जनकपुरबाट फरार भएका संक्रमित सुस्त मनस्थितिका, पहिला पनि भागेकाे खुलासा

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा उपचाररत सर्लाहीका एक कोरोना संक्रमित शनिबार राति ढोका फोडेर भागेका छन्।

वैशाख २९ गते संक्रमण पुष्टि भएपछि उनलाई जनकपुरको आइसोलोसन वार्डमा राखेर उपचार भइरहेको थियो। शनिबार राति आइसोलेसन वार्डको तेस्रो तलाको ढोका फोडेर संक्रमित फरार भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी रमेश बस्नेतले जानकारी दिए। उनका अनुसार ती व्यक्ति सुस्त मनस्थितिका छन्।

‘सुस्त मनस्थितिका भएकाले आइसोलेसनमा आएदेखि उपद्रो मच्चाइरहेका थिए,’ बस्नेतले भने, ‘तीन दिनअघि सीसी क्यामेरा फुटाइदिए। अहिले फरार नै भए।’ 

शनिबार राति नै फरार भए पनि प्रहरीलाई आइतबार बिहान मात्र जानकारी दिइएको थियो। उनको खोजीमा धनुषा र सर्लाहीबाट प्रहरी खटाइएको छ। ‘फरार भएको हो कि भगाइयो, दुवै कोणले अनुसन्धान भइरहेको छ। पीपीई लगाएका प्रहरी उनको खोजीमा खटिएका छन्,’ बस्नेतले भने।

सर्लाहीका संक्रमित यसअघि स्वाब संकलन गर्दा पनि फरार भएको खुलेको छ। जनकपुरधाममै स्वाब संकलन गरिएपछि उनी भागेर घर गएका थिए।उनलाई सर्लाहीको हरिपूर्वा नगरपालिका–३ धनकौलस्थित घरबाट फेला पारी आइसोलेसनमा ल्याइएको थियो।

फरार संक्रमितलाई मानसिक रोगको औषधि चलाइएको थियो। पहिलो पटक पोजेटिभ देखिएपछि उनलाई सर्लाहीस्थित घरबाटै ल्याएर आइसोलेसनमा भर्ना गरिएको थियो। ‘त्यस बेला उनलाई घरबाटै ल्याउन धेरै सकस भएको थियो’ प्रादेशिक अस्पतालका मेसु नागेन्द्र यादवले भने, ‘आउनै नचाहने उनलाई स्थानीय समेतको सहयोगमा आइसोलेसनसम्म ल्याइएको थियो।’ 

सर्लाहीका एसपी विश्वमणि पोखरेलले जनकपुरको आइसोलेसनबाट फरार भएकाको खोजी त्यहाँ पनि भइरहेको बताए। ‘उसको गाउँ र नाकाहरूमा प्रहरी खटाइएको छ,’ उनले भने, ‘राजमार्गका प्रहरीलाई हाइ अलर्टमा राखिएको छ।’

प्रकाशित मिति: : 2020-05-24 15:12:24

प्रतिकृया दिनुहोस्