कोरोना भाइरस संक्रमित व्यक्तिको उपचारको क्रममा मृत्यु भए पनि ललितपुरको किस्ट मेडिकल कलेजले अस्पतालको सेवा बन्द नगरी सञ्चालन गरेको छ।
मेडिकल कलेजले केही समय अस्पतालको बहिरंग सेवा बन्द गरे पनि अरु सेवा नरोकिएकोअस्पतालका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले जानकारी दिए।
अस्पतालको मेडिकल आईसीयू, फिभर क्लिनिक र आइसोलेटेड इमर्जेन्सी वार्ड डिसइन्फेक्सन गर्ने काम भइरहेको उनले बताए।
‘अरु सेवा सञ्चालनमा छ, अहिले केही क्षणको लागि ओपीडि होल्ड भएको मात्रै हो’ पाठकले भने।
पाठकका अनुसार अस्पतालले चिकित्सक, नर्स, प्यारामेडिक्स र अन्य गरी ३१ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
अस्पतालले ११ देखि १४ जेठसम्म उपचार गरिएका ती व्यक्तिको सम्पर्कमा रहेका अस्पतालका चिकित्सक, नर्स तथा अन्य गरी ३१ जनालाई क्वारेन्टाइनमा राखेको हो।
अस्पतालका अनुसार ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै ललितपुर बुङ्मतीका एक जना पुरुषलाई पाटन अस्पताल लगिएको थियो। तर आईसीयू नभएको भन्दै किस्टमा रिफर गरिएको थियो। ती व्यक्तिको किस्ट अस्पतालमै बुधबार दिउँसो चार बजे मृत्यु भएको थियो।
अहिले आशिंक सेवा दिइरहेको बताउँदै पाठकले भने, ‘४ बजेपछि सबै सेवा सञ्चालन हुनेछ।’