद्ध भयो, आँखाबाट बरर आँसु खस्न थाले। आमाले टुकी बाल्नुहुन्छ भनेर निकैबेर प्रतिक्षा गरेँ तर आमाले टुकी बाल्नुभएन। मेरो केही बोल्ने सामर्थ्य थिएन। आमाको पनि केही आवाज आएन। साँच्चै त्यो अन्धकारमा आमा रूनुभयो कि के गर्नुभयो? कि उहाँ बाहिर जानुभयो। मैले अन्धकारले छोपेकाले आमाको अनुहार पढ्न सकिनँ। साँच्चै आमा के गर्नुभयो होला त्यो अन्धकारमा।
यो पनि हेर्नुहोस्