ट्रम्पले कोरोनाबाट बच्न सेवन गरिरहेका औषधी प्रयोग गर्न डब्ल्यूएचओले लगायाे रोक

बिएल संवाददाता

काठमाडाै‌ं

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको छ।

संगठनका निर्देशक डा‍. टेड्रोस एडहनम ग्याब्रियासिसले सोमबार औषधीको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए। साथै, यो औषधीसँग सम्बन्धित संसारभरी भइरहेको प्रयोगको पनि व्यापक विश्लेषण गरिने उनले जानकारी दिए।

टेड्रोसका अनुसार साधारणतया हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विनको प्रयोग मलेरियाका रोग जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ।तर कोरोनाका बिरामी यो औषधीको सुरक्षित प्रयोगको विषयमा चिन्तित छन्।

कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ, त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको थियो।

यो अध्ययन निष्कर्ष सार्वजनिक भएपछि डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको कोरोना क्लिनिकल ट्रायल)को कार्यकारी समूहको बैठक बसेको थियो। १० सदस्य देशका प्रतिनिधि रहेको यो समूहको बैठकपछि हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय डब्ल्यूएचओले गरेको हो। साथै यो औषधि प्रयोग गर्दाको नतिजा पनि विश्लेषण गर्ने निर्णयसमेत भएको छ।

हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विन औषधिको प्रयोग मलेरिया र लुपस जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ। तर कोरोना भाइरसको महामारी फैलिएपछि कतिपय देशमा कोरोनाका बिरामीलाई र कोरोना संक्रमण नभइसकेकालाई पनि दिइएका समाचारहरु सार्वजनिक हुँदै आएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो औषधीको प्रयोगमा लगातार प्रोत्साहन गर्दै आएका छन्। अहिलेसम्म आफूलाई कोरोना संक्रमण नभको भन्दै अरुलाई पनि यो औषधि सेवन गर्न सुझाव दिएका थिए।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको डब्ल्यूएचओले हाइड्रोक्सिक्लोरोक्विन औषधिको जथाभावी प्रयोग भएकोमा चिन्ता व्यक्त गरेको छ। डब्ल्यूएचओका निर्देशक डा. टेड्रोसले सोमबार भनेका छन्, ‘यो औषधिको सुरक्षित प्रयोगको बारेमा डेटा सेफ्टी मनिटरिङ बोर्डले अध्ययन गर्ने छ। साथै यस औषधिसँग सम्बन्धित विश्वभर भइरहेको प्रयोगको व्यापक विश्लेषण पनि गरिने छ।’
 

प्रकाशित मिति: : 2020-05-26 07:13:59

प्रतिकृया दिनुहोस्