पैसा र समानको चिन्ता नलिनुहोस्, सबैको उपचार राम्रोसँग होस्: मुख्यमन्त्री गद्दी

कोरोना रोगको परीक्षण तथा उपचारका लागि प्रदेश २ सरकारले नारायणी अस्तपताललाई भिटिएम किटलगायत विभिन्न प्रकारका स्वास्थ्य उपकरण एवं खाना/नास्ता व्यवस्थापनको लागी २५ लाख रूपैया प्रदान गरेको छ।

वीरगन्जस्थित मुख्यमन्त्री निवासमा सोमबार आयोजित एक कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन प्रसाद उपाध्यायलाई उपरोक्त सामग्री तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले प्रदेश सभासदको उपस्थितिमा कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई उक्त स्वास्थ्य सामग्री र चेक हस्तान्तरण गरेका हुन्।

प्रदेश सरकारले दिएको स्वास्थ्य सामाग्रीमा भिटिएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लोब्स १ हजार जोडी, डिजिटल थर्मोमिटर ३० थान, स्यानीटाइजर २५ लिटर, पीपीई ३० थान,  गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान छन्।

यसबाहेक मुख्यमन्त्री राउतले संक्रमितको खाना र खाजाको लागि राम्रो व्यवास्थापन गर्न भन्दै प्रदेश सरकारको निर्णय अनुसार २५ लाख रूपैयाको चेकसमेत मेसु उपाध्यायलाई हस्तान्तरण गरे।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले कोरोना रोग नियन्त्रण तथा उपचारको लागि प्रदेश सरकारबाट हुने सबै सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे। उनले कारोना रोग नियन्त्रणका लागि परीक्षणलाई तिव्रता दिनुपर्ने भन्दै अस्पताल तथा आइसोलेशनमा आएका संक्रमितको खाना तथा नास्ताको पोषणयुक्त राम्रो व्यवस्थापन गर्न नारायणी अस्पतालका प्रमुख उपाध्यायलाई निर्देशन दिए।

मुख्यमन्त्री गद्दीले नारायणी अस्पताललाई चाहिने सबै सहयोग प्रदेश सरकारले सक्दो  प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे। ‘अस्पताल आएका सबैको उपचार राम्रोसँग होस्, खाना नास्तालगायत कुनै पनि प्रबन्धनमा कमि हुनु भएन, प्रदेश सरकार हरसम्भव तपाईँ चिकित्सक कारोना योद्धाको साथमा छ,’ उनले भने।

उनले प्रदेश सरकारले घोषणा गरे अनुरूप जनकपुर, वीरगन्ज र राजविराजमा कोरोना परीक्षणको लागि पिसिआर मेसिन जडान गरिसकेको भन्दै थप पीसीआर मेसिनको लागि पहलसमेत भइरहेको बताए।

उनले विरामीको संख्यामा वृद्धि भएपछि वीरगन्ज र जनकपुरमा थप आइसोलेशन बेड निर्माणको प्रक्रियासमेत शुरु गरिएको उल्लेख गरे। ‘प्रदेश सरकारले हाल सबै जिल्लामा आइसोलेशन बेड निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याएको र थप जनशक्ति पूर्ति गर्ने काम समेत गरिसकेको छ’, उनले भने, ‘प्रदेशमा भारतलगायतका अन्य मुलुकबाट आउने नागरिकको लागि नेपाली सेनाले सञ्चालन गर्ने गरि वीरगन्जमा ५ सय शैय्याको होल्डिङ क्वारेन्टाइन, बारा र सप्तरीमा ५-५ सय शैय्याको प्रादेशिक क्वारेन्टाइन निर्माणको प्रक्रिया समेत शुरू भइसकेको छ।’

मुख्यमन्त्री राउतले मानव सभ्यताकै लागि चुनौती बनेको कोरोना महामारी नियन्त्रणको लागि प्रदेश सरकारले आफ्नो क्षमता अनुसारको पहलमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाए।

यसअघि प्रदेश सरकारले नारायणी अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराउँदै त्यसको सञ्चालनको लागि ५० लाख रूपैयासमेत उपलब्ध गराएको छ।

कोरोना महामारीले प्रदेशमै सबैभन्दा बढी प्रभावित पर्सा र बारा जिल्लाका संक्रमितको उपचारमा समस्या हुन नदिन तथा सम्भावित संक्रमितको पहिचानमा कमि हुन नदिन नारायणी अस्पताललाई उक्त सामग्रीहरु हस्तान्तरण गरिएको कार्यक्रममा जानकारी गराइएको थियो।

प्रकाशित मिति: : 2020-05-25 20:29:12

प्रतिकृया दिनुहोस्