‘घरमा लगाएको पूजामा सबैलाई बोलाए। तर म र मेरो साथीलाई तल्लो जाति भएको भन्दै निम्तो गरेनन्। पछि आमा बुवाको आज्ञा भन्दै आफू चोखो बन्न खोजें उनीहरू।’
माथिको पंक्ति बेल्जियममा बस्दै आएकी एक जना दिदीले मलाई सुनाउनुभएको थियो। जसको एउटै कारण एउटै थियो- तल्लो जात। सोही भएकाले उनीहरूलाई पूजा कार्यक्रममा समावेश गराइएन वा निम्तो गरिएन।
लामो समयदेखि बेल्जियम बस्दै आएकी निर्मला परियारको आफ्नै दुखद अनुभव रहेको सुनाउँछिन्। उनका अनुसार बेल्जियममा एक नेपालीको मृत्यु भयो। मृत्युको खबर थाहा पाएपछि उनी भेट्न गइन्। तर त्यहाँ भेट्न जाँदा ‘किन आएको तिमी’ भनेर हेपाहा प्रवृत्ति देखाएको उनको गुनासो छ।
‘पछि मैले उक्त परिवारलाई फोन गरेँ। फोन उठाएनन्। फोन चाहिँ हामी तल्लो जातको मानिने भनेर मृत्यु संस्कार नसकिएसम्म उठाउन नहुने भन्दै नउठाएको जवाफ दिए। पछि उनीहरूले मसँग माफी पनि मागे,’ परियारले उक्त घटना सम्झँदै भनिन्, ‘अहिले पनि त्यो घटनाले आफैंलाई एक किसिमको पीडा दिने गर्छ। हामी सबैको सोच परिवर्तन नभएसम्म समाज परिवर्तन गर्न गाह्रो हुने देखिन्छ।’
त्यस्तै गरेर केही समय अगाडि बेल्जियम आइपुगेका गायक प्रकाश सपुतले पनि आफू जातीय विभेदमा परेको खुलासा गरेका थिए। युरोपका नेपालीमा पनि यो अवस्था देख्दा आफू दुःखित भएको उनको मनसाय देखिन्थ्यो।
बेल्जियमका यी दुई घटना मात्रै होइन, पोर्चुगलमा पनि उस्तै छ। कोरोना पछि विभिन्न देशमा रहेका नेपालीलाई राहत दिने उद्धेश्यले विभिन्न समूह गठन भयो। राहत वितरण पनि गरियो। तर पोर्चुगलका समाजसेवीले उत्पीडित समुदायको अपमान गरेको भन्दै समाचार बाहिरियो। जसमा पन्त थरका एक व्यक्तिले जातीय विभेदको रूपमा कुराकानी गरेको प्रस्ट देखिन्थ्यो।
बेल्जियम, पोर्चुगल होस् वा जर्मनीलगायत अरू देश नै किन नहोस् यो विभेद अझै पनि व्याप्त छ। अहिले चलन चल्तीमा रहेको दलित भनिने यी साथीहरूलाई अन्तरहृदयबाट हेर्ने दृष्टिकोणमा परिवर्तन आएको देखिँदैन।
माथिका जातीय विभेदको केही उदारहण मात्रै हुन्। जसले देश छोडेर युरोपमा रहेका अधिकांश नेपालीको वर्तमान अवस्थालाई देखाउँछ। उनीहरूको सोच्ने शैलीमा परिवर्तन नभएको पनि प्रस्ट पार्छ।
धर्मको कुरा गर्नुहुन्छ भने कुनै पनि धर्मले कसैमाथि विभेद गरेको छैन। सबैलाई समान रूपले हेर्ने गरेको छ। भगवानको कुरा गर्नुहुन्छ भने कुनै भगवानले पनि तिमी मेरो भक्त होइनौं भनेर विभेद गरेको छैन। तर हाम्रो समाज यही तल्लो जाति र माथिल्लो जातिको संघारमा युद्व गरिरहेको छ। मानिस मानिस बीच विभेद गरिरहेको छ। जसको कारण समाज परिवर्तन हुन अझै दशक लाग्ने पक्का छ।
हालैको रूकुम घटना पनि यही जातीय र आर्थिक विभेद कै कारणले घटेको देखिन्छ। पीडितका विभिन्न मिडियामा आएका कुरा अनुसार रुकुम घटना एक जघन्य अपराध हो। रुकुमको त्यो स्थानमा मानवता हराएको देखिन्छ।
पोल्याण्डमा बस्दै आएका मित्रलाल पार्देले आफ्नै गोत्रीय दाजुभाइमा यस्तै घटना घटेको अनुभव सुनाए। पार्दे आफ्नै परिवारमा सार्की समुदायको केटी बिहे गरेर ल्याउँदा आफन्तलाई जुत्ताको माला लगाएको घटना सम्झन्छन्। पछि उनले बच्चा पाए। अहिले सबै राम्रो छ।
‘रूकुम काण्ड पनि त्यस्तै भएको हो। यदि त्यहाँ विकको ठाउँमा अरू माथिल्लो जात मानिने थरको कोही केटा हुन्थ्यो भने यो अवस्था आउँदैन थियो। नवराज विक पनि धनाढ्य परिवारको हुन्थ्यो भने पनि यो घटना घट्ने थिएन। १७ वर्ष उमेरकी केटीलाई अहिलेको समय अनुसार अबुझ भन्न मिल्दैन। केटा पक्षलाई गुण्डागर्दीको आरोप लगाउन मिल्दैन। मार्नु भनेको जघन्य अपराध हो,’ पार्देले घटनाको विषयमा आफ्नो विचार सुनाए।
पोल्यान्डका मित्रलाल पार्दे जस्तै बेल्जियमका दुर्गा प्रसाद सुवेदीको विचार पनि उस्तै छ। सुवेदीको अनुसार बेल्जियममा पनि जातीय विभेदको गन्ध आएको देखिन्छ। ‘यहाँ पनि यो विभेदको गन्ध आउँछ तर मानिसहरू डरले गर्दा सतर्क भएको देखिन्छन्। रुकुम काण्डलाई हेर्ने हो भने त्यो जघन्य अपराध नै हो। अझ वर्गीय विभेदको जघन्य अपराध नै हो। अर्कोतर्फ भन्दा मानवीयता हराएको देखिन्छ।’
यति मात्रै होइन युरोपमा रहेका नेपाली संघसंस्थामा पनि यो विभेद कायम रहेको दलित भनिने वर्गमा रहेकाहरू आफ्नो अनुभव सुनाउँछन्। ‘संघसंस्थामा पनि यो विभेद कायम छ। जातकै अर्थात् दलित भएकै कारण माथिल्लो पदसम्म जान नसकिने वा लैजान नखोज्नेको जमात छ। यो युरोप भरिका नेपाली संघसंस्थाहरुमा देख्न सकिन्छ’, उनीहरूको दुखेसो छ।
यो पनि हेर्नुहोस्
१. दलितको हत्या कहिलेसम्म?
२.जातीय विभेदः कानुन र सामाजिक चेत
३. अन्तरजातीय प्रेमले दिएको पीडा र छोडेको सन्देश