नेपाल–भारत सीमा विवादबारे मोदी सरकारले जानकारी दिएन: राहुल गान्धी (भिडियाेसहित)

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल र भारतबीच पछिल्लो समय देखिएको सीमा विवादबारे नरेन्द्र मोदी सरकारले पारदर्शी ढंगले जानकारी नदिएको भन्दै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले असन्तुष्टि व्यक्त गरेका छन्।

कांग्रेसले मंगलबार मध्याह्न आयोजना गरेको डिजिटल पत्रकार सम्मेलनमा उनले नेपाल र चीनसँग सीमा विवाद किन भइरहेको छ भन्ने प्रष्ट जानकारी आफूहरुलाई नभएको बताए।

‘सीमामा के भइररहेकाे छ सरकारले देशलाई बताउनुपर्छ। तर सरकारले स्पष्ट रुपमा बताएकाे छैन। नेपालसँग के भयाे,कसरी भयाे सरकारले बताएकाे छैन। जबसम्म हामीलाई जानकारी गराइँदैन तबसम्म विवादबारे प्रष्ट बोल्न सकिँदैन,’ उनले भने। 

भारतले वैशाख २६ मा नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जोड्ने ट्र्याक उद्घाटन गरेपछि दुवै छिमेकीबीच तनावपूर्ण स्थिति बनेको सन्दर्भमा गान्धीबाट पछिल्लो धारणा आएको हो। भारतका रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फेरेन्समार्फत पिथौरागढबाट लिपुलेक जोड्ने करिब ८० किलोमिटर लामो उक्त सडकको उद्घाटन गरेका थिए।

सडकको १९ किलोमिटर खण्ड आफ्नो भूमिमा भएपछि नेपालले विरोधस्वरूप भारतलाई ‘प्रोटेस्ट नोट’ समेत पठाइसकेको छ। भारतको उक्त कदमलाई लिएर नेपालमा चर्को विरोध भइरहेछ।

विवादकै बीच नेपालले सन् १८१६ को सुगौली सन्धिलगायत अन्य ऐतिहासिक तथ्य र प्रमाणलाई आधार बनाएर नेपालको पश्चिमी सीमा लिम्पियाधुरासम्म समावेश गर्दै नयाँ नक्सासमेत जारी गरिसकेको छ।

चीनसँगको सम्बन्धमा पनि तनावपूर्ण

भारतको नेपालसँगको सम्बन्धमा चिसोपन कायम रहेका बेला चीनसँगको सम्बन्धमा पनि तनावपूर्ण बनेको छ। लद्दाख र सिक्किमको सीमावर्ती क्षेत्रमा सीमालाई लिएर यी दुई छिमेकीबीच केही दिनयता तनाव बढेको छ। 

लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा फेरि तनाव उत्पन्न हुने संकेत देखिएको छ। भारतीय सेनाको ८१ र ११४ ब्रिगेड सेना तैनाथ क्षेत्र नजिकै चिनियाँ सेना पनि देखिएका छन्। चिनियाँ सेना नियन्त्रण रेखा नजिकै रहेको पेनगोंग ताल नजिकै पुगेको जनाइएको छ र उनीहरु थुप्रै सवारी साधनमा निर्माणका सामाग्रीसहित आएको बताइएको छ।

यता चिनियाँ सेना गल्वान नाला क्षेत्रमा बसिरहेको भारतीय सेनाको पोष्ट के एम १२० भन्दा १५ किमी नजिक आइपुगेको जनाइएको छ। त्यहाँ चिनियाँ सेनाहरु पाल टाँगेर बसेका छन्। 

चिनियाँ सेनाले त्यहाँ बन्कर निर्माण गर्न लागेको र त्यसका लागि धेरै उपकरणहरुसमेत प्रयोग गरिरहेको भारतीय सेनाको आरोप छ। यही क्षेत्रमा भारतीय सेनाले पेट्रोलिङ पोष्ट १४ को नजिकै पुल निर्माण गरिरहेको छ। चिनियाँ सेनाले यसको विरोध गर्दै आएको छ। उक्त क्षेत्रमा चीनले ५ हजार सेना तैनाथ गरेको आरोप लगाउँदै भारतले पनि आफ्नो सेनाको संख्या बढाउन सुरु गरेको छ। भारतीय सेनाको पोष्ट केएम १२० मा २ सय ५० जवान तैनाथ रहेका छन्। तर अहिले भारतले त्यहाँ थप सैनिक फोर्स थप्ने तयारी गरिरहेको छ।

यसै महिनामा २ देशका सेनाबीच तीन पटक झडप भएको थियो। पछिल्लो हप्ता दुबै देशका सैन्य कमाण्डरहरुबीच छलफल भई उक्त मुद्धालाई सुल्झाउने प्रयास गरेका थिए। 

यसअघि दुई देशका सेनाबीच एक महिनामै ३ पटक झडप भएको थियो। मे ५ र ९ मा क्रमसः पूर्वी लद्दाख र उत्तरी सिक्किममा झडप भएको थियो भने  मे ९ मै  लद्दाखमा अर्को तनाव भएको थियो। केही दिनअघि चिनियाँ सेनाले भारतीय सेनाका जवानहरुलाई गस्ती गएका बेला बन्धक बनाएका खबर बाहिर आएको थियो। यद्यपि, भारतीय सेनाले यसलाई इन्कार गरिरहेको छ।

प्रकाशित मिति: : 2020-05-26 21:35:11

प्रतिकृया दिनुहोस्