कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु भएका पाँचौं व्यक्तिको पशुपतिस्थित शवगृहमा अन्त्येष्टि भएको छ।
बिहीबार साँझ ललितपुर महानगरपालिका २२ बुङ्गमतीका ५६ वर्षीय पुरूषको पशुपतिस्थित विद्युतीय शव गृहबाट अन्त्येष्टि गरिएको हो।
महानगरीय प्रहरी वृत्त गौशालाका डिएसपी प्रदीप कुमार सिंहले संक्रमितको शव सहजै जलाइएको बताए।
‘शव जलाउने कर्मचारीहरू यहीँ क्वारेन्टाइनमै बस्नुभएको थियो। उहाँहरूलाई नै बोलाएर शव जलाइयो,’ उनले भने, ‘ कुनै समस्या भएन।’
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालका अनुसार शवगृहमा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्ने समय मिलाइएको छ।
बिहान सिफ्टमा काम गर्ने कर्मचारी ६ बजे घर पठाइएको थियो। उनीहरू गएपछि मात्र शव आइपुगेकाले क्वारेन्टाइनमा बसेका कर्मचारीलाई बोलाएर जलाइएको हो।
यसअघि मृत्यु भएकी सिन्धुपाल्चोककी संक्रमितलाई जलाएका शवगृहका कर्मचारी क्वारेन्टाइनमा छन्। उनीहरूले नै ललितपुरका पुरूषलाई पनि जलाएको सदस्यसचिव ढकालले बताए।