रतुवामाईका बस्नेत परिवारमा सुरक्षाको चिन्ता: कहिले आगो लगाइदिने, कहिले काटमार गर्ने! (भिडियो)

मोरङको रतुवामाई नगरपालिका वडा नम्वर १० मंगलबारेका रूद्रबहादुर बस्नेत आफूले न्याय नपाएको गुनासो गरेका छन्। लामो समयदेखि आफ्नो धनमालको हानी नोक्सानी भइरहेको र यस विषयमा सम्बन्धित निकायमा पटकपटक उजुरी गर्दा पनि न्याय पाउन नसकेको उनले बताए।

आफ्नो घरका गाईबस्तु काटिदिने, धान परालमा आगो लगाईदिने लगायतका अपराधिक घटनाहरु पाँच वर्षदेखि घट्दै आएको उनले सुनाए। तर यस विषयमा न्याय खोज्दाखोज्दै आफू हैरान भइसकेको भन्दै बस्नेतले दुखेसो पोखेका हुन्।

‘बहत्तर सालमा हाम्रो परालमा आगो लग्यो, भविष्य सम्झेर हामीले कतै केही भनेनौं। पछि थाहा भयो योजना बनाएर आगो लाइदिएको रहेछ। त्रिहत्तर सालमा गोठमै आएर राँगाको फिला काटिदिए। यसको लगतै धानको कुन्यूँमा आगो लगाइदिए, करिब ७५ मन जति धान नष्ट भयो। हामीले हारगुहार गर्‍यो, कसैले घटनाको छानबिन गरिदिएन,’ उनले भने, ‘छयत्तर सालमा फेरि राँगाको ढाड काटिदिए, त्यसको हप्ता दिनपछि भैसी काटिदिए। सतहत्तर साल वैशाख १ गते घरै छेउमा रहेको परालको माचमा आगो लगाइदिए। हामीले वडा कार्यलयमा जानकारी दियौं, इलाका प्रहरी कार्यालय सिजुवामा निवेदन दियौं। कसैले छानबिन गरिदिएन। अब त ज्यानकै डर भइसक्यो।’

निवेदन दिएपछि पनि आफूहरूले धेरै पटक मैखिक रूपमा प्रहरी र जनप्रतिनिधिलाई भनेको तर अहिलेसम्म घटनाको खोजतलास नगरेको बस्नेतको भनाई छ ।

घटना घटाउनेले आफूलाई नचिनेको नम्वरबाट एसएमएस लेखेर धम्क्याउने गरेको पनि उनले बताए। यतिका प्रमाणसहित उजुरि गर्दा पनि प्रहरिले चासो नदिएको भन्दै बस्नेतले गुनासो गरे।

बस्नेतको घरमा पटकपटक यस्ता घटना घट्दै आएकाले आफूहरू पनि असुरक्षित रहेको छिमेकी गोपाल क्षेष्ठले बताए। उनले भने,‘राति राँगाभैसी काट्न आउनेले हामीलाई पनि काट्न वेर छैन।’

जनप्रतिनिधिले मात्र यो घटनाको खोजतलास गर्न नसक्ने १० नम्वर वडा सदस्य काजन ढकालले बताए। प्रहरीले चासो नदिएका कारण घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको उनको भनाई छ।

आफूहरूले समेत पटकपटक इलाका प्रहरी कार्यालयलाई घचघचाएको भन्दै वडा सदस्य ढकालले रतुवामाई प्रहरी प्रशासनले लापरभाई गरेको आरोप लगाए। घटनाका दोषी पत्ता लगाई पीडित वस्नेत परिवारलाई न्याय दिलाउन वडा कार्यालयले पहल गरिरहेको उनले बताए।

प्रकाशित मिति: : 2020-05-25 13:35:00

प्रतिकृया दिनुहोस्