लद्दाखमा भारतीय सेनाको पोष्ट नजिकिँदै चिनियाँ सेना, फेरि तनाव उत्पन्न हुने संकेत

बिएल संवाददाता

नयाँदिल्ली

भारत र चीनको विवादास्पद सीमा क्षेत्र लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा फेरि तनाव उत्पन्न हुने संकेत देखिएको छ। 

भारतीय सेनाको ८१ र ११४ ब्रिगेड सेना तैनाथ क्षेत्र नजिकै चिनियाँ सेना पनि देखिएका छन्। चिनियाँ सेना नियन्त्रण रेखा नजिकै रहेको पेनगोंग ताल नजिकै पुगेको जनाइएको छ र उनीहरु थुप्रै सवारी साधनमा निर्माणका सामाग्रीसहित आएको बताइएको छ।

चिनियाँ सेना गल्वान नाला क्षेत्रमा बसिरहेको भारतीय सेनाको पोष्ट के एम १२० भन्दा १५ किमी नजिक आइपुगेको जनाइएको छ। त्यहाँ चिनियाँ सेनाहरु पाल टाँगेर बसेका छन्। 

चिनियाँ सेनाले त्यहाँ बन्कर निर्माण गर्न लागेको र त्यसका लागि धेरै उपकरणहरुसमेत प्रयोग गरिरहेको भारतीय सेनाको आरोप छ। यही क्षेत्रमा भारतीय सेनाले पेट्रोलिङ पोष्ट १४ को नजिकै पुल निर्माण गरिरहेको छ। चिनियाँ सेनाले यसको विरोध गर्दै आएको छ। उक्त क्षेत्रमा चीनले ५ हजार सेना तैनाथ गरेको आरोप लगाउँदै भारतले पनि आफ्नो सेनाको संख्या बढाउन सुरु गरेको छ। भारतीय सेनाको पोष्ट केएम १२० मा २ सय ५० जवान तैनाथ रहेका छन्। तर अहिले भारतले त्यहाँ थप सैनिक फोर्स थप्ने तयारी गरिरहेको छ।

यसै महिनामा २ देशका सेनाबीच तीन पटक झडप भएको थियो। पछिल्लो हप्ता दुबै देशका सैन्य कमाण्डरहरुबीच छलफल भई उक्त मुद्धालाई सुल्झाउने प्रयास गरेका थिए। 

यसअघि दुई देशका सेनाबीच एक महिनामै ३ पटक झडप भएको थियो। मे ५ र ९ मा क्रमसः पूर्वी लद्दाख र उत्तरी सिक्किममा झडप भएको थियो भने  मे ९ मै  लद्दाखमा अर्को तनाव भएको थियो। केही दिनअघि चिनियाँ सेनाले भारतीय सेनाका जवानहरुलाई गस्ती गएका बेला बन्धक बनाएका खबर बाहिर आएको थियो। यद्यपि, भारतीय सेनाले यसलाई इन्कार गरिरहेको छ।
 

प्रकाशित मिति: : 2020-05-26 07:27:15

प्रतिकृया दिनुहोस्