कर्णालीमा संक्रमिण बढ्दै: थप ५ जनामा पुष्टि, सबै दैलेखका

कर्णालीमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। आइतबार थप ५ जनामा कोरोना भाइरस पुष्टि भएसँगै संक्रमितको संख्या ९ पुगेको छ।

संक्रमित पाँचै जना दैलेखका भएको कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताए। ‘संक्रमित सबै इन्डियाबाट आएका थिए,’ उनले भने,‘प्रदेश अस्पतालको ल्यावमा पोजिटिभ देखिएपछि नेपालगञ्ज पठाएर कन्फर्म गरिएको हो।’

संक्रमित हुनेमा नारायण नगरपालिका–३ र ६ का क्रममा १५ र १६ वर्षका किशोर रहेको छन् भने बाँकी डुङ्गेश्वर गाउँपालिका १ का २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुष पनि छन्।

संक्रमित पाँचै जनालाई सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए।

संक्रमित दम्पतिसँगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका १ का वडाध्यक्ष लोकबहादुर डाङ्गीले बताए। 

आइतबार पाँच जनामा कोरोना पुष्टि भएपछि दैलेखमा मात्र संक्रमितको संख्या ६ पुगेको छ।

प्रकाशित मिति: : 2020-05-24 21:55:29

प्रतिकृया दिनुहोस्