मानव सभ्यताको विकाश नदी,खोला र पानीको मुल भएको स्थानबाटै शुरु भएको इतिहास छ। मानव सभ्यतासँगै गाउँ, शहर र बस्तीबाटै बुझ्न सकिन्छ। जहाँ ठूला–ठूला नदी बगिरहेका छन्, त्यहाँ वरपर घना मानव बस्ती छन्।
मानवजातिको शुरुवात नै पानी सँग–सँगै भएको तथ्य नदी,खोला र पानीका मुहान वरपर छरिएर बसेकोबाट सहजै बुझ्न सकिन्छ। सन्दर्भ कालापानी को हाे। आजभन्दा ७० वर्ष अगाडि २०१७ सालमा अंग्रेजी क्यालेन्डर अनुसार सन् १९५९ मा तिब्बती धर्मगुरु दलाई लामा आफ्ना एकलाख अनुयायीका साथ तिब्बतको राजधानी पोटाला दरबार छाेडेर भारत प्रवेश गरे।
अमेरिकी सरकारद्वारा चीन बिरोधी गतिविधिमा संलग्न दलाई लामाका अनुयायीलाई सशस्त्र तालिम दिनेक्रम दार्चुलालगायत मनाङ, मुस्ताङ्ग हुँदै ओलान्चुगोलासम्मका हिमाली क्षेत्रमा लामो समय रहिरह्यो। एकातर्फ अमेरिका मनाङस्थित हिमालका फेदमा तालिम दिने, अर्कोतर्फ भारतले धर्म गुरु दलाई लामालाई शरणार्थीको रुपमा स्विकार्नु– दलाई लामा भारत प्रवेश गरेकाे ३–४ वर्ष नपुग्दै सन् १९६२ मा चीन–भारत बीच लडाई सुरु भयाे।
लडाई सकिएको दश वर्षसम्म भारत र अमेरिकाले खम्पाहरुलाई हिमाली क्षेत्रमा अल्मलाई राखे। यदि दलाई लामा पाेटाला दरबार नछोड्दा हुन् त चीन–भारतबीचकाे लडाई हुने थिएन। साथै कालापानी लगायतको भूभाग सुरक्षित हुनेथियाे।
दलाई लामा सिक्किमको नाका हुँदै भारत पसेपछि शरणार्थीको रुपमा भारत सरकारले सहयोग गर्यो।तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुलाई चिनियाँ सरकारले दलाई लामालाई शरणार्थीको रुपमा स्विकार नगर्न गरेकाे आग्रह नमान्दा भारतले यसकाे ठूलाे मूल्य चुकाउनु पर्याे। सन् १९६२ मा चीन–भारत युद्धमा चीनतर्फ कति क्षति भयो यसकाे यकिन प्रमाण छैन तर भारतले ठूलाे मूल्य चुकाउनु परेकाे भारतीय अधिकारीले नै बताएका थिए।
दिल्लीबाट हल्द्वानी, पिथाैरागढ़सम्म यातायातको सुबिधा भएपनि त्यहाँबाट भने भरतीय सेना पैदल करिब २ सय किलोमिटर तय गरेपछि बल्ल कालापानीसम्म थकित मुद्रामा पुगेका थिए। कतिपय सेना र उनका लागि महिनाै राशनको बन्दोबस्ती हेलिकप्टरबाट भएको थियो। भारतीय सेनाको स–साना टुकुडी धार्चुला,गर्ब्यांग, कुटी र गुन्जी लगायत ठाउँ–ठाउँमा तैनाथ गरिएको थियो। कालापानी भन्दा माथिको भेग हाई–अल्टिच्युटका कारण केहि सेनामाथि उक्लिन नसकेर खाने पानीको मुहान भएको ठाउँमा बसे भने केहि माथि हिमाल अथवा लिपूपासतर्फ लागे।
सेनाका लागि त्यो स्थान नयाँ, त्यसमाथि हिमाली अप्ठ्यारो बाटो थियो। चिनियाँ सेनाले एक्कै पटक माथिबाट हमला गरेपछि भारतीय सेनाले निकै संख्यामा क्षति बेहर्नु परेको थियो। त्यसपछि तल झरेर समथर भूमिका साथै पिउने पानीको मुहान भेटेपछि त्रिपाल हालेर अस्थाई क्याम्पमा लामो समय बसेको भारतीय फौज केहि समयपछि भने पक्कि भवन बनाएरै बसेका हुन्।
तत्कालिन समयमा सीमामा राखेका १७ वटा क्याम्प फिर्ता भए। त्यतिबेलै भारतले उक्त स्थानलाई सुरक्षित मात्रै नभएर भविष्यमा चीनसँग हरेक प्रकारका मुभमेन्ट गर्न सजिलो देखेरै कालापानीमा बस्ने निर्णय गरेको प्रस्ट देखिन्छ।
तत्कालिन राजा महेन्द्रले कालापानीमा रहेको भारतीय अस्थाई क्याम्प हटाउन अनुरोध गर्दा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले सुगौली सन्धिको बखेडा झिकेपछि दुबै देशका सीमाबिज्ञ राखी संयुक्त रुपमा नक्साकंन गर्ने मौखिक सम्झौता भएको कुरा बुझ्नमा आउछ।
