हङकङको यात्रा तथा व्यापारलाई दिँदै आएको विशेष व्यवहार अन्त्य गर्ने अमेरिकाकाे घोषणा

बिएल संवाददाता

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको यात्रा तथा व्यापारलाई लिएर दिँदै आएको विशेष व्यवहार अन्त्य गर्ने घोषणा गरेका छन्। 

 ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको अमेरिकी सम्बन्ध पनि ‘समाप्त’ गर्ने बताएका छन्। अमेरिकाले आफ्नो कानून अनुसार हङकङलाई वित्तिय तथा व्यापरको ग्लोबल हबको विशेष दर्जा प्रदान गरेको छ। अमेरिकाले यस्तो घोषणा गरेमा हकङकङले पाउँदै आएको विश्वको व्यापारिक केन्द्रको पहिचानमा धक्का लाग्ने छ। 

चीनले भने पश्चिमा राष्ट्रहरुलाई हङकङमा दखल दिन यस्ता बिषेश सुविधाहरु बन्द गर्न यसअघि नै आग्रह गरिसकेको छ।

ट्रम्पले हङकङलाई निशाना बनाएर ल्याइएको नयाँ सुरक्षा कानून दुःखद रहेको पनि बताएका छन्।

उनले चीनले घोषणा गरेको नयाँ सुरक्षा कानून कार्यान्वयनमा आएमा अन्ततः हङकङको विलय हुन सक्ने बताएका छन्। यस्तै सो कानून हङकङको आधारभूत स्वतन्त्रता र कानूनी शासनको भावना विपरित रहेको प्रजातन्त्र पक्षधरहरुको भनाई छ।

चीनले गएको हप्ता घोषणा गरेको सुरक्षा सम्बन्धी नयाँ कानूनको विरोधमा हङकङका प्रजातन्त्र पक्षधरहरु आन्दोलनमा उत्रिएका छन्।अमेरिकाले याे आन्दाेलनलाई समर्थन गर्दै आएकाे छ।

यसको विरोधमा हङकङमा प्रदर्शन हुँदै आएको छ। त्यसक्रममा प्रहरीले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

सन् १९९७ मा बेलायतले हङकङको सार्वभौमसत्ता चीनलाई सुम्पिएसँगै त्यहाँ उच्चस्तरको स्वायत्ततासहित एक देश दुई प्रणाली लागु छ। चीनको हिस्सा भएर पनि हङकङ अलग छ।

प्रकाशित मिति: : 2020-05-30 08:07:53

प्रतिकृया दिनुहोस्