किट अभावले बारामा कोरोना संक्रमितको परीक्षणमा ढिलाई

बारामा किट अभावको कारण सम्भावित कोरोना संक्रमितको परीक्षणमा ढिलाइ भएको छ। पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको तर, स्वाब संकलन गर्ने भाँडा (भीटीएम) र पीसीआर किटको अभाव हुँदा परीक्षणमा ढिलाइ भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘जिल्लामा संक्रमितको संख्या ह्वातै बढेको पनि उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणमा ढिलाइ भएको हो। संक्रमित भेटिएको क्वारेन्टाइनमा बसेका व्यक्तिको समेत परीक्षण गराउन सकिएको छैन’,उनले भने।

बारामा तत्कालका लागि एक हजार थान किटको आवश्यकता रहेको छ। जिल्लाको विभिन्न १६ वटा स्थानीय तहमा बनाइएको ३३ वटा क्वारेन्टाइनमा अहिले पनि ६ सय ४ जना ब्यक्तिहरु बसिरहेका छन्।

क्वारेन्टाइनमा बस्ने अधिकांश भारतबाट फर्केर नेपाल आएकाहरु रहेका प्रमुख जिल्ला अधिकारी पण्डितले बताए। क्वारेन्टाइनमा दुई हप्ताभन्दा बढी समय बसिसकेकालाई परीक्षण नगरी घर पठाउँदा थप जोखिम बढ्नसक्ने अवस्था रहेको उनले बताए।

प्रकाशित मिति: : 2020-05-28 09:23:16

प्रतिकृया दिनुहोस्