भारतबाट १ सातामै १३ हजार कर्णाली छिरे : व्यवस्थापन गर्न सकस

यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकको दिनहुँ बबई सीमामा भीड लागिरहेको छ । भीड व्यवस्थापन गर्न कर्णाली प्रदेश सरकारलाई निकै सकस भएको छ । 

प्रदेश नं. ५ को जमुनाह र सुदूरपश्चिम प्रदेशको गड्डाचौकी, गौरीफण्टा सीमा नाकाबाट दैनिक हजारौँको संख्यामा नागरिक बबई पुग्दा स्वास्थ्य जाँच तथा खानपिनमा समस्या भएको छ ।

भारतका विभिन्न सीमानाकादेखि दैनिक हजारौँ नागरिक नेपाल छिर्ने र त्यसमा अधिकांश मान्छे कर्णालीको बबई पुग्न थालेपछि कर्णाली प्रदेश सरकारलाई थेग्न हम्मे हम्मे भएको छ । बबई नाकामा ठूलो संख्यामा नागरिक पुग्दा स्वास्थ्यकर्मीलाई आरडीटी गर्न गाह्रो भएको छ । 

यो समस्या देखिएपछि अहिले प्रदेश सरकारले सम्बन्धित गाउँपालिकामै नागरिक जान दिइएको र उनीहरुलाई त्यही जाँच्ने गरी आरडीटी उपलब्ध गराइएको सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

‘हामीले २० देखि २३ हजार कर्णालीवासी नागरिक आउँछन् भन्ने अनुमान गरेका थियौँ, उनले भन्ने, ‘यद्यपि अनुमानित संख्याभन्दा बढी नागरिक भित्रिने देखियो ।’ एकैपटक चार हजारभन्दा बढी नागरिक गाडीको हुल बनाएर आउन थालेपछि केही बबई र केही सम्बन्धित स्थानीय तहमै आरडीटी जाँच गर्ने तवरबाट प्रदेश सरकार लागिरहेको मन्त्री रावलले बताए । 

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जेठ १ गतेयता कर्णाली प्रदेशमा १७ हजार ६० नागरिक प्रवेश गरेको बताए । ‘एक साताभित्र कर्णाली छिर्ने नागरिकको संख्या १३ हजार ८६ छ’, उनले भने, ‘जेठ १०–१३ गतेभित्र मात्र ११ हजार ५६९ नागरिक कर्णाली आएका छन् । तीमध्ये १२ गतेमात्र चार हजार २९७ नागरिक कर्णाली प्रवेश गरेका छन् ।’

भारतबाट कर्णाली फर्कने सबैभन्दा बढी दैलेखका साढे ६ हजार नागरिक रहेको उनले बताए । दैलेख जिल्ला प्रशासन कार्यालयका अनुसार भारतबाट दैलेख आउने नागरिकको संख्या ४२ हजार छ । सूचना अधिकारी रायमाझीका अनुसार कर्णाली प्रदेशको डोल्पा जिल्लामा भने भारतबाट आउने नागरिकको संख्या शून्य रहेको छ ।

भारतले रेल बुकिङ सेवा शुरु गरेयता यहाँ नागरिकको संख्या ह्वात्तै बढेको छ । दैनिक भारतबाट कर्णाली भित्रिने नागरिक बढेसँगै एक साताभित्र कोरोना संक्रमितको संख्या २३ पुगेको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

ज्याला मजदूरीका लागि भारत गएकाहरुको स्वदेश फर्कने क्रम रोकिएको छैन । भारतबाट स्वदेश फर्कने नागरिक अधिकांश कर्णालीकै भएकाले यहाँ आउने नागरिकको संख्या अझ बढ्ने देखिन्छ । 

बाहिरबाट आउने नागरिकका कारण कर्णालीमा कोरोनाको जोखिम बढेको चिकित्सकले बताउँदै आएका छन् । भारतबाट भित्रिनेहरुको स्वाब संकलनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चिकित्सक टोली दैलेख पठाउने तयारी भइरहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले जानकारी दिए ।  

भारतको गुजरातबाट आएका सुर्खेत चिङ्गाड गाउँपालिकाका एक युवाको मंगलवार राति नै कर्णाली प्रदेश अस्पतालमा ज्यान गइसकेको छ । यता प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भयावह बन्दै गएको र बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई समयमै दिनका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् ।  भारतमा कर्णाली प्रदेशका ८० हजार नागरिक रहेको प्रदेश सरकारले बताएको छ । रासस

प्रकाशित मिति: : 2020-05-27 15:07:58

प्रतिकृया दिनुहोस्