चौरजहारी घटना जातीय अहंकारवादको उपज: गृहमन्त्री थापा

बिएल संवाददाता

काठमाडाै‌ं

गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुमको चौरजाहरीमा दलित युवाको हत्या जातीय अहंकारवादको उपज रहेको बताएका छन्।

घटनाबारे राष्ट्रियसभालाई मंगलबार जानकारी दिँदै उनले सो घटना जातीय अहंकारवादका कारण भएको बताएका हुन्। 

गएको शनिबार राति जाजरकोटका नवराज विक आफ्नी प्रेमिकालाई लिन १९ जना युवालाई साथ रुकुमको चौरजहारी पुगेका थिए। तर गाँउ पुगेलगत्तै उनीहरुलाई केटीका आफन्तसहित गाउँलेहरुले आक्रमण गरेपछि नवराजसहित तीनजनाको मृत्यु भएको छ भने तीनजना बेपत्ता छन्।

सुरक्षा संयन्त्रबाट प्राप्त प्रारम्भिक जानकारी अनुसार १९ जना युवाहरु युवतीलाई भगाउनका लागि गएको भन्ने खुल्न आएकाे गृहमन्त्री थापाले बताए। त्यसमध्ये एकजना भने बिच बाटोबाटै फर्किएको उनले राष्ट्रियसभालाई जानकारी गराए।

मन्त्री थापाले भने, ‘घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको छ। सरकारले घटना छानबिनका लागि समिति बनाएको छ।’ उनले दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी दिए।

यता पश्चिम रुकुमको जिल्ला समन्वय समितिका अध्यक्षको नेतृत्वमा पनि छानबिन समिति बनाइएको छ। तर त्यो समितिको कुनै औचित्य नहुने उनले बताए। 

'जिल्लामा बनाइएको समिति घटना ढाकछोप गर्नका लागि समिति  बनाइएको हुन सक्छ। त्यसको कुनै औचित्य नहुने छैन। सरकार कुनै पनि हालतमा दोषीलाई कारवाही गर्छ,' उनले भने।

राष्ट्रयसभाको मंगलबारको बैठकमा सांसदले समय मागेर बोल्दै घटनाबारे चासो व्यक्त गरेका थिए। उनीहरुले दोषीमाथि कारवाही गर्न माग गरेका छन्।

प्रकाशित मिति: : 2020-05-26 13:28:15

प्रतिकृया दिनुहोस्