जातकै आधारमा दलितको हत्या हुनु कानूनी शासनको बर्खिलाप : समता फाउन्डेसन

समता फाउन्डेसनले रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. ८ सोतिमा जाजरकोटको भेरी नगरपालिका-४, रानागाउँका २१ वर्षीय नवराज बि.क. र चौरजहारी नगरपालिका-१, का टीकाराम सुनारको हत्या गरिएको घटनाको भर्त्सना गरेको छ । 

समता फाउण्डेसनका  कार्यकारी अध्यक्ष प्रदीप परियारले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, 'अन्तरजातीय प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्ने क्रममा घटना भएको देखिन्छ। संविधानमा नै जातीय छुवाछुत तथा भेदभाव विरूद्धको हकलाई मौलिक हकको रूपमा संस्थागत गरिएको र नेपाललाई जातीय विभेद तथा छुवाछुत मुक्तराष्ट्र घोषणा गरिएको अवस्थामा जातकै आधारमा यसरी दलित समुदायका व्यक्तिको निर्मम हत्या हुनु कानूनी राज्य र विधिको शासनको बर्खिलाफ छ।'

उनले भनेका छन्, 'दलित पनि राज्यका नागरिक हुन्। उनीहरूको हकअधिकार सुनिश्चित गर्नु राज्यको दायित्व हो। यो आपराधिक घटनाले दलितविरूद्ध निकृष्ट र अमानवीय व्यवहार अझै भइरहेको प्रमाणित भएको छ।'

फाउण्डेसनले नागरिकलाई राज्यको उपस्थितीको अनुभूति गराउन तथा मानवअधिकारको सम्मान र कानूनी शासनको स्थापना गर्न सरकारसँग निम्न पाँच माग अघिसारेको छ–   

१. नेपालको प्रचलित कानून बमोजिम यो क्रुर र अमानवीय घटनाको सत्यतथ्य छानविनका लागि नेपाल सरकारसँग उच्चस्तरीय छानविन समिति गठन गरियोस्।

२. नवराज बि.क. र टिकाराम सुनार सहितको हत्यामा संलग्न सम्पूर्ण दोषीलाई हदैसम्मको कानूनी कारबाही गरियोस्।

३. भेरी नदीमा हराइरहेका अन्य व्यक्तिको तदारूकतासाथ खोजी गरी उद्धार गरियोस्।

४. राजनीतिक, आर्थिक प्रलोभन र प्रभाव पर्ने संभावना भएको हुँदा नेपाल प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरी दोषीलाई सशक्त कारबाही गरियोस् । 

५. पीडितका परिवार तथा आफन्तहरू त्रासमा बस्न बाध्य भएकाले तत्काल उनीहरूको जीउधनको सुरक्षा सुनिश्चित गरियोस्।

प्रकाशित मिति: : 2020-05-26 20:34:23

प्रतिकृया दिनुहोस्