सडक सञ्‍जालको लम्बाइ ३४ हजार ३४७ किमी पुग्यो

देशभरमा रणनीतिक र स्थानीय सडक सञ्जालको लम्बाइ ३४ हजार ३४७ किलोमिटर पुगेको छ । अर्थ मन्त्रालयले मंगलबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार गत फागुनसम्ममा देशभरमा कालोपत्र सडक १५ हजार २५४ किमी, खण्डस्मिथ नौ हजार २५१ किमी र कच्ची सडक नौ हजार ८४२ किमी निर्माण भएको छ । 

देशभरका रणनीतिक र स्थानीय सडकसमेत गरी १५ हजार २५४ किलोमिटर कालोपत्र, नौ हजार २५१ किमी खण्डस्मिथ र नौ हजार ८४२ किमी कच्ची सडक निर्माण भएको छ ।

सर्वेक्षणअनुसार सङ्घीय सरकारले ५५९ किमी सडक कालोपत्र, ६५७ किमी सडक खण्डस्मिथ र २५२ किमी कच्ची सडकको निर्माण गरेको छ । फागुनसम्ममा नै १५७ किमी सडक आवधिक मर्मतसम्भार सम्पन्न भएको छ । गत वर्ष सोही अवधिमा ११२ किमी सडक आवधिक मर्मत भएको थियो । 

सङ्घीय सरकारले स्थानीय सडक र राष्ट्रिय गौरवका सडकमा गरी १२९ पुल निर्माण सम्पन्न गरेको छ । तीन पुलको लक्ष्य लिएकामा आधाभन्दा कम मात्रै सम्पन्न भएको छ । गत आवमा देशमा २३० पुल निर्माण भएको थियो । 

प्रदेशअनुसार हेर्दा यो अवधिमा सबैभन्दा बढी वाग्मती प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा सडक निर्माण भएको पाइन्छ । वाग्मती प्रदेशमा २५ दशमलव १२ र कर्णाली प्रदेशमा चार दशमलव ४४ प्रतिशत सडक निर्माण भएको छ । 

प्रदेश १ मा ७०३ किमी, प्रदेश २ मा ३४४ किमी, वाग्मती प्रदेशमा एक हजार २०५ किमी र गण्डकी प्रदेशमा ५७७ किमी सडक कालोपत्र भयो । त्यस्तै, प्रदेश ५ मा ८४५ किमी, कर्णाली प्रदेशमा ७९ किमी र सुदूरपश्चिम प्रदेशमा १९७ किमी रहेको सडक कालोपत्र भएको छ ।  

राष्ट्रिय गौरवका आयोजनातर्फ मध्यपहाडी (मध्यपहाडी) लोकमार्ग १४० किमी कालोपत्र र १८६ किमी सडक ग्राभेल सम्पन्न भएको छ । हुलाकी राजमार्ग १४२ दशमलव पाँच किमी सडक कालोपत्र भएको र दुई सय किमी सडक ग्राभेल भएको छ । सो आयोजनामा हालसम्म २७० किमी सडक कालोपत्र, ३२५ किमी ग्राभेल र ८५ पुल सम्पन्न भइसकेको छ । उत्तर दक्षिण करिडोरअन्तर्गत कालीगण्डकी करिडोरको ४१ किमी सडक दुई लेनमा ग्राभेल भएको छ भने दुईवटा पुल सम्पन्न भएको छ । 

४३५ किमी सडक खण्डको ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । कर्णाली करिडोरअन्तर्गत नौ किमी सडक ट्र्याक निर्माण १४ किमी सडक चौडा तथा सुधार गर्ने काम सम्पन्न भएको छ । करिडोरअन्तर्गतको हिल्सा–सिमीकोट खण्डको पूरा ट्र्याक सम्पन्न भएको छ । कोशी करिडोरअन्तर्गत नौ किमी ट्र्याक निर्माण र नौ किमी ग्राभेल भएको छ । 

सर्वेक्षणले स्थानीयस्तरमा निर्माण भएका सडकमा कालोपत्र सडक कम र धुले तथा कच्ची सडक बढिरहेको जनाएको छ । कमजोर गुणस्तर भएका कच्ची सडकहरु असुरक्षित रहेको छ । सुरक्षित सडकको पहुँच उल्लेखीय रुपमा वृद्धि हुन नसकेको र यसले गर्दा यात्रा जोखिम र ढुवानी महङ्गो भएको पनि सर्वेक्षणमा उल्लेख छ । 

स्थानीयस्तरमा सञ्चालन भएका स्थानीय विकास तथा कृषि सडक विभागअन्तर्गत प्रादेशिक तथा स्थानीय सडकमा सबैभन्दा बढी पहाडमा ५४ दशमलव पाँच प्रतिशत र हिमालमा १३ दशमलव सात प्रतिशत सडक निर्माण भएको छ । 

यो अवधिमा हिमालमा प्रदेशिक सडक दुई हजार १०९ किमी र स्थानीय सडक छ हजार ३२० किमी गरी आठ हजार ४२९ किमी निर्माण भएको छ । पहाडमा नौ हजार ८५३ किमी स्थानीय सडक, २३ हजार ७२१ किमी प्रादेशीक सडक गरी ३३ हजार ५७४ किमी निर्माण सम्पन्न भएको छ । तराईमा पाँच हजार ८० किमी प्रादेशिक सडक र १४ हजार ३१२ किमी स्थानीय सडक गरी जम्मा १९ हजार ३९१ किमी सडक निर्माण भएको छ । 

स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत गत फागुनसम्ममा १३९ किमी सडक कालोपत्र, ५८ किमी सडक ग्राभेल र ३३३ किमी आवधिक मर्मत सम्पन्न भएको छ । - रासस

प्रकाशित मिति: : 2020-05-26 21:35:42

प्रतिकृया दिनुहोस्