गृहमन्त्रीलाई अनुरोध: 'रुकुम घटना निर्मला पन्तको जस्तो ढुस्स नहोस्'

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले रुकुम घटनाबारे सर्वदलीय संसदीय छानबिन समिति गठन गर्न माग गरेकी छिन्।

 ‘गृहमन्त्रीलाई अनुरोध—रुकुम घटना निर्मला पन्तको जस्तो ढुस्स नहोस्। रुकुम घटनाबारे सर्वदलीय संसदीय छानबिन समिति गठन गरेर यथार्थ कुरा बाहिर ल्याउनुपर्छ', बुधबार प्रतिनिधिसभा बैठकमा उनले भनिन्।

यता सत्तारुढ दल नेकपाकी सांसद यसोदा सुवेदी गुरुङले घटनालाई राजनीतिकरण हुन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गरिन्। ‘राजनीतिकरण हुँदा दोषीले सजाय नपाउने र पीडितले न्याय नपाउने हुन सक्छ। यसतर्फ सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भनिन्।

कांग्रेसकी सांसद लक्ष्मी परियारले जातीय विभेद र छवाछुत विरुद्धका संविधान र कानुनी व्यवस्थाको प्रभावकारी कानुन कार्यान्वयन गर्न माग राखिन्।

यस्तै कंग्रेसकी सांसद विमला नेपालीले रुकुममा मारिएका दलित युवकहरुलाई शहीद घोषणा गर्न माग राखिन्।

‘कथित माथिल्लो जातको युवतीको प्रेम सम्बन्धका कारण चौरजहारी ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले मृत्युको खबरले स्तब्ध बनाएको छ। यो घटनामा ज्यान गुमाउने सबैलाई सामाजिक रुपान्तरणको सहिद घोषणा गरियोस्’, उनले भने।

प्रकाशित मिति: : 2020-05-27 19:58:38

प्रतिकृया दिनुहोस्