भारतीय सेनाको खण्डनः सुरक्षामा खटिएका सैनिकलाई चीनले हिरासतमा लिएको छैन

चीन र भारतका सिमानाहरुमा दुई देशका सेनाहरुबीच बेलाबेला तनाव हुने गरेको छ। केही दिनदेखि चिनियाँ सेनाले भारतीय सेनाहरुलाई आक्रमण गर्ने, हतियार खोस्ने र सुरक्षामा खटिएका सेनालाई आफ्नो हिरासतमा लिएका खबरहरु चर्चामा छन्।

नेपालका केही संचार माध्यमले पनि स्रोतको हवाला दिँदै सीमा क्षेत्रमा भारतीय सैनिक टोलीले घुसपैठ गर्न खोजेपछि चिनियाँ सेनाले भारतीय सैनिकको एउटा टोलीलाई नै नियन्त्रणमा लिएको समाचार प्रकाशित गरेका थिए।

नेपाली अनलाइनहरु र  एनडिटिभीका अनुसार गत बुधबार लद्दाख क्षेत्रमा चिनियाँ सेनाले भारतीय सेनाको गस्ती टोलीलाई नियन्त्रणमा लिएर हतियारसमेत खोसेको समाचार हालै प्रकाशनमा आएका थिए।

उनीहरुका अनुसार चिनियाँ सेनाले भारतको ‘इन्डो–तिब्बतीयन बोर्डर पुलिस’(आइटिबीपी)को एउटा टोलीलाई सीमा क्षेत्रबाट नियन्त्रणमा लिएको जनाइएको छ। चिनियाँ सेनाले आफ्नो नियन्त्रणमा भारतीय सुरक्षाकर्मीलाई केही समयपछि मुक्त गरेको जनाइएको छ। 

तर पछिल्लो समय भारतीय सेनाका बिषयमा आएका समाचारहरुमा सेनाले भने खण्डन गरेको छ।

लद्दाख सीमा विवादबारे सेनाले कुनै आधिकारिक बयान नदिएपनि सञ्चरमाध्यमहरुमा आएका समाचारहरुको गलत भएको बताएको छ। ‘आक्रमण गर्ने, हतियार खोस्ने र सुरक्षामा खटिएकालाई हिरासतमा लिएकाे समाचारहरु झुट् हुन्,’ भारतीय सेनाले भनेको छ।

दुई देशबीचको सीमा विवादलाई लिएर लद्दाखमा तनाव बढिरहेको छ। स्रोतका अनुसार चिनियाँ सेना पछिल्लो दुई हप्तादेखि एक सयभन्दा बढी पालहरु गाडेर अड्डा समाएर बसेको छ। त्यहाँ चिचियाँ सेनाले बंकर बनाउने मेसिन समेत ल्याइएको स्रोतको दाबी छ।

भारतीय सेनाको यो क्षेत्रमा राम्रो उपस्थिति रहेको छ। केहिदिन अघि चिनियाँ सेनाले भारतीय सेनामाथि आक्रमण गरेका खबर आएपनि पुष्टि भने हुन सकेका छैनन्। भारतीय थलसेना प्रमुख जनरल मनोज मुकुन्द नरवानाले सीमा विवादलाई भैरहेको बेला लद्दाखको भ्रमणमा समेत पुगेका छन्।
 

प्रकाशित मिति: : 2020-05-24 15:31:00

प्रतिकृया दिनुहोस्