नेपाल-भारत विवादबारे बोले खान : मोदीले अपनाएको नाजी नीति छिमेकीका लागि खतरा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादबारे पाकिस्तानी प्रधानमन्त्री इमरान खान बोलेका छन्।

बुधबार एक ट्वीट गर्दै छिमेकीका लागि भारत खतरा बन्दै गएको टिप्पणी गरेका छन्। ‘नरेन्द्र मोदी नेतृत्वको सरकारले अपनाएको नाजी नीतिसरहको अहंकारयुक्त विस्तारवादी नीति छिमेकीका लागि खतरा बन्दै गइरहेको छ,’उनले लेखेका छन्।

उनले मोदी सरकारले बिभिन्न जुक्ति निकालेर धम्क्याइरहेको पनि जनाएका छन्। ‘बंगलादेशलाई नागरिकता कानुनमार्फत्, नेपाल र चीनसँग सीमा विवादमार्फत् र पाकिस्तानलाई झुटो अभियानमार्फत् धम्क्याइरहेको छ,’उनले लेखेका छन्।

उनले भारतप्रशासित काश्मिरमा अबैध कब्जा जमाएर युद्ध अपराध गरेर भारतीय अल्पसंख्यकलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको पनि आरोप लगाएका छन्।  उनले लेखेका छन्, ‘भारतप्रशासित काश्मीरमा अबैध कब्जा जमाएर युद्ध अपराध गरेको भारतले पाकिस्तानप्रशासित काश्मिरमाथि पनि दाबी गरिरहेको छ। भारतीय अल्पसंख्यकलाई दोस्रो दर्जाको नागरिक बनाउन खोजेको छ।’

मोदी सरकार ती अल्पसंख्यकका लागिमात्र नभई क्षेत्रीय शान्तिकै लागि खतरा बनेको उनको तर्क छ।

मंगलबार मात्रै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादबारे नरेन्द्र मोदी सरकारले पारदर्शी ढंगले जानकारी नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

उनले नेपाल र चीनसँग सीमा विवाद किन भइरहेको छ भन्ने प्रष्ट जानकारी आफूहरुलाई नभएको बताए।
 

प्रकाशित मिति: : 2020-05-27 17:09:08

प्रतिकृया दिनुहोस्