वास्तवमा भारतले कालापानी लगायतको क्षेत्र हडप्ने राजनीतिक रणनीति नै बनाएकाे थियो। तत्कालीन भारतीय प्रधानमन्त्री नेहरुको आशय भनेको नेपालमा १ सय ४ वर्षे लामो जहाँनिया राणा शासनको अन्त्य भारतकै सहयोगले भएको बुझाइकै कारण उनी अप्रत्यक्ष रुपमा राजा महेन्द्रलाई पंचायत ढालिदिने भावको जवाफ दिन्थे।
यहि मनोविज्ञानले कालापानी, लिपुलेक र लिम्पियाधुराका साथै तीनवटा गाउँ कुटी,गुन्जी र नाबी समेत त्यहिबेलादेखि पराधीन हुन पुगेका हुन्। दलाई लामा भारतमा शरणार्थी भएको दुई वर्षपछि भारत सरकारले सन् १९६१ देखि नै त्यो क्षेत्रका बासिन्दालाई आरक्षण सहितको सामाजिक र आर्थिक लाभका कार्यक्रम दिरह्यो। त्यस समय नागरिकता बिनै कैयौ नेपाली युवालाई भारत सरकारले गोरखा राइफल लगायत अन्य फौजमा पनि भर्ति गर्ने चलन छदैथियो।
यहि क्रममा यहाँका स्थानीयलाई लाभका नाममा सरकारी सेवामा बिशिष्ट पदसहित प्रवेश गराउनु एक रणनीतिक चाल थियाे भारतकाे।
यी तीनवटा गाउँका मान्छे अहिले पनि भारत सरकारका उपल्लो तहमा आसिन छन्। लिपुलेक पास चीन र भारत दुबै देशका लागि रणनीतिक स्थान भएकाले पनि चीनले यस बिषयमा मुख नखोलेको हो।
एसिया महादेशमा उसको सबैभन्दा ठूलो बजार पनि भारत नै भएपछि आफ्नो फाइदाको लागि चूप लागेर बस्नु परेको सन् २०१५ को सम्झौताले प्रस्ट हुन्छ। भारतमा बस्ने बहुसंख्यक हिन्दु धर्मावलम्बीको लागि कैलाश मानासरोवर तीर्थाटनको सबैभन्दा छाेटो मार्ग हाे लिपुलेक। याे ठाउँ सामरिक महत्वको लागि पनि ज्यादै महत्वपूर्ण भएका हुनाले चीनले भारतसँग सहमति जनाएकाे हाे।
उदाहरणको लागि महाकाली पारीका गाउँ भनेर चिनिने दोधारा र चाँदनी पनि दार्चुलाको लिपुपास झैँ सामरिक महत्व राख्ने नाकाको रुपमा रहेको भए भारतले कुटी, नाबी,गुन्जी जस्तै यी दुई गाउँमाथि पनि बखेडा झिकिसकेको हुन्थ्यो। भारतले जहाँ–जहाँ बढि नै फाइदा देख्छ, त्यहाँ उसले केहि न केहि विवाद निकालेकै हुन्छ।
उत्तरतर्फबाट बगेर आएकाे हिमनदीहरू दक्षिणमा बग्नु अथवा चुचुरोबाट गल्ने पानी तल बग्नु उसको नियमै हो। माथीबाट झरेकाे खोला–नाला बगेर समुद्रमा नपुगुन्जेल अधिकांश मात्रामा भारतले नै प्रयोग गर्दै आइरहेको छ।
उहिले बुढापाकाले भन्ने उक्ति ‘घ्यु कहाँ पोखियो दालमा’ भनेझै ठूलो मात्रामा नेपालबाट बगेर आएका नदीनाला प्रयोग गर्न पाउँदा पनि अझ सीमाभन्दा माथीको नदी मै आँखा गाड्ने भारतले नेपालको ढुलमुले रणनीति राम्रोसँग बुझिसकेका कारण यस्ताे गरेकाे हाे।
लिपुलेकपास भन्दा केहि तल नाभीढागसम्म बाटो पुर्याएपछि देशमा देखिको देशभक्ति र राष्ट्रभक्तिको माहोलको उचाई बढेको समयमा भारत वार्ताबाट पन्छिन् खोजिरहेकाे छ। तर उसलाई वार्तामा नआइ सुख छैन।
फलाम तातेको बेला मात्र घन हान्यो भने उसले सहि आकार लिन सक्छ, सेलाइ सकेपछि फलामले मूर्त रुप लिन सक्दैन। त्यसैले जेठ ५ गते नेपाल सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेकपास सहितको क्षेत्रफल समावेश गरेर पूर्ण नेपालको राजनीतिक नक्सा सार्वजनिक गरेपछि सरकारप्रति आम नेपालीको सकारात्मक दृस्टीकोण देखिएको छ। यसले भारतलाई पनि सोच्न बाध्य बनाएको छ।
देशका लागि उपयुक्त समय छ। अतिक्रमित जमिन जोगाउनु छ भने सबै राजनीतिक दल र बुद्धिजीवि सबै एक हुनुको विकल्प छैन। आजसम्म कालापानीमा निकै पानी बगिसकेको छ। अब यसको संरक्षण गर्ने जिम्मा तपाई हामी सबैको हो र यो सहि समय पनि हो।
पछिलो पटक लिपुलेक,लिम्पियाधुरा लगायतको नक्सा नेपाल सरकार द्वारा सार्वजनिक गरेपछि भारतीय कुटनीतिक र भारतीय मिडियाको अधुरो बहस देख्दा निश्चित रुपमा उ कमजोर भएको आंकलन गर्न सकिन्छ